तोकिएन आलमविरुद्धको मुद्दाको पेसी

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । जिल्ला अदालत रौतहटका धेरैजसो न्यायाधीशहरु विदामा भएकाले नेपाली कांग्रेस नेता मोहम्मद अफताब आलमविरुद्धको मुद्दाको पेसी आज तोकिएन ।

जिल्ला अदालतका श्रेष्तेदार उद्धव ढोडारीले न्यायाधीशहरु विदामा भएकाले पेसी नतोकिएको बताउनु भयो । सात न्यायाधीहरुमध्ये आइतबार दुई जना न्यायाधीशहरु मात्र अदालतमा उपस्थित छन् ।

अब अर्को पेशी माघको २०–२२ तिरका लागि तोकिने श्रेष्तेदार ढोडारीले बताउनु भयो।

सरकारी वकिल र आलमका वकिलबाट बहस नोट प्राप्त भइसकेकाले रौतहट जिल्ला अदालतले मुद्दामा अन्तिम सुनुवाइका लागि आज पेसी तोकेको थियो । तर धेरैजसो न्यायाधीशहरु विदामा भएकाले पेसीमा नै चढेन ।

गत कात्तिक तेस्रो साता अदालतले मुद्दाको गाम्भीर्य र जटिलता विचार गरी सरकारी वकिल र आलमका वकिललाई १५ दिनभित्र बहस नोट पेश गर्न आदेश दिएको थियो ।

२०६४ साल चैतमा संविधानसभा चुनावका बेला मानिस जलाएको घटनाका आरोपित आलमको मुद्दाको सुनुवाइ हुन लागेको हो । तर, कसको इजलासमा पर्छ भन्ने गोलाप्रथाबाट टुंगो लाग्नेछ ।

यो मुद्दामा कांग्रेस नेता तथा पूर्वमन्त्री आलमसहित ११ जना प्रतिवादी छन् ।

मंसिर २४ गतेभित्रै वादी नेपाल सरकार र प्रतिवादी तर्फका कानुन व्यवसायीले बहस नोट बुझाएको भए पनि अदालतले सुनुवाइको मिति तोकेको थिएन ।

अदालतले आलम लगायतका ११ जनाविरुद्ध २०७६ साल कात्तिक १८ गते दायर भएको विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा सुनुवाइ गर्न आज पेसी तोकिएको भएपनि पेसीमा चढेन ।

सो मुद्दामा गत २२ कात्तिकमा जिल्ला न्यायाधीश बाबुकाजी बानियाको इजलासले बहस नोट माग गर्ने आदेश दिएको थियो । त्यसपछि २४ मंसिरभित्रै वादी नेपाल सरकार र प्रतिवादी तर्फका कानुन व्यवसायीले बहस नोट बुझाएका थिए ।

आलमविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी कसुरमा ४५ वर्ष कैद सजाय माग दाबी गर्दै अभियोगपत्र दायर भएको छ । २०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजापुरमा बम विस्फोट भएको थियो ।

संविधान सभा निर्वाचन–२०६४ का उम्मेदवार रहेका आलमले जसरी पनि चुनाव जित्नका लागि भारतबाट बम बनाउने मानिस बोलाएका थिए । त्रास देखाएर बुथ कब्जामा लिने र चुनाव जित्ने रणनीतिमा आलम रहेका थिए । बम बनाउने क्रममा विस्पोट हुँदा घाईते भएकाहरुलाई आलमकाे पोल खुल्ने डरले इँटाभट्टामा हालेर जिउँदै जलाइएका थिए ।

आलम हाल थुनामा रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?