
काठमाडौं । चौधरी ग्रुपले आर्थिक वर्ष २०७९/०८० मा सरकारलाई १६ अर्ब १४ करोड रुपैयाँ कर तिरेको छ । जुन सरकारको कुल राजस्वमा १.८७ प्रतिशतको योगदान हो । यो सम्भवतः चौधरी ग्रुपअन्तर्गत सञ्चालित कम्पनीहरूले सरकारी राजस्वमा गरेकोे योगदान सबैभन्दा उच्च रहेको चौधरी ग्रुपको दाबी छ । आर्थिक मन्दीबाट देशको समग्र अर्थतन्त्र प्रभावित रहेको समयमा पनि चौधरी ग्रुपले राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान गरेको जनाएको छ । अर्थतन्त्रमा आएको संकुचनका कारण सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको पृष्ठभूमिमा चौधरी ग्रुपको योगदान भने उच्च रहेको छ । यद्यपि राष्ट्रिय अर्थतन्त्रमा आएको मन्दी र त्यसबाट व्यावसायिक कारोबारमा परेको असरका कारण अघिल्लो आर्थिक वर्ष २०७८/०७९ को तुलनामा चौधरी ग्रुपको राजस्व योगदानमा केही कमी आएको बताइएको छ । उक्त आर्थिक वर्षमा ग्रुपले १७ अर्ब ७२ करोड रुपैयाँ कर तिरेको थियो ।
चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले भन्नुभयो, ‘देशको समग्र अर्थतन्त्र मन्दीबाट गुज्रिरहँदा र सरकारको कुल राजस्व संकुचित बनेको समयमा पनि चौधरी ग्रुपले उच्च कर तिर्न सक्षम भएको तथ्यले हामीलाई उत्साहित बनाएको छ । राष्ट्रिय अर्थतन्त्रको विस्तार र राष्ट्रका विकास निर्माणका परियोजनामा उल्लेख्य योगदान गर्न पाउँदा हामीलाई सन्तोष लागेको छ । हामीले नेपालमा द्रुत गतिमा लगानी विस्तार गरिरहेका छौँ र त्यसबाट राष्ट्रिय अर्थतन्त्रमा अर्थपूर्ण योगदान पुग्नेछ भन्नेमा हाम्रो विश्वास छ ।’
अध्यक्ष चौधरीले नेपालमा लगानीको वातावरणमा सुधार गरी लगानीकर्तालाई प्रोत्साहित गरेरमात्रै राजस्वको दायरा फराकिलो बनाउँदै लैजान सम्भव हुने भन्दै त्यसतर्फ सबैको ध्यान जानुपर्ने बताउनुभएको छ । त्यस्तोे सोचबाट राजस्वको अपेक्षित वृद्धिदर हासिल भई हाम्रा राष्ट्रिय विकासका लक्ष्य प्राप्त गर्न सम्भव हुनेमा पनि उहाँले जोड दिनुभएको छ ।
ग्रुपका अनुसार गत पाँच वर्षमा चौधरी ग्रुपले सरकारलाई ७० अर्ब रुपैयाँ कर तिरेको छ । आर्थिक वर्ष २०७५/०७६ मा ११ अर्ब ६७ करोड, २०७६/०७७ मा नौ अर्ब ८७ करोड, २०७७/०७८ मा १४ अर्ब २८ करोड, २०७८/०७९ मा १७ अर्ब ७२ करोड र २०७९/०८० मा १६ अर्ब १४ करोड कर तिरेको हो ।
ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भन्नुभयो, ‘चौधरी ग्रुपले नेपाललाई मुख्य प्राथमिकतामा राखेर लगानी विस्तार गरिरहेको छ । खाद्य एवं पेय पदार्थ, हस्पिटालिटी, वित्तीय क्षेत्र, अटोमोबाइल्स, शिक्षा, पूर्वाधार एवं न्यु टेक्नोलोजीसम्ममा हामीले तीव्र गतिमा लगानी विस्तार गरिरहेका छौँ । नेपालको समग्र अर्थतन्त्रमा हामी प्रभावकारी योगदान पुर्याउन चाहन्छौँ, हाम्रो ग्रुप एक सय ५० वर्षदेखि नेपालको अर्थतन्त्रको विकासमा सक्रिय छ र हामी नेपालका सातै प्रदेशमा लगानी विस्तार गरिरहेका छौँ । यसबाट देशको समावेशी विकासमा योगदान पुग्नेछ भन्ने हाम्रो विश्वास छ ।’
चौधरी ग्रुपका प्रवक्ता मधुसुदन पौडेलका अनुसार नेपालमा व्यावसायिक ग्रुपहरूले सरकारको राजस्वमा गरेको योगदानलाई सरकारी तवरबाट छुट्टै गणना गर्ने र प्रोत्साहन गर्ने परिपाटी नहुँदा पनि चौधरी ग्रुपले प्रत्येक वर्ष आफ्नो समूहबाट राजस्वमा गरेको योगदानलाई सार्वजनिक गर्दै आएको जनाएको छ । करदाताका रूपमा व्यवसायमार्फत् भुक्तानी गरेको रकम व्यक्तिले तिरेको करमा गणना हुँदैन ।
जसका कारण कतिपय अवस्थामा जनमानसमा भ्रम उत्पन्न भएको पनि देखिँदै आएको छ । यस्तो दुविधा अन्त्य गर्न र आफूले राजस्वमा गरेको योगदानलाई आमजनमानसबीच सार्वजनिक जानकारीमा ल्याउन जिम्मेवार व्यावसायिक ग्रुपको सामाजिक उत्तरदायित्वका हिसाबले ग्रुपले प्रत्येक वर्ष पारदर्शिताका साथ विवरण प्रकाशित गर्दै आएको जनाएको छ ।
साथै व्यावसायिक ग्रुपहरूबाट राष्ट्रिय अर्थतन्त्रमा पुर्याइएको योगदानको वास्तविक तथ्य आमजनमानससमक्ष राख्न सरकारीस्तरबाटै व्यावसायिक ग्रुपहरूले तिरेको करको गणना गर्ने र सार्वजनिक गर्ने व्यवस्था मिलाउन पनि ग्रुपले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच