कारागारमा रहेकी इरानी नोबेल पुरस्कार विजेतालाई नयाँ सजाय

हिमालय टाइम्स
Read Time = 3 mins

इस्लामाबाद । इरानको एक अदालतले सन् २०२३ को नोबेल शान्ति पुरस्कार विजेता नरगेस मोहम्मदीलाई कारागारमा रहेका बेला इस्लामिक गणतन्त्रविरुद्ध प्रचार गरेको आरोपमा एक वर्षभन्दा बढी कारागार सजाय सुनाएको उहाँको परिवारले सोमबार बताएको छ ।

मोहम्मदीले बहिष्कार गरेको मुद्दापद्धि रिभोल्युसनरी अदालतले १५ महिनाको कारागार सजाय सुनाएको परिवारले विज्ञप्तिमा बताएको छ । उहाँलाई तेहरानबाहिर दुई वर्ष निर्वासनमा बिताउन आदेश दिइएको थियो भने दुई वर्ष भ्रमणमा प्रतिबन्ध र स्मार्टफोनको प्रयोगमा दुई वर्षको प्रतिबन्ध लगाइएको थियो । यी प्रतिबन्ध उहाँको रिहाइपछि लागु हुनेछ ।

परिवारका अनुसार सन् २०२१ मार्चपछि मोहम्मदीलाई यो पाँचौँ सजाय हो । यसमा अहिले १२ वर्ष तीन महिनाको कैद, एक सय ५४ कोर्रा, दुई वर्षको निर्वासन र विभिन्न सामाजिक तथा राजनीतिक प्रतिबन्ध समावेश छन् ।

परिवारले फैसलाको निन्दा गर्दै भनेको छ, “यो एउटा ‘राजनीतिक वक्तव्य’ जस्तो छ, फैसलाले ‘उहाँले बारम्बार अराजकता र गडबडी उत्पन्न गर्नका लागि इस्लामिक शासनविरुद्ध सार्वजनिक तथा व्यक्तिगत विचारहरूलाई उक्साउनुभएको र प्रोत्साहित गर्नुभएको’ आरोपलाई जोड दिएको छ ।”

मोहम्मदीलाई इरानमा मानवअधिकारका लागि उहाँको अभियानको मान्यतामा सन् २०२३ को नोबेल शान्ति पुरस्कार दिइएको थियो । ओस्लोमा उहाँका तर्फबाट परिवारले उक्त पुरस्कार ग्रहण गरेको थियो । उहाँले पछिल्लो दुई दशकको अधिकांश समय कारागारभित्र र बाहिर बिताउनुभएको छ र सन् २०२१ नोभेम्बरमा आफ्नो सबैभन्दा पछिल्लो सजाय काट्न सुरु गर्नुभएको छ ।

यद्यपि तेहरानको एभिन कारगारमा रहेर पनि उहाँले आफ्नो अधिकारहरूका लागि अभियान सञ्चालन गर्न छाड्नुभएको छैन । उहाँले अधिकारीहरूमाथि व्यवस्थित उल्लङ्घनको आरोप लगाउनुभएको छ र विशेषरूपमा मृत्युदण्डको उनीहरूको प्रयोगको आलोचना गर्नुभएको छ ।

इस्लामिक गणतन्त्र इरानमा अनिवार्य हिजाबको कट्टरविरोधी मोहम्मदीले कारागारभित्र हेडस्कार्फ लगाउने नियमहरूको पनि अवहेलना गर्नुभएको छ । उहाँका परिवारका अनुसार त्यसैले मोहम्मदीलाई धेरै दण्ड दिइएको छ । उहाँलाई विशेषरूपमा फोन गर्ने अधिकारबाट वञ्चित गरिएको छ ।

-एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?