नेपालको राजनीति दिनप्रतिदिन अन्धकारमय देखिँदै छ । यस्तो अन्यौल र अन्धकारमय अवस्थालाई उज्यालोतर्फ लानुभन्दा थप जटिलतातिर लाने काम भएको छ । अहिले राजनीतिलाई भ्रष्टाचारका अनेक रूप र आकारले सर्बसाधारण नेपालीदेखि सबै खाले नागरिकहरू वक्कदिक्क भएको वा बनाइएको अवस्था विद्यमान छ । त्यसमा पनि पुराना व्यवस्थाका समर्थक जसले यो परिवर्तन पचाउन सकेका थिएनन् उनीहरू संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध कतिपय काल्पनिक हल्ला चलाएर भ्रमपूर्ण प्रचार मच्चाइरहेका पनि छन् ।
अहिले नेपाल भलादमी नभएको देश जस्तो देखिँदै छ । देशमा संकट आइपर्यो भने स्वतन्त्र नागरिकको भूमिका अपेक्षित हुन्छ तर त्यस्तो पनि देखिएको छैन । पार्टीहरू र सरकारले जनताको विश्वास जोगाउन सकेको देखिँदैन । नागरिक समाज र प्राज्ञिक क्षेत्रले पनि हस्तक्षेपकारी भूमिका खेल्न कुनै पहल गरेको आभास हुँदैन । यस्तो अवस्थामा संघीयताविरोधी तप्का भनौं वा पञ्चायतका अवशेषहरू निकै सल्बलाएका छन् ।
सरकार र पार्टीहरू विशेष गरेर कांग्रेस र कम्युनिष्टहरू लाचार र निरीह बन्दै गएको अवस्थामा प्रतिक्रियावादी प्रोत्साहित देखिन्छन् । यस्तो स्थितिमा दुर्गा प्रसाईं जस्ता एउटा व्यक्तिले राज्यसत्ता हल्लाउनु सरकार निरीह भएको ज्वलन्त उदाहरण हो ।
निरंकुश तानाशाहीका पृष्ठपोषक अनेक षड्यन्त्रका तानाबाना अँध्यारा कुनामा बसेर गरिरहेका छन् । अँध्यारा कुनाबाट यस्ता भ्रमहरू फैल्याइरहेका छन् जसले सर्वसाधारण नागरिकलाई भड्काउने काम भएका छैनन् भन्न सकिँदैन । यस्ता प्रतिक्रियावादी शक्तिहरूलाई परिवर्तनकारीले जानीनजानी टेवा पुर्याइरहेका छन् । राज्यसत्ता, सम्पत्ति र व्यक्तिगत प्रतिष्ठामा लिप्त हुँदा आज सिंगो राज्यव्यवस्था माथि नै गम्भीर खतरा मडारिइराखेको छ । देशको धमिलो वातावरणको अधिकतक लाभ लिँदै प्रतिक्रान्तिकारीले कृत्रिम फण्डाहरू तयार पार्दै जनतामा भ्रमको खेती गरिरहेका छन् ।
यस्तो कार्यमा सोसल मिडिया बढी उपयोग भएको छैन भन्न सकिँदैन । नेपाली समाजमा सामाजिक सञ्जालको व्यापक प्रभाव पारेको छ । श्रोताहरू जे सुने त्यसैको पछि लागेको पाइन्छ । उदाहरणका लागि एमसिसीकै कुरा गरौं त्यसबारे बुझ्ने कति नेपाली होलान् ? त्यस्तै एन्सेल प्रकरणका सम्बन्धमा नजिकबाट बुझ्ने कति हौंला हामी तर हामी हाहामा पो लागेका छौं कि भनेर हामीले कहिल्यै सोचेका छैनौं । यस्ता होहल्लाको पछाडि लाग्नाले आज हामी पछाडि धकेलिँदै छौं । केही कल्पनाशील व्यक्ति र उनीहरूको झुण्डले जनता भड्काउने खालका फण्डाहरू सिर्जना गरेर समाजमा कोलाहल मच्चाइरहेका छन् ।
यस्ता काल्पनिक इस्यु बनाएर समाजमा आतंक सिर्जना गर्न सजिलो हँुदोरहेछ । अहिले सामाजिक सञ्जाल नै सबैको कर्णप्रिय छ । हरेक गाउँगाउँ कुना कन्दरामा सोसल मिडियाले स्थान पाएको छ । मानिसहरू आधिकारिक (सरकारी) मिडियामा भन्दा अन्य मिडियातिर बढी आकर्षित भएको सन्दर्भमा कल्पनाशील व्यक्ति र झुण्डको भ्रमपूर्ण समाचार निकै सनसनीपूर्ण हुनु स्वाभाविक हुन्छ । परिस्थिति अत्यन्तै नकारात्मक हुँदै गएको प्रसंगमा सकारात्मक कुरा कसैले सुन्नै चाहँदैन । कागले कान लग्यो भनेपछि कान नछामी कागको पछि दौडन हामी अभ्यस्त भइसकेको अवस्था विद्यमान छ । यसलाई चिर्न निकै ठूलो संगठित परिश्रम र त्याग आवश्यक देखिन्छ ।
माथिको सन्दर्भलाई हेर्दा सरकार र पार्टीहरू विशेष गरेर कांग्र्रेस र कम्युनिष्टहरू लाचार र निरीह बन्दै गएको अवस्थामा प्रतिक्रियावादी प्रोत्साहित देखिन्छन् । यस्तो स्थितिमा दुर्गा प्रसाईं जस्ता एउटा व्यक्तिले राज्यसत्ता हल्लाउनु सरकार निरीह भएको ज्वलन्त उदाहरण हो । परिवर्तन उल्ट्याउने शक्तिहरू सरकारका प्रधानमन्त्री, मन्त्रीहरू र कथित ठूला नेताहरूलाई भ्रष्टाचार रूपी भुत्ते काउछो झोसिदिएपछि तिनीहरू कन्याउँदा कन्याउँदै किंमकर्तव्यबिमुढको अवस्थामा पुगेका छन् । अहिले एकछत्र संघीय लोकतान्त्रिक गणतन्त्रविरोधी दन्दनाएका छन् । जताततै महाराजधिराज (ज्ञानेन्द्र शाह) को बिगबिगी जस्तो माहोल बनेको छ ।
हिजोसम्म कांग्रेस एमाले माओवादीको झण्डामुनि बुरुकबुरुक उफ्रनेहरू आज फड्केर राजतन्त्रको पक्षमा छाती खोलेर हिँडेका छन् । यो पनि तत्-तत पार्टीहरूको कमजोरीका कारण उनीहरू भड्किएका हुन् । त्यसैले गणतन्त्रविरुद्व शक्ति निर्माण हुँदै गरेको अवस्था छ । अहिलेको माहोल राजतन्त्र, सनातन हिन्दु राष्ट्र र एकात्मक राज्य सत्ताको पक्षमा देखिन्छ । कांग्र्रेसमा एउटा समूह संवैधानिक राजतन्त्र र सनातन हिन्दु राष्ट्रको खुलेआम वकालत गरिरहेका छन् भने एमालेमा पनि त्यो मत पाइन्छ । यसरी हरेक पार्टीका धेरै कार्यकर्तामा पूरै विचलन आएको छ । यसको पछाडि कल्पनशील भ्रमपूर्ण प्रचारको बिगबिगीको प्रभाव छैन भन्न सकिँदैन ।
शिक्षामा एउटा विश्वविद्यालयको ठाउँमा झण्डै दुई दर्जन विश्वविद्यालय बनेका छन् । ती विश्वविद्यालयहरूले लाखौं उच्चशिक्षा हासिल गरेका विद्यार्थी उत्पादन गरिरहेको अवस्था छ । यद्यपि त्यसको तुलनामा रोजगार सिर्जना हुन सकेको छैन ।
अनलाइन खबरले विद्वानदेखि सर्वसाधारण नेपालीको ध्यान आकर्षित गरेको मात्रै होइन प्रभावितसमेत पारेको छ । एमसिसी प्रोजेक्ट अनुमोदन भएपश्चात् एउटा युटुबमा अछाम जिल्लाको कुनै पालिकामा अमेरिकी सेनाको चलखेल भयो भनी युएनका लोगो भएका गाडीहरू कुदाएको दृश्य देखाइएको थियो । त्यो दृश्य खुदै पंक्तिकार आफैंले पनि सुने देखेको हो । यस्ता मनगढन्ते प्रचारले यो लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई कमजोर बनाउँदै लगेको छ । नकारात्मकताले चाँडै मानिसलाई प्रभावित पारेको छ भने ठीकविपरीत सकारात्मकतातर्फ मानिसहरूको ध्यानाकर्षण गर्न कठिन छ । त्यसैले राजनीतिमा कल्पनशीलताको प्रभाव र बिगबिगी बढ्दै गएको प्रष्ट देखिन्छ ।
उक्त विश्लेषणको आधारमा के निष्कर्षमा पुग्न सकिन्छ भने बहुसंख्यक नेपालीहरूमा सरकार र ठूला पार्टीहरूलाई हेर्ने दृष्टि अत्यन्तै नकारात्मक हुँदै गएको छ । यस्तो परिस्थितिलाई सत्ता र प्रमुख प्रतिपक्षले गम्भीरतापूर्वक अध्ययन विश्लेषण गर्दै आफूहरू सच्चिनुपर्ने देखिन्छ अन्यथा सक्किनुको विकल्प छैन । नेपाली समाज हरेक क्षेत्र र वर्ग पूर्णअसन्तुष्ट देखिन्छ । सरकारका प्रत्येक काम कामकरबाहीलाई भ्रष्टाचारसँग जोडेर हेरिन्छ । यस्तो मानसिकताको ब्रेनवास कहिले हुने हो त्यसको कुनै संकेत देखिएको छैन । मानिसहरू पञ्चायतमै रामराज्य थियो भनेर गुणगान गाउन थालेका छन् ।
परिवर्तनकारी शक्तिहरूले भन्न सकेका छैनन् कि शिक्षामा एउटा विश्वविद्यालयको ठाउँमा झण्डै दुई दर्जन विश्वविद्यालय बनेका छन् । ती विश्वविद्यालयहरूले लाखौं उच्चशिक्षा हासिल गरेका विद्यार्थी उत्पादन गरिरहेको अवस्था छ । यद्यपि त्यसको तुलनामा रोजगार सिर्जना हुनसकेको छैन । अब सरकार र जिम्मेवार राजनीति पार्टीहरू त्यस दिशामा आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गर्न जरुरी छ । प्रतिगामीहरू अनेक काल्पनिक तानाबाना बुन्दै यो संघीय लोकतान्त्रिक गणतन्त्रलाई नङ्ग्याउन तल्लीन छन् । त्यसको बाबजुद पनि राजनीतिमा कल्पनाशीलताको प्रभाव र बिगबिगीबाट जोगाउँदै धेरै ठूलो बलिदानीपूर्ण योगदानबाट प्राप्त उपलब्धिको रक्षा गर्नु आवश्यक देखिन्छ ।
अब अरूको मुख थुन्न खोज्नुभन्दा सरकारसँग सम्बद्ध पार्टीहरू आफ्आफ्ना पार्टीलाई एकताबद्ध गर्दै मुख खोल्नु पर्यो ? सरकारलाई चेत खुल्यो होला टिकटक बन्द गर्दा कस्तो प्रतिक्रिया आयो । त्यसैले मानिसहरूले एक पटक उपभोग गरेको सुबिधा चाहेजस्तोसुकै किन नहोस् कटौती गरिँदा तीव्र असन्तुष्ट पैदा हुँदा रहेछन् भन्ने प्रमाणित भयो । तसर्थ सरकारका हरेक कामकारबाहीमा सबै क्षेत्रबाट निगरानी राखिएका हुन्छन् भन्ने कुरा सम्बन्धित पक्षले हेक्का राख्नुपर्ने देखिन्छ । मैले कसैले थाहा नपाउने गरी काम गरेको छु भन्ने भ्रममा नपर्नु बेस हुन्छ । समय पारदर्शी छ कहिँ न कहिँबाट सार्वजनिक भइहाल्छ भन्ने हेक्का नराखे त्यसको दुष्परिणाम भोग्नै पर्ने हुन्छ ।
आजको नेपालीहरूको चेतनाको स्तर धेरैमाथि उठेको छ । औपचारिकभन्दा पनि अनौपचारिक शिक्षाले समाजलाई धेरै सचेतना र जागरण ल्याइदिएको छ । आज त्यहीँ सचेतना र जागरणबाट सचेत रहन उत्प्रेरित गरिरहेको छ । तथापि पुराना व्यवस्थाका हिमायतीहरू अहिलेका केही कमजोरीलाई काल्पनिक नै भए पनि अनेक षड्यन्त्रको तानाबाना बुनेर पछाडि फर्काउने प्रयत्नमा जोडतोडले लागिरहेका छन् जुन नेपाल र नेपालीका लागि घातक प्रमाणित हुनेछ । यसर्थ पनि राजनीतिमा कल्पनाशीलताको प्रभाव र बिगबिगीबाट जोगिन आवश्यक छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच