काठमाडौं । सूर्य तामाङको हृयाट्रिकसहित ६ विकेट मद्दतमा बागमती प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशमाथि ८६ रनको जित हात पारेको छ । जितका लागि १९१ रनको मध्यम विजयी लक्ष्य पछ्याएको मधेश २९ ओभरमा १०४ रनमा अल आउट भयो । मधेशका पवन सर्राफले ४८ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४५ रन बनाउनुभयो । ओपनर मयन यादव ४९ बलमा ३ चौका र १ छक्कासहित ३१ र निरज यादवले १५ रन बनाउनुभयो ।
सूर्यले २९औँ ओभरमा हृयाट्रिक लिनुभएको थियो । उहाँले पहिलो बलमा रूपेश सिंहलाई बोल्ड, दोस्रो बलमा राजेश यादवलाई स्टम्पिङ र तेस्रो बलमा सान्सद अन्सारीलाई क्याच गराउँदै हृयाट्रिक पूरा गर्नुभएको थियो । समग्रमा उहाँले ९ ओभरमा ३ मेडनसहित १८ रन खर्चेर ६ विकेट लिनुभयो । इशान पाण्डे र प्रतिश जिसीले २–२ विकेट लिनुभयो ।
त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमती ४९.२ ओभरमा १९० रनमा अल आउट भएको थियो । बागमतीका प्रतिश जिसीले ५५ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५९ रन जोड्नुभयो ।
बागमतीका अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । ओपनर आशुतोष घिरैया ८, इशान पाण्डे १५, रित गौतम १२, प्रतीक श्रेष्ठ र अशोक पौडेलले २-२ रन बनाउनुभयो । विपिन आचार्य १३, रविन जोशी २१, सूर्य तामाङ ७ र रिजन ढकालले ११ रन बनाउनुभयो ।
मधेशका अरनिको यादव र रूपेश सिंहले २-२ विकेट लिनुभयो । राजेश यादव, रञ्जित कुमार, हरिशंकर शाह र पवन सर्राफले १-१ विकेट हात पार्नुभयो ।
पुलिसको लगातार जित
नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई ७ विकेटले हराएको छ । पुलिसको लगातार दोस्रो जित र कोशीको तेस्रो हार हो । जितका लागि १६७ रनको मध्यम विजयी लक्ष्य पछ्याएको पुलिसले २३.१ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । पुलिसको जितमा अर्जुन साउद ६३ बलमा ५ चौका र २ छक्कासहित ६२ रनमा नट आउट रहनुभयो ।
दीपेन्द्रसिंह ऐरी १७ बलमा ४ चौका र २ छक्कासहित ३८ रनमा नट आउट रहनुभयो । यस्तै दीलिप नाथले ३१ बलमा २ चौका र १ छक्कासहित ३१, कुशल भुर्तेल १२ र सुनिल धमलाले १६ रन बनाउनुभयो । कोशीका बायाँ हाते तीव्रगतिका बलर कमल खत्रीले ७ ओभरमा ३३ रन खर्चेर २ विकेट लिनुभयो । सोनु मण्डलले १ विकेट लिनुभयो ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोशी ४८.२ ओभरमा १६६ रनमा अल आउट भएको थियो । कोशीका बायाँ हाते ब्याटर सुजन थपलियाले १२६ बलमा ६ चौका र ८ छक्कासहित १०५ रनको सानदार शतकीय इनिङ खेले पनि एकल प्रदर्शन जितका लागि पर्याप्त हुन सकेन ।
उहाँले ४४औँ ओभरको पाँचौँ बलमा सागर ढकाललाई चोभार एण्डतर्फ लङअनमा छक्का हान्दै आफ्नो करिअरको पहिलो शतक पूरा गर्नुभएको थियो । उहाँले ११९ बलमा शतक पूरा गर्नुभएको थियो ।
कोशी एक समय २४.३ ओभरमा ६४-७ को अवस्थामा पुगेको थियो । त्यसपछि अभ्यास तिम्सिनाले आठौँ विकेटका लागि सुजनसँग ९९ रनको साझेदारी गर्नुभएको थियो । अभ्यासले ६४ बलमा १ चौका र १ छक्कासहित २३ रन बनाउनुभयो ।
ओपनर अंकित सुवेदी १०, मिनाश थापा २ र फिर्दोश अन्सारी ९ रनमा आउट हुनुभयो । पुलिसका करण केसीले ९.२ ओभरमा २८ रन खर्चेर ३ विकेट लिनुभयो । ललित राजवंशी र सुनिल धमलाले २-२ विकेट लिनुभयो । कुशल भुर्तेल, सागर ढकाल र राशिद खानले १-१ विकेट लिनुभयो ।
पुलिसले पहिलो खेलमा बागमती प्रदेशलाई ६८ रनले हराएको थियो । कोशी पहिलो खेलमा मधेशसँग ७ विकेट र एपिएफसँग ६ विकेटले पराजित भएको थियो । लगातार तीन हारले कोशीको फाइनल सम्भावना निकै कठिन बनेको छ । कोशीले बिहीबार आर्मीसँग खेल्नेछ । पुलिसले आइतबार भैरहवामा गएर आर्मीसँग खेल्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच