काठमाडौं । वरिष्ठ युरोलोजिस्ट प्राडा अर्जुनदेव भट्टका एकसाथ चार कृति लोकार्पण गरिएको छ । शनिबार काठमाडौंमा आयोजित एक विशेष समारोहमा प्राडा भट्टका ‘मेरी आमा एक दृढ प्रतिज्ञा नारी’ स्मृति ग्रन्थ, ‘समय यात्रा’ निबन्धसंग्रह एवं उपन्यास ‘युद्ध विनाको युद्ध’ र ‘रूपान्तरण’ लोकार्पण गरिएको हो । मुक्तिनाथ दर्शन साहित्य समाजको आयोजनामा भएको समारोहमा प्राज्ञ डा.देवी नेपाल, नागरिक अभियन्ता एवं साहित्यकार खगेन्द्र संग्रौला, साहित्यकार एवं वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, भाषा आयोगका सदस्य डा.पुस्कर भट्ट र कृतिकार प्राडा अर्जुनदेव भट्टले संयुक्त रूपमा कृतिहरूको लोकार्पण गर्नुभएको थियो ।
समारोहमा संग्रौलाले आफ्ना भनाइ राख्दै ‘मेरी आमा’कृतिको समीक्षा गर्नुभएको थियो । उहाँले अत्यन्त सूक्ष्म समवेदनालाई सटिक भाषामा यस कृतिमा प्राडा भट्टले व्यक्त गरेको बताउनुभयो । ‘प्राडा भट्टको यस कृति अत्यन्त सूक्ष्म समवेदनालाई सटिक भाषामा लेखिएको छ । यसमा ढोग, कृत्रिमता र जडता छैन’, संग्रौलाले भन्नुभयो । प्राडा भट्टले आफूलाई नयाँ जीवन दिएको प्रसंग निकाल्दै संग्रौलाले उहाँको चिकित्सा क्षेत्रका बारेमा पनि चर्चा गर्नुभएको थियो । संग्रौलाले आफ्ना भनाइ राख्दै गर्दा प्राडा भट्ट भक्कानिनुभएको थियो ।
उपन्यास ‘युद्ध विनाको युद्ध’का बारेमा समीक्षा गर्दै डा.पुस्कर भट्टले यो सस्शत्र विनाको युद्ध रहेको र हरेक मान्छेले आफ्नो जीवनमा लडिरहेको बताउनुभयो । पश्चिम नेपालमा रहेको देउकी प्रथामा आधारित उपन्यास रहेको भन्दै डा.पुस्करले भन्नुभयो, ‘पुस्तक पश्चिम नेपालको एउटा कुप्रथालाई देखाउन सफल भएको छ । यसमा सामाजिक चेतना, स्वाभिमान यात्रालाई प्रस्तुत गरिएको छ । नागरिक नै बन्न नपाएको, विदेशीले अपहेलित गरेको, वैदेशिक रोजगारका समस्याहरू पनि देखाएको छ । मानवीय समवेदनका कुरा पनि देखाएको छ ।’
प्रा.पुरुषोत्तम दाहालले प्राडा भट्टको प्रस्तुति बेजोड रहेको बताउँदै शीर्षक अनुसारको कथा वस्तु ‘रूपान्तरण’ उपन्यासमा रहेको बताउनुभयो ।
कारुणिक कथालाई प्राडा भट्टले बढो सरल र मार्मिक रूपमा यसमा प्रस्तुत गरेको उहाँको भनाइ थियो । ‘जम्मा पचास दिनको प्रयासमा एक सयभन्दा बढी पृष्ठको उपन्यास लेख्नु, त्यो पनि बिरामीको सेवामा घण्टौं घण्टाको थकानबाट विचलित नभई सहज होइन । यो प्राडा भट्टको लगन र साधना हो’, प्रा.दाहालले भन्नुभयो । नारी मनोविज्ञान, सामन्ती चरित्र र विपन्न पारिवारिक अवस्थाको वृत्तमा रहेको कृतिमा कथाको अन्तिममा पुगेर काले सार्की नामक पात्रको कल्पना भने आफूलाई अनौठो लागेको उहाँको भनाइ थियो । सो अवसरमा प्रा.दाहालले स्रष्टा, लेखक, कलाकार, सम्पदाकर्मीलाई राष्ट्रका गहना नभनेर राष्ट्रका स्पन्दन भन्नुपर्ने धारणा राख्नुभएको थियो ।
पूर्वमन्त्री गणेश शाहले प्राडा भट्टका कार्यको चर्चा गर्दै नयाँ कृतिका लागि उहाँलाई बधाई तथा शुभकामना दिनुभएको थियो । कार्यक्रममा हरि गौतम, प्राडा खेम कोइराला बन्दु, प्रा विष्णु पन्त र युवराज मैनालीले आ-आफ्ना भनाइ राख्दै शुभकामना मन्तव्य राख्नुभएको थियो ।
समारोहमा लेखकीय मन्तव्य राख्दै प्राडा भट्टले कृतिहरू पाठकसमझ आइपुग्दाका क्षणहरूका बारेमा चर्चा गर्नुभएको थियो । लेखक भट्टले जीवन एउटा संघर्ष भएको र कर्म सुख शान्तिको आधार भएको भन्दै कितावको मूल्यांकन पाठकलाई छोड्ने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ नेपालले प्राडा भट्ट अजर बनाउने अभियानमा स्वास्थ्य सेवा र अमर बन्ने अभियानमा कृति सिर्जनामा लागेको बताउनुभयो । उहाँका कृतिमा पाण्डियता प्रदर्शन नभएर सर्वसाधारणले बुझनेगरी प्रस्तुत भएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले बौद्धिक व्यक्तित्वहरूको कुरा गर्छौं तर आजको पुस्ताले चिन्दै चिन्दैन । तर, आजको पुस्ताले पनि भानुभक्त चिन्छ, देवकोटा चिन्छ । अर्जुन भट्टजीले भौतिक सम्पत्ति बनाउनुभएको भए नसक्ने हो त उहाँ ? सम्पत्ति त छोराछोरीका नाममा सर्छन् तर कृतिहरू उहाँकै नाममा सयौं वर्षपछि पनि प्रकाशित हुन्छन् । यो सम्पती हो । पाण्डित्य प्रदर्शन, डाक्टरी बौद्धिकताको प्रदर्शन छैन् । सर्वसाधारणले बुझ्नेगरी गम्भीर कुरा प्रदान गर्नुभएको छ ।’
कार्यक्रमको सभापतित्व गर्नुभएका मुक्तिनाथ दर्शन साहित्य समाजका अध्यक्ष कलानिधि दाहालले प्राडा भट्टको कृति‘समय यात्रा’का बारेमा चर्चा गर्दै साहित्य समाजले गरेका कार्यका बारेमा जानकारी गराउनुभएको थियो । समाजका संस्थापक अध्यक्ष एवं साहित्यकार हरिभक्त सिग्देलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण भैरवी भूगोलले गर्नुभएको थियो ।
‘समय यात्रा’ र ‘मेरी आमा एक दृढ प्रतिज्ञा नारी’लाई ओरिएन्टल पब्लिकेसन हाउस, ‘युद्धविनाको युद्ध’लाई भुँडीपुराण प्रकाशन र ‘रूपान्तरण’लाई इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.ले प्रकाशन गरेका हुन् । कार्यक्रममा साहित्य तथा अन्य क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच