पञ्चकोट जाने सडक कालोपत्रे हुँदै

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 7 mins

बागलुङ । ठेक्का सम्झौता गरेको चार वर्षसम्म कालोपत्र गर्न नसकेको निर्माण व्यवसायी काममा फर्केको छ ।

दुई वर्ष भित्रै कालोपत्रे सक्नेगरी २०७६ साल असोज २८ गते सम्झौता भएको सडक अझै कालोपत्र हुन सकेको छैन ।

बागलुङ नगरपालिका–४ कुँडुले चोकदेखि मालिका–पञ्चकोट पुग्ने क्षत्रीय रिङ्गरोड सडक निर्माण अलपत्र पारेर सम्पर्क बिहिन भएको ठेकेदार एक वर्षपछि काममा फर्केको हो । तीन पटक म्याद थप्दा समेत १४ किलोमिटर सडक कालोपत्र नभएपछि सरोकारवाला निकायको निरन्तरको ताकेतापछि निर्माण व्यवसायी काममा फर्केको हो ।

पूर्वाधारको काम सकेर ठेकेदार सम्पर्क बिहिन हुँदा उक्त सडक एक वर्षदेखि अस्तव्यस्त बनेको थियो । ग्राभेल गरिएको सडकमा कालोपत्र नगर्दा यात्रुलाई धुलोले सास्ती बनाएको थियो । एक वर्षदेखि कालोपत्रको पर्खाइमा रहेको उक्त सडक निर्माणको जिम्मा पाएको काष्ठमण्डप कन्ट्रक्सन प्रालि काममा फर्केको पूर्वाधार विकास कार्यालय बागलुङका प्रमुख दिनेश घिमिरेले जानकारी दिनुभयो ।

घिमिरेका अनुसार निर्माण व्यवसायीलाई पत्र पठाउदा समेत काममा नफर्केपछि पुस ३ गते प्रमुख जिल्ला अधिकारीको रोहबरमा निर्माण व्यवसायी र जनप्रतिनिधि बीच चैत भित्रै कालोपत्र गर्ने प्रतिबद्धता जनाएलगत्तै सडकको कामले गति लिएको हो ।

“पुस ३ गते गरेको सहमती लगत्तै सडकको कामले गति लिएको पाइयो, अहिले उक्त सडकको पाङ्ग्रेखोलामा सय मिटर सडक ढलान गरेको छ, ग्राभेलको बेसको कच्चा सामाग्रीका लागि समेत आवश्यक समन्वय गरेका छौं” घिमिरेले भन्नुभयो “काममा निकै ढिला भइसक्यो, अब सडक सम्पन्न नगरे कार्वाहीको बिकल्प छैन, फागुनबाट कालोपत्र थाल्ने गरी कामको प्रगती भएको पाइएको छ ।”

घिमिरेका अनुसार तीन पटकसम्म म्याद थप्दासमेत सडक कालोपत्र नभएपछि निर्माण व्यवसायीलाई निरन्तर ताकेता गरेपछि एक वर्षपछि काममा फर्केको हो । दुई वर्षदेखि कालोपत्रका लागि आवश्यक ग्रावेल (सव बेस) छरेर छोडेको सडकमा कालोपत्र नहुँदा दुर्घटनाको समेत जोखिम बढाएको थियो । गण्डकी प्रदेश सरकार अन्र्तगत पूर्वाधार विकास कार्यालय बागलुङ मार्फत रु. ३१ करोड लागतमा १४ किमि सडक कालोपत्र गर्न थालिएको भएपनि ठेकेदार कम्पनीले समयमै काम गर्न नसक्दा सडक एक वर्ष देखि अलपत्र जस्तै बनेको थियो ।

दुई वर्षमा सकिने उक्त सडकको ठेक्का चार वर्ष वित्दा समेत ७६ प्रतिशतमात्रै भौतिक प्रगती भएको छ । उक्त सडकको सम्झौता मिति अन्तिम पटकलाई भन्दै आगमी चैत मसान्त सम्म म्याद थप गरिएको छ ।

दुई वर्षभित्र कालोपत्रे सक्ने गरी काष्ठमण्डप कन्ट्रक्सन प्रालिले जिम्मा पाएको भएको थियो । एक महिना यता पहिरो पन्छाउने, उकालो र चिसो भएको स्थानमा ढलान गर्ने कार्य भइरहेको र ग्रावेलका लागि समेत आवश्यक कच्चा सामाग्रीको सुनिश्चितता भएको निर्माण कम्पनीका फिल्ड इन्चार्ज रविन चापागाइले बताउनुभयो ।

“कोरोना लगायतको समस्याले समयमै काम गर्न नसकेको हो, पूर्वाधारको काम सकिएको छ, उपकरणको सहायताले बेस विच्छाएर कालोपत्र मात्रै गर्न बाँकी छ, ग्राभेलका लागि आवश्यक कच्चा पदार्थका लागि ओढारचौरमा समेत काम गरिरहेका छौं” चापागाईले भन्नुभयो “फागुन पहिलो साताबाट कालोपत्रको काम थाल्छौं, कालोपत्र गर्न धेरै समय लाग्दैन, हामी तयारीका साथ फिल्डमा आएका छौं, यस पटक जसरीपनी सडक सम्पन्न गरेर बुझाउछौं ।”

कुडुँले चोकदेखि–मालिका–पञ्चकोट हुँदै तितौरे काठेखोला गाउँपालिकाको सिमानासम्म जाने १४ किलोमिटर सडक पहिलो चरणमा कालापत्र गर्नका लागि तत्कालिन गण्डकी प्रदेशसभा सदस्यको सिफारिसमा बजेट बिनयोजन भएको थियो ।

गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक आयोजना’ अन्तर्गत बागलुङ क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ मा पर्ने बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकालाई समेट्ने गरी क्षेत्रीय चक्रपथका रुपमा यो सडकलाई विकास गर्ने योजना अनुरुप स्तरोन्नतिसँगै कालोपत्र गर्ने काम थालिएको हो ।

पूर्वाधार विकास कार्यालय बागलुङका इन्जिनियर सुजन देवकोटाका अनुसार १४ किलोमिटर सडक आठ मिटरको मापदण्डअनुसार चौडा भइसकेको, एक मिटर नाली निर्माण र ५.५ मिटर चौडा सडक कालोपत्र हुनेछ । निर्माण व्यवसायीलाई पत्रपठाएर ताकेता गरेपछि एक वर्ष पछि व्यवसायी काममा फर्केको हो । उक्त सडकको ७६ प्रतिशत भौतिक प्रगती र ७४ प्रतिशत आर्थिक प्रगती भइसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?