काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश बनाउने जिम्मा सरकार, सबै राजनीतिक दलका साथै विभिन्न तह र तप्काका जनसमुदायको भएको बताउनुभएको छ । बुधबार प्रधानमन्त्रीनिवास बालुवाटारमा डा.केदारभक्त माथेमा, डा.पिताम्बर शर्मा, डा.विद्यानाथ कोइराला, डा.चैतन्य मिश्र, प्रा.कृष्ण खनालसहितका प्रबुद्ध व्यक्तित्वसँगको छलफलमा प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो । उहाँले देश बनाउन सबैभन्दा ‘बेस्ट ब्रेन’हरू केन्द्रित गर्नुपर्छ भन्ने आफ्नो विगतदेखिकै सोच रहँदै आएको बताउँदै अहिले विश्वविद्यालयलाई राजनीतिक भागबण्डा बनाउनु हुँदैन भनेर विगतको परम्परामा ‘ब्रेक थु्र’ गर्न लागिएकाले यसमा बौद्धिक समुदायको साथ र सहयोगको अपेक्षा गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री भएदेखि नै भोलिको उज्यालो र सम्मुन्नत नेपालका लागि सुशासन, सामाजिक न्याय र सम्मृद्धिका पक्षमा अनवरत काम गरिरहेको बताउँदै आमजनतालाई देशमै भविष्य छ भनेर भरोसा दिनुपर्ने दायित्व राज्यको भएकाले यसमा बौद्धिक समुदायको पनि महत्वपूर्ण भूमिका रहने औँल्याउनुभयो ।
छलफलमा डा. माथेमा, डा. शर्मा, डा. कोइराला, डा. मिश्र, प्रा. खनालसहितका बौद्धिकहरूले प्रधानमन्त्रीले हालै विश्वविद्यालयमा भागबण्डा नगर्ने र मेरिटोक्रेसीबाट उपकुलपति छान्ने प्रक्रिया अघि बढाउनुले नयाँ आशा पलाएको भन्दै समग्र शिक्षा क्षेत्रसहित विश्वविद्यालयहरूको पुनःसंरचना गर्ने गरी सुधार थाल्न आग्रह गर्नुभयो । उनीहरूले प्रधानमन्त्रीसमक्ष विभिन्न विषयमा सुझाव प्रस्तुत गरेका थिए ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदका लागि ४३ जनाले दरखास्त दिएका छन् । दरखास्त दिनेमा बहालवाल उपकुलपति, पूर्व–उपकुलपति, डिन, विभागीय प्रमुखदेखि पूर्व-पदाधिकारी र प्राध्यापकसम्म छन् । एक कार्यकाल विश्वविद्यालय सेवामा पदाधिकारीको जिम्मेवारी पूरा गरेको संख्या धेरै छ ।
दरखास्त दिने मध्येमा अधिकांश सत्तारूढ कांग्रेस र माओवादी निकटका प्राध्यापक छन् । एमालेनिकट केहीले पनि आवेदन दिएका छन् । बौद्धिक चोरीका आरोपीदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोषी देखाएका प्राध्यापकको पनि दरखास्त परेको छ । केही आवेदक निजी कलेजका सञ्चालक रहेको समेत पाइएको छ । उपकुलपति छनोट, सिफारिस समितिले जारी गरेको कार्यविधिमा राजनीतिक दलको सदस्य नभएको, त्रिविमा स्वार्थको द्वन्द्व नरहेको स्वघोषणा गर्नुपर्ने प्रावधान राखिएको छ । आवेदनमाथि विज्ञ समूहबाट मूल्यांकन गरी ‘सर्ट लिष्ट’ तयार पार्ने समितिले जनाएको छ ।
खुला प्रतिस्पर्धाबाट त्रिवि उपकुलपति नियुक्त गर्न आवेदन माग गरिएको थियो । उपकुलपति प्राडा. धर्मकान्त बासकोटाको पदावधि गत कात्तिक १६ गतेदेखि सकिएको थियो । कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कात्तिक १७ गते प्राडा. शिवलाल भुसाललाई कार्यवाहक उपकुलपतिको जिम्मेवारी तोक्नुभएको थियो ।
त्रिवि ऐन २०४९ को दफा २१ को (ख) अनुसार दैनिक कार्य सञ्चालनका लागि बढीमा तीन महिनाका लागि कार्यवाहक उपकुलपतिको जिम्मेवारी दिन मिल्छ । यो तीन महिना माघ १७ गते सकिँदै छ । त्यसअघि नै उपकुलपति नियुक्ति गर्ने तयारी छ । उपकुलपति माग गर्दै दुईपटक विज्ञापन गरिएको थियो । पुस २० गते उपकुलपति माग गर्दै पहिलोपटक विज्ञापन गरिएको थियो । उपकुलपतिको अनुभवसम्बन्धी बुँदालाई लिएर विवाद भएपछि कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डको निर्देशनमा पुस २३ गते दोस्रोपटक विज्ञापन गरिएको थियो ।
उपकुलपति सिफारिस गर्न सहकुलपतिसमेत रहनुभएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको संयोजकत्वमा समिति पनि बनेको छ । यही समितिले उपकुलपति माग गर्दै आवेदन आहृवान गरेको थियो । आवेदन दिन १५ दिनको समय दिइएको थियो । समयभित्रै ४३ जनाले आवेदन दिएका हुन् । प्रधानमन्त्री प्रचण्डले त्रिवि उपकुलपति नियुक्तिमा राजनीतिक भागबण्डा नगर्ने प्रतिबद्धता दोहोर्याइरहनु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेल, विभिन्न राजनीतिक दलका नेता तथा विद्यार्थी संघ संगठनहरूले पनि त्रिवि उपकुलपति नियुक्तिमा राजनीतिक भागबण्डा नगर्न प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण गराउँदै आउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच