![जाडोमा कस्तो नास्ता खानु उपयुक्त हुन्छ ?](https://ehimalayatimes.com/wp-content/uploads/2024/01/paratha.jpg)
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डल नेपाल आएको छ । अन्तर्राष्ट्रिय विभागका उपमन्त्री हेयान नेतृत्वको प्रतिनिधि मण्डल शुक्रबार दिउँसो नेपाल आइपुगेको हो । हेयान नेतृत्वको प्रतिनिधि मण्डल बंगलादेश हुँदै काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
प्रतिनिधिमण्डललाई विमानस्थलमा चिनियाँ राजदूतसहितले स्वागत गरे । त्यसक्रममा नेकपा (माओवादी केन्द्र)की नेतृ पम्फा भुसाल र नेता गणेश साह पनि उहाँलाई स्वागत गर्न विमानस्थल पुग्नुभएको थियो । हेनान चार दिनसम्म नेपाल भ्रमणमा रहने बताइएको छ ।
भ्रमणका क्रममा उहाँ माघ १४ गते हुने एउटा गोष्ठीमा समेत सहभागी हुनुहुने छ । आगामी आइतबार काठमाडौंमा चीन र नेपालको विकास र सहयोग सन्दर्भमा चीनको कम्युनिष्ट पार्टी (सिपिसी) का सदस्य तथा नेपालका राजनीतिक दलहरूबीच संयुक्त परामर्श सम्मेलनमा हुँदै छ ।
चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को अन्तर्राष्ट्रिय विभाग (विदेश सम्पर्क विभाग) ले आयोजना गर्ने संयुक्त परामर्श सम्मेलनमा विकासको सन्दर्भमा दुई देशका राजनीतिक दल र नेताहरूबीच सहकार्य तथा सहयोग आदानप्रदानका विषयमा छलफल हुने राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य शोभित उप्रेतीले बताउनुभयो । उहाँका अनुसार संयुक्त परामर्श सम्मेलनमा चिनियाँ कम्युनिष्ट पार्टीको सदस्यहरू र नेपालका राजनीतिक दलका नेता, विभिन्न संगठनका प्रमुख एवं प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहने उहाँको भनाइ छ ।
यसबीचमा उहाँले उच्चस्तरीय राजनीतिक भेटवार्तासमेत गर्नु हुनेछ । भ्रमणका क्रममा उहाँले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, विभिन्न दलका शीर्ष नेतालाई भेटघाट गर्ने कार्यक्रम छ । यसअघि गत मंसिर अन्तिममा चिनियाँ उपमन्त्री वाङ रुइजुनले लुम्बिनी भ्रमण गर्नुभएको थियो । उहाँ आएको डेढ महिना नबित्दै हेनान नेपाल आउनुभएको हो ।
वाङ रुइजुनको भ्रमणका क्रममा लुम्बिनीको विकास र गुरुयोजना, बौद्ध धर्म र समग्र नेपालको धार्मिक सांस्कृतिक एवं सामाजिक विषयमा छलफल भएको थियो । भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सहजीकरण एवं चिनियाँ पर्यटक भिœयाउनसमेत आग्रह गरिएको थियो ।
चीन हुँदै तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
नेपाल चाइना चेम्बर अफ कमर्स, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र चिनियाँ राजदूतावासको संयुक्त आयोजनामा तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ भएको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी नेपालका लागि चिनियाँ राजदूत चेन सोङले कार्यक्रमको शुभारम्भ गर्नुभयो । सुरुआती चरणमा खाद्यान्न निर्यात गरिने जनाइएको छ । वस्तु नेपालबाट चीन हुँदै जापान पठाउन लागिएको हो । कार्यक्रममा आपूर्ति सचिव दुवाडीले यसले अर्थतन्त्रमा ठूलो सहयोग पुग्ने बताउनुभयो । उद्घाटन कार्यक्रममा चिनियाँ राजदूत सोङले नेपालमा उत्पादन भएका सामानहरू निर्यात गर्न हर प्रकारको सहजीकरण गर्ने बताउनुभयो । यसैगरी, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले तेस्रो मुलुकमा सामान निर्यातले राम्रो कार्य प्रारम्भ भएको बताउनुभयो ।
अमेरिकी अधिकारीसँग थाइल्याण्डमा गोप्य वार्ता हुने
सम्बन्ध सुधारको प्रयास गरिरहेका अमेरिका र चीनका वरिष्ठ अधिकारीहरूबीच थाइल्याण्डमा गोप्य वार्ता हुने भएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभान र चिनियाँ विदेशमन्त्री वाङ यीबीच वार्ता हुन लागेको फाइनान्सियल टाइम्सले जनाएको छ । समाचारमा जनाइएअनुसार नोभेम्बरमा सान फ्रान्सिस्कोमा राष्ट्रपति जो बाइडेन र सी चिनफिङबीच भएको वार्तापछि सलिभान र वाङ पहिलोपटक भेट हुन लागेको हो । बेलुन काण्ड र ताइवानका विषयमा तनाव उत्कर्षमा पुगेपछि गतवर्षको अन्त्यमा अमेरिकी र चिनियाँ अधिकारीहरूले सम्बन्ध सुधारको प्रयास थालेका थिए । त्यसका लागि सलिभान र वाङबीच गुप्त रूपमा अष्ट्रियाको भियना र माल्टामा भेट भएको थियो ।
पछिल्लो समय लालसागरमा पश्चिमा जहाजहरूलाई आवागमनमा बाधा गरिरहेको हुथी समूहलाई रोक्न इरानमाथि दबाब बढाउन अमेरिकाले चीनलाई आग्रह गरिरहेको छ । यो विषय सलिभानले हालै अमेरिका भ्रमणमा गएका चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ च्यानचाओसँग पनि उठाउनुभएको थियो । विदेशमन्त्री रहेका छिन काङ बर्खास्त भएपछि गत जुलाईयता वाङले चिनियाँ विदेश मन्त्रालय र चीनको शीर्ष कूटनीतिज्ञ दुवैको भूमिका निर्वाह गरिरहनु भएको समाचारमा उल्लेख छ । अमेरिका र चीनबीच ताइवान विवादित विषय बन्ने गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच