कांग्रेससँगको सहकार्यबारे गम्भीर समीक्षा हुन्छ : उपमहासचिव पुन

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणामपछि कांग्रेससँगको गठबन्धनबारे आफूहरुले गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको बताउनु भएको छ ।

उपमहासचिव पुनले कांग्रेसले आफूहरुमाथि एकपछि अर्को घात गर्दै आएको बताउँदै यस्तो धारणा राख्नुभएको हो ।

शनिबार गृह जिल्ला रोल्पामा पार्टीका जनप्रतिनिधि र जिल्ला स्तरीय नेताहरुलाई प्रशिक्षण दिँदै उपमहासचिव पुनले कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचनमा माओवादी नेतृ चम्पा कार्कीले हार्नुमा कांग्रेसका नेताहरु दोषी रहेका बताउनु भयो । अब कांग्रेसले आफूहरुको विश्वास गुमाएको उहाँले बताउनु भयो ।

‘कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणामले राष्ट्रिय राजनीतिमा नयाँ मोड आएको छ । काँग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्थामा हामी पुगेका छौं’, उहाँले भन्नुभयो, ‘काँग्रेससँगको गठबन्धनले राजनीतिक रुपमा हामीलाई घाटा या नाफा के छ ? हामी हरेक चुनावमा इमान्दार कांग्रेसलाई मत दिइराख्ने अनि काँग्रेसले हाम्रा उम्मेदवार हराइराख्ने कहिलेसम्म चल्छ ?’ ।

यसअघि विभिन्न प्रकरणमा काँग्रेस नेतृत्वले पार्टीभित्रको गुटबन्दी र शक्ति संघर्षलाई कारण देखाउने गरेको भन्दै पुनले यो पटक त्यत्तिले मात्र नपुग्ने समेत बताउनु भयो । दुई वर्षअघि पनि कोशीबाट राष्ट्रियसभामा जसपा उम्मेदवारलाई कांग्रेसले भोट नदिएर बेइमानी गरेको उहाँले स्मरण गर्नुभएको थियो ।

बिहीबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनले काँग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला विजयी हुनुभएको थियो भने गठबन्धनबाटै उम्मेदवार हुनुभएको माओवादीकी चम्पादेवी कार्की भने पराजित हुनु भएको थियो । माओवादीकी कार्की एमालेकी रुक्मिणी कोइरालासँग पराजित हुनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?