म्याग्दीको तातोपानी : कुण्डको आम्दानी शिक्षा र पूर्वाधारमा लगानी

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 16 mins

म्याग्दी । प्राकृतिक चिकित्सालयको रुपमा ख्याती कमाएको म्याग्दीको बेनी नगरपालिका ४ सिंगा तातोपानीमा अवस्थित तातोपानी कुण्डमा डुब्न आउने विरामीहरुबाट लिइएको प्रवेश शुल्क वापतको आम्दानी तातोपानी कुण्ड व्यवस्थापन समितिले शिक्षा र पूर्वाधार निर्माणमा लगानी गरेको छ ।

नेपालका विभिन्न अस्पतालहरुमा उपचार गराएर रोग निको नभएका दीर्घरोगीहरुको अन्तिम उपचार स्थल बन्दै गएको तातोपानी कुण्डको आम्दानीबाट स्थानीय सरस्वती माध्यमिक विद्यालयमा वार्षिक रु १८ लाख सहयोग हुने गरेको छ । तातोपानी कुण्डको आम्दानीबाट विद्यालयमा दरबन्दी बाहेकका तीन जना शिक्षक राखेर पठनपाठन गरिँदै आइएको छ ।

“तातोपानी कुण्डको आम्दानीबाट यहाँको सरस्वती माध्यमिक विद्यालयमा शिक्षक राखिएको छ ” तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले भन्नुभयो “शिक्षकलाई तलब खुवाउनका लागि वार्षिक रु १८ लाख विद्यालयलाई दिने गरिएकोमा गत पुस महिनाबाट मासिक रु एक लाख दिने निर्णय भएको छ ।”

“मंसिरसम्म निजी स्रोतबाट छ जना शिक्षकलाई तलब खुवाउदै आइएकोमा पुस महिनादेखि दरबन्दीका शिक्षक आए पछि तीन जनालाई मात्र तलब खुवाउनु पर्ने भएकोले मासिक रु एक लाख विद्यालयलाई दिने निर्णय गरेका छौं” अध्यक्ष खड्काले भन्नुभयो ।

गत आर्थिक वर्ष २०७९/८० मा तातोपानी कुण्डले एक करोड ३७ लाख रुपैयाँ आम्दानी गरेको उहाँले जानकारी दिनुभयो । प्रवेश शुल्कलगायत विभिन्न शीर्षकबाट प्राप्त सो आम्दानी शिक्षा,पूर्वाधार निर्माण,कर्मचारीको तलवभत्ता,नगरपालिकालाई कर लगाएतमा खर्च हुने गरेको उहाँले बताउनुभयो ।

नगरपालिकालाई कुण्डको कुल आम्दानीको २५ प्रतिशत र आन्तरिक राजस्व कार्यालयलाई १३ प्रतिशत कर बुझाउने गरिएको र वाँकी रहेको रकम कुण्ड व्यवस्थापन,पूर्वाधार निर्माण,कर्मचारीको पारिश्रमिक र विद्यालयलाई सहयोगमा खर्च हुनेगरेको उहाँले बताउनुभयो ।

अध्यक्ष खड्काका अनुसार यस वर्ष रु आठ लाखको लागतमा तातोपानीमा नुहाउन आउने महिला र पुरुषहरुका लागि कपडा फेर्ने अलग अलग कोठा निर्माण गरिएको छ । त्यसैगरी रु २० लाखको लागतमा प्राचिनता झल्कने कलात्मक प्रवेशद्धार (गेट) निर्माण गरिएको छ । उक्त गेट निर्माणको काम पुस ६ गते शनिवार सम्पन्न भएको अध्यक्ष खड्काले जानकारी दिनुभयो । तातोपानीमा पूर्वाधार निर्माणका लागि यस वर्ष पर्यटन बोर्डबाट रु १५ लाख सहयोग भएको पनि उहाँले बताउनुभयो ।

अध्यक्ष खड्काका अनुसार गत आर्थिक वर्षमा १८ हजार २०८ जनाले यहा स्नान गरेका थिए । बिरामीले स्नान गर्ने कुण्डमा प्रवेश शुल्कबापत ६२ लाख ९७ हजार र पाहुनाले स्नान गर्ने कुण्डबाट २५ लाख ८८ हजार रुपैयाँ आम्दानी भएको थियो ।

त्यसैगरी चन्दाबापत ४ लाख १६ हजार, मन्दिरको भेटी ५ लाख ३० हजार, आजीवन सदस्यताबाट ३ लाख ८ हजार र विभिन्न बैंकमा मौज्जाद रकमको ब्याजबाट १७ हजार रुपैयाँ आम्दानी भएको उहाँले जानकारी दिनुभयो ।

कुण्डमा एक पटकमा ३५० देखि ४०० जनासम्मले स्नान गर्न सक्छन् । ७ दिन स्नानका लागि प्रतिव्यक्ति ३५० रुपैयाँ शूल्क तोकिएको छ ।
म्याग्दी नदीको किनारमा प्राकृतिक रुपमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी संकलन गरिएको तलाउमा स्नान गरेर उपचार र अवलोकनका लागि प्रयोग भइरहेको छ ।

कुण्ड व्यवस्थापन समितिका अध्यक्ष खड्काका अनुसार बिरे नूनको गन्ध नआउने पानी संकलन गरिएको छ । यो पानीमा डुबुल्की मार्नेको छाला, ग्यास्ट्रिक, वाथ, चोटपटक लागेको लगायत निको हुने जनविश्वास छ ।

मनोरञ्जन र उपचार दुबै

लागि आजभोलि म्याग्दी जिल्लाका तातोपानी कुण्डहरु मनोरञ्जन र प्राकृतिक उपचारका आकर्षक स्थल बन्दै गएका छन् ।
पश्चिम म्याग्दीको सिङ्गा तातोपानी, उत्तरी म्याग्दीको भुरुङ तातोपानी, दर्मिजाको तातोपानी कुण्डलगायत जिल्लाका १४ ठाउँमा रहेका तातोपानी कुण्डहरुमा बाह्य र आन्तरिक पर्यटकको भीड बढ्दै गएपछि कुण्डहरुलाई व्यवस्थित बनाइएको छ।

मुख्य गरी उपचार केन्द्रको गन्तव्य बनेका यी तातोपानी कुण्डहरु पछिल्लो समय राउन्ड धौलागिरि र राउन्ड अन्नपूर्णको पदयात्रामा आउने विदेशी पर्यटकहरुका लागि गतिला मनोरञ्जन स्थल पनि बनेका स्थानीयवासीले बताएका छन् । धेरै दिनसम्म हिमाली क्षेत्रमा पद मार्गमा यात्रा गर्दा युरिक एसिड, बाथ, ढाड दुख्ने, घुँडा दुख्ने, स्किन एलर्जी, यात्रामा हुने घाउ खटिराको उपचार पर्यटकहरुले म्याग्दीमा पुगेपछि तातोपानीले गर्ने गरेका छन्।

मूलबाट नै ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रम भएको पानी निस्कने प्राकृतिक तातोपानीका कुण्डहरुमा डुबेपछि चिसोबाट हुने रोग, ग्यास्टिक, सडके मर्केको रोगीहरु निको भएर फर्किने गरेका कारण यहाँ यस्ता बिरामीहरु आउने गरेको तातोपानी कुण्ड व्यवस्थापन समितिका पूर्व सचिव कुमार केसीले बताउनुभयो ।

त्यसैगरी उत्तरी म्याग्दीको भुरुङ तातोपानी स्वास्थ्य पर्यटन र मनोरञ्जनको हब बनेको छ । मनाङ जिल्लाको थोराङ क्रस गरेर मुक्तिनाथ, जोमसोम हुँदै म्याग्दीको भुरुङ तातोपानी आइपुग्ने बित्तिकै पर्यटकहरु तातोपानीको कुण्डमा नुहाउन थाल्दछन् । कतिपय पर्यटकहरु त थकाइ मेटाउन घण्टौँसम्म कुण्डमा डुबुल्की मारिरहन्छ । तातोपानी कुण्डमा डुबेर स्नान गरेमा बाथ, ग्यास्ट्रिक, गानोगोला, चर्मरोगदेखि लिएर प्यारालाइसिस जस्ता रोग निको हुने जनविश्वासका कारणले पनि पर्यटकहरु तातोपानीमा नुहाउँछन्।

भुरुङ तातोपानी पर्यटकीयस्थलका रुपमा विकास भएको छ। भुरुङ तातोपानीबाट केही पर्यटक शिख घारको उल्लेरीको उकालो चढ्दै म्याग्दीको घोडेपानीमा रहेको पुनहिलतर्फ जान्छन् भने केही कालीगण्डकीको किनार किनारै म्याग्दीको सदरमुकाम बेनी निस्केर ढोरपाटन जाने पनि गर्दछन्।

अन्नपुर्ण पदयात्रामार्गअन्तर्गत पर्ने म्याग्दीको घोडेपानीमा पर्यटकहरुको लागि आकर्षणको केन्द्र विन्दु मानिन्छ । समुन्द्री सतहदेखि तीन हजार २१० मिटरको उचाइमा अवस्थित पुनहिलबाट मनोरम प्राकृतिक छटाको दृश्यावलोकन गर्न सकिन्छ । भुरुङ तातोपानीको आसपासमा मात्रै पाँचवटा तातोपानीका मुहान छन् । स्थानीय मानिसहरुले आफूलाई पायक पर्ने मुहानमा नुहाउने गर्दछन् । तप्तकुण्डमा स्नान गर्नाले रोगबाट मुक्ति पाइन्छ भन्ने विश्वास छ ।

भुरुङ तातोपानी कुण्डलाई वरिपरि पर्खाल लगाएर व्यवस्थित बनाइएको छ। मुक्तिनाथ जाने बाटोमा पर्ने भएकाले भुरुङ–तातोपानी तप्तकुण्डमा तीर्थाटन पर्यटकहरुले समेत नुहाउने गर्दछन्। मुस्ताङ र मुक्तिनाथ क्षेत्रको भ्रमणमा भारतका तीर्थयात्री र तेस्रो मुलुकका पर्यटकहरु पुग्ने गर्दछन्।

तातोपानी कुण्डमा तीन वर्षसम्म वर्षको दुईपटक १०–१२ दिनसम्म डुबेपछि लामो समयसम्म निको नभएका रोग पनि यहाँ डुबेपछि निको भएको बिरामीले बताएका छन् । उपचार गर्नकै लागि स्वदेश तथा विदेशका महँगा अस्पतालमा पुगेर उपचार गर्दासमेत निको नभएको रोग तातोपानी कुण्डमा डुबेर निको भएको तातोपानीमा डुबेर रोग निको भएका विरामीहरुको भनाइ रहेको छ।

म्याग्दीको सदरमुकाम बेनीबजारदेखि नौ किलोमिटर पश्चिममा पर्ने तातोपानी कुण्ड प्राकृतिक चिकित्सालयका रुपमा देश–विदेशमा समेत चर्चित छ । यहाँ एक हप्तादेखि १२ दिनसम्म डुबेपछि विभिन्न चर्मरोग, चोटपटक, ग्याष्ट्रिक, गानोगोलादेखि लिएर प्यारालाइसिससम्म निको भएको विगत तीन वर्षदेखि वर्षको एकपटक नियमित रुपमा तातोपानीमा डुब्न आउने गर्नुभएका बागलुङ ढिकीचौरका धर्मदत्त गौतमले बताउनुभयो ।

देशका विभिन्न नाम चलेका अस्पतालमा उपचार गराएर निको नभएका बिरामीसमेत पछिल्लो समय तातोपानीमा आउन थालेका कुण्ड व्यवस्थापन समितिका पूर्वअध्यक्ष वीरेन्द्रमान शाक्य बताउनुभयो ।

लामो समयसम्म थलिएर उपचारका लागि यहाँ डुब्न आएका बिरामीले पनि तातोपानीमा डुबेपछि आफ्नो रोग निको भएको बताएका छन् । नवलपुलको गैँडाकोट नगरपालिका ११ भेडावारीकी रेवती सापकोटाले विगत चार वर्षदेखि तातोपानीको कुण्डमा निरन्तर रूपमा डुब्न आएको बताउनुभयो ।

उहाँले आफ्नो खुट्टा दुख्ने,युरिकएशिड हुने र चिसोमा शरिर करकरी खाने समस्या रहेकामा निरन्तर रुपमा तातोपानी कुण्डमा आएर डुबेपछि निको भएको बताउनुभयो । वर्षमा एक पटक म्याग्दीको सिङ्गास्थित तातोपानी कुण्डमा डुब्यो भने एक वर्षसम्म रोग निको हुने उहाँको भनाइ छ ।
म्याग्दीका तातोपानी कुण्डमा हरेक वर्ष स्वदेश तथा विदेशबाट २० हजारको हाराहारीमा बिरामीहरु डुब्न आउने गरेका कुण्ड व्यवस्थापन समितिका अध्यक्ष खड्काले बताउनुभयो । िपछिल्लो समय कुण्डमा बिरामीलाई लक्षित गर्दै विभिन्न किसिमका भौतिक पूर्वाधारहरु विस्तार गरिएको छ । तातोपानी कुण्ड व्यवस्थापन समितिले कुण्डमा स्नान गर्नकै लागि भनेर सहज व्यवस्थापन मिलाएको छ ।
तातोपानीमा उपचारका लागि आउने यातायातका साधनबाट नै यहाँ आउन सक्छन् । देशका सबै ठाउँबाट बेनीसम्म यातायातका साधन आउने गर्दछन् । बेनीदेखि पनि तातोपानी कुण्डसम्म पुग्नका लागि बस, ट्याक्सी, जिप लगायतका सबै साधन पाइन्छन् । बेनीदेखि बसमा रु ८० र ट्याक्सीमा रु १५० तिरेपछि तातोपानीमा पुग्न सकिन्छ ।

पोषिलो खुराक र गतिलो कोशेली असला माछा

तातोपानी कुण्डमा डुब्न आउने विरामीहरुलाई म्याग्दी नदीको चिसो पानीमा पाइने असला माछा पोषिला खुराक बनेका छन् भने जिल्लामा आउने पर्यटकहरुलाई गतिलो कोशेली बन्ने गरेका छन् ।

यहाँ डुब्न आउने बिरामी तथा पर्यटकको रोजाइँमा म्याग्दी नदीमा पाइने असला माछा पर्ने गरेका हुन् । बजारको छेउमै रहेको म्याग्दी नदीको चिसो पानीमा पाइने असला माछा निकै स्वादिलो हुने भएकाले तातोपानीमा स्नान गरेपछि बिरामीले यहाँका माछालाई पौष्टिक आहारको रुपमा खाने गरेका छन्,भने घुम्न आएका आन्तरिक तथा बाह््य पर्यटकले कोसेलीको रुपमा लिएर फर्कने गरेका छन् ।

अन्यत्र पाइने माछा भन्दा यहाँका माछा बढी स्वादिष्ट हुने भएपछि अहिले ताजा माछाप्रति केजी एक हजार ५०० मा बिक्री हुने गरेको छ । कोभिड–१९ सङ्क्रमणको जोखिम कम भएपछि हिजोआज तातोपानी कुण्डमा नुहाउने बिरामीको भीड बढेको छ । कुण्डमा चलहपहल बढेपछि म्याग्दी नदीको किनारमा रहेका बजार दरबाङ र बाबियाचौर क्षेत्रबाटसमेत माछा मारेर व्यापारीले बिक्रीका लागि तातोपानीसम्म ल्याउने गरेका छन् ।

असला माछा खानकै लागि तातोपानीमा आउनेलाई पु-याउन धौधौ हुने गरेको तातोपानीस्थित तुलाचन होटल एण्ड थकाली भान्सा घरका सञ्चालक मना तुलाचनले बताउनुभयो ।

“माछा कमै पाइन्छ, माग भने ह्वात्तै बढेको छ, तातोपानीकुण्डमा डुबेर उपचार गराउन आएका बिरामी र घुम्न आएका पर्यटकको माग थेगिनसक्नु हुन थालेपछि पु¥याउन सकिएको छैन” उहाँले भन्नुभयो,“माछा कमै पाइने भएकाले कोसेलीको रुपमा लिएर जान चाहनेलाई दिएर पठाउन हम्मेहम्मे परेको व्यवसायीको भनाइ छ ।”

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?