सुदूरपश्चिमका सांसदको लोगो चौथो पटक फेरिँदै, २४ एमएम ब्याचसहित पञ्च धातु जडानको छनोट

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 3 mins

कैलाली । सुदूरपश्चिम प्रदेश सभा सदस्यहरू (सांसद) को लोगो चौथो पटक फेरिने भएको छ ।

गत वर्षको पुस १५ गते पाँच लाख ५० हजार रुपैयाँ खर्चेर लोगो तयार गरिएको थियो । त्यो लोगोको स्वरूप ठिक नभएको भन्दै अर्को तयार गर्न थालिएको हो ।

प्रदेश सभा सदस्यहरूले प्रयोग गर्ने लोगो सुन र चाँदी जडित निर्माणको तयारी थालिएको हो । नयाँ लोगो तयार गर्नको लागि नेपाली काँग्रेसका पदम शाहीको संयोजकत्वमा समिति गठन गरिएको थियो । बुधवारको प्रदेश सभा बैठकमा उक्त समितिले लोगोको स्वरूपसहितको प्रतिवेदन प्रस्तुत गरेको छ ।

जेठ २ गते बसेको प्रदेश सभा बैठकले शाहीको संयोजकत्वमा लोगो संशोधन समिति तयार गरेको थियो । समितिमा एमालेका धर्मराज पाठक, माओवादी केन्द्रका अक्कलबहादुर रावल, नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरी, नेकपा एकीकृत समाजवादीका प्रकाश बहादुर रावल, राप्रपाबाट खेमा विष्ट र स्वतन्त्र सांसद तारा जोशी सदस्यमा थिए । उक्त समितिले झन्डै ८ महिना पछि प्रदेश सभामा प्रस्तावित लोगो सहितको प्रतिवेदन पेस गरेको हो ।

बैठकमा प्रतिवेदन पेस गर्दै समितिका संयोजक शाहीले सबैसँग छलफल गरेर परिमार्जित नयाँ लोगो तयार गरिएको बताउनुभयो । उहाँले राष्ट्रिय पत्रिकामा सूचना प्रकाशन गरेकोमा चार वटा नमुना प्राप्त भएको बताउनुभयो । सबै भन्दा उत्कृष्ट रहेको भन्दै काठमाडौँका विश्वास पराजुलीले पेस गरेको लोगो छनोट गरिएको शाहीले प्रदेश सभालाई जानकारी दिनुभयो । अब तयार गरिने लागो २४ एमएम ब्याच भएको र पञ्च धातु जडान गरिएको हुने उहाँले बताउनुभयो ।

दोस्रो कार्यकालको पहिलो वर्ष पुगे लगत्तै प्रदेश सभा सदस्यको लागि चौथो पटक लोगो बनाउन लागिएको हो । यसअघि सुरुमा धातुको लागो निर्माण गरिएको भए पनि त्यसयता सुन र चाँदी जडित लोगो तयार गरिएको हो ।

पहिलो चरणमा प्रतिव्यक्ति २ हजार २ सय पर्ने गरी ७० वटा लोगो तयार गरिएको थियो । ५३ जना प्रदेश सभा सदस्यहरूको लागि ७० पिस लोगो तयार गर्दा डेढ लाख भन्दा बढी खर्च गरिएको थियो । त्यो बेला धातुको जडित लोगो भएको हुँदा कम खर्च भए पनि त्यसयता सुन र चाँदी जडित बनाउन थालिएपछि खर्च बढेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?