काठमाडौं । काठमाडौंमा सम्पन्न मदन भण्डारी खुला फुटसल रनिङ शिल्ड प्रतियोगिताको उपाधि हिमालयन फुटसल क्लबले उचालेको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा जारी उक्त प्रतियोगिताको फाइनल खेलमा पेनाल्टी सुट आउटमा माहिन फुटसल क्लबलाई हराउँदै हिमालयनले उपाधि जितेको हो । उपाधिसँगै हिमालयनले एक लाख ५० हजार नगद र शिल्ड प्राप्त गर्यो ।
पेनाल्टी सुट आउटमा हिमालयनले तीन र माहिनले दुई गोल गरेका थिए । उपविजेता माहिनले ७५ हजार रुपैयाँ र शिल्ड प्राप्त गर्यो । विजेता तथा उपविजेता टिमलाई पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं नेकपा एमालेका नेता आनन्द पोखरलले पुरस्कार तथा शिल्ड प्रदान गर्नुभयो ।
सो अवसरमा पूर्वमन्त्री पोखरेलले खेलकुदले समाजमा बहुआयामिक महत्व बोकेको चर्चा गर्दै एकेडेमीका खेल गतिविधि प्रशंसनीय रहेको बताउनुभयो । एकेडेमीका अध्यक्ष ध्रुव आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सल्लाहकार तथा पूर्व प्रदेश सभासद मोहन रेग्मी, एकेडेमीका सुवर्ण श्रेष्ठ, उत्तमकुमार राउतलगायतले बोल्नुभएको थियो । कार्यक्रम संयोजक सरिला श्रेष्ठका अनुसार प्रतियोगितामा देशभरका १५ वटा टिमको सहभागिता थियो ।