काठमाडौं । नेपाली सेनाका उच्च अधिकृतहरू धमाधम छानविनमा परिरहेका बेला पछिल्लो समय उपरथी निर्मलकुमार थापाको सर्टिफिकेट नै नक्कली भएको कुरा बाहिरिएको छ । यसअघि रथीमा बढुवाका लागि सिफारिस हुनुभएका उपरथी ताराध्वज पाण्डेको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिन बाध्य भएसँगै अहिले बढुवाको तयारीमा रहनुभएका उपरथी थापाको पनि सर्टिफिकेट विवाद बाहिरिएको हो । उपरथी थापाको शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै सोमबार छानविनका लागि रक्षा मन्त्रालयमा निवेदन परेपछि नेपाली सेनाका उच्चाधिकारीहरू विवादै विवादमा रहेको पुष्टि भएको छ ।
थापाविरुद्ध अख्तियारमा पूर्वसैनिक अधिकृतहरूले प्रवीणता प्रमाण पत्र तह (आइए) को शैक्षिक प्रमाण पत्र नक्कली भएको भन्दै छानविनका लागि रक्षा मन्त्रालयमा निवेदन दिएका हुन् । उहाँले भारतको उत्तर प्रदेशस्थित सुपोल कलेजबाट आइएस्सी प्रथम श्रेणीको मार्कसिट ल्याई २०४३ सालमा सेनाको सहायक सेनानीमा भर्ना भएको कुरा उल्लेख गरिएको छ ।
वरीयताको शीर्षस्थानमा रहेका उपरथी पाण्डेको राजीनामा स्वीकृति भएसँगै दोस्रो वरीयतामा रहेका उपरथी अशोककुमार सिग्देल रथीका लागि बढुवा सिफारिस भइसक्नु भएको छ । यसै क्रममा उपरथी थापाको पनि बढुवा सिफारिसको तयारी भइरहेका बेला उहाँको नक्कली सर्टिफिकेट विवाद बाहिरिएको हो ।
संयुक्त राष्ट्रसंघ (युएन) का महासचिव एन्टोनियो गुटेरेसले नेपाली सेनाका उपरथी निर्मलकुमार थापालाई फोर्स कमाण्डर नियुक्त गर्नुभएको छ । महासचिव गुटेरेसले थापालाई सिरिया र इजरायल बीचको विवादित क्षेत्र गोलान हाइटमा ४० भन्दा बढी मुलुकका शान्ति सैनिकहरूलाई ‘युएन डिसइन्गेजमेन्ट अब्जर्भर फोर्स’ को नेतृत्व गर्ने जिम्मेवारी दिनुभएको छ ।
उपरथी थापाअघि फोर्स कमाण्डरको जिम्मेवारी ६ सैनिक अधिकृतहरूले सम्हालिसक्नु भएको छ । रथी ईश्वर हमाल अहिले ‘फोर्स कमाण्डर’ हुनुहुन्छ । पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापा तथा अन्य जर्नेलहरूमा बालानन्द शर्मा, कृष्णनारायण थापा, भिक्ट्रीशमशेर राणा, पवनजंग थापा र ईश्वर हमाल हुन् । यस्तै, नेपालको तर्फबाट उच्च तहमा पूर्वरथी सिबी गुरुङले युएनका पूर्व–महासचिव कोफी अन्नानअन्तर्गत रहेर ‘मिलिटरी एड्भाइजर’ को रूपमा काम गर्नुभएको थियो ।
आफ्नै सिनियरलाई विवादित बनाई प्रधानसेनापति हुने दौडमा थापा
उपरथी निर्मलकुमार थापा आफ्ना सिनियर अधिकृतहरूको विरोध गरेर विवादित बनाई प्रधानसेनापति हुने दौडमा रहेको पूर्व–सैनिक अधिकृतहरूले बताएका छन् । थापा आगामी भाद्र २४ गते रिक्त हुने प्रधानसेनापतिका लागि आफू तयारी अवस्थामा रहेको उनीहरूको दाबी छ । उनीहरूले नक्कली सर्टिफिकेट छानविनका लागि रक्षा मन्त्रालयमा बुझाएको निवेदनमा उल्लेख छ, ‘थापा हाल पुस महिनामा नेपाल आई केही दिन बसी होटल हिमालयको कोठा नम्बर २०८ मा आफ्ना नजिकका पत्रकारहरू र शान्ति केन्द्रका व्यक्तिहरूसँग छलफल गरी आगामी प्रधानसेनापति आफू हुने वातावरण बनाउन सरसल्लाह गरेका छन् ।’
नेपाली सेनाको गौरव र महिमालाई अक्षुण्ण राख्नु अयोग्य व्यक्तिले सजाय पाउन रक्षामन्त्री निवेदन गरिएको पूर्वसैनिक अधिकृतहरूले बताएका छन् । यस विषयमा छानविन गरी सेनामा सवलीकरण बनाउनका लागि रक्षामन्त्रीको पहल हुनुपर्ने उनीहरूको आग्रह छ ।
थापाको शैक्षिक प्रमाण पत्र विवादबारे यसअघि नै अख्तियारमा उजुरी
उपरथी थापाको शैक्षिक प्रमाण पत्र नक्कली भएको भन्दै यसअघि नै छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । पूर्वसैनिक अधिकृतहरूले उपरथी थापाको प्रवीणता प्रमाण पत्र तहको शैक्षिक प्रमाण पत्र भारतको गोरखपुर हाई स्कुलबाट ल्याइएको नक्कली भएको दाबी गर्दै छानविनका लागि अख्तियारमा निवेदन दिएका थिए ।
थापाले २०४० सालमा एसएलसी उत्तीर्ण गरी २०४१ सालमा अमृत साइन्स कलेज लैनचौरमा भर्ना भई प्रथम वर्ष नै अनुत्तीर्ण भएपछि भारतको उत्तर प्रदेशस्थित सुपोल कलेजबाट नक्कली प्रमाण पत्र ल्यार्ई त्यसैको आधारमा २०४३ सालमा नेपाली सेनामा भर्ना भई हाल उपरथी भई सिरियामा कार्यरत रहेको निवेदनमा उल्लेख गरेका थिए ।
उहाँले सिनियरहरूको पदोन्नति रोकी विभिन्न सञ्चार माध्यममा भ्रामक कुरा सम्प्रेषण गरी आफ्नो स्वार्थ सिद्ध गर्ने गरेको र पुस ३ गतेबाट रिक्त हुने रथी पदको लागि दाबेदर भई बसेका निवेदकहरूको दाबी रहेको थियो । उनीहरूले अख्तियारप्रति विश्वस्त रही सत्य निरूपणका लागि निवेदन पेस गरेको जनाएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच