हाम्रै टोलमा कोइरालाहरूका राष्ट्रिय अध्यक्ष कृष्णमुरारी कोइराला बस्दछन् । उनका छोरा मानस कोइराला बेलायतबाट स्नातकोत्तर उपाधि हासिल गरेपछि नेपालमै केही गर्छु भन्दै स्वदेश फर्किएर व्यापारमा संलग्न भएका छन् । विदेशबाट फर्किएका युवाहरूको सम्मान गर्ने प्रचलन आरम्भ गर्न आवश्यक रहेको विचार अचेल कृष्णमुरारी प्रस्तुत गरिरहन्छन् । अरू विदेश जान मरिहत्ते गरिरहेका बेला उतै प्रशस्त अवसर पाउने सम्भावना हुँदाहुँदै पनि नेपाल फर्किनुलाई सामान्य मान्नु हुँदैन र यस्ता युवाहरूको प्रशंसा गर्न सक्नुपर्दछ पनि । यस्ता उदाहरणहरू प्रस्तुत गरेर अरूलाई पनि आकर्षित गर्ने प्रयास गर्नुपर्दछ । साथै यो प्रेरणा जगाउने उनका मातापिता पनि सम्मानयोग्य छन् । विदेश बसेर नेपाललाई धिक्कार्नेहरूका निम्ति यो कोइराला परिवार उदाहरणीय बनेको छ । अरूले पनि पाठ सिके राम्रै हुने थियो ।
हामी पुरानो रोगबाट ग्रसित छौं । पुरानै मानसिकता छ र पुराना सोच र व्यवहारहरूले हामीलाई अगाडि बढाइरहेको छ कि पछि धकेली रहेको छ भन्नेमा त्यति ख्याल गर्दैनौं । कतिपय हाम्रा प्राचीन मान्यताहरू छोड्नै नहुने खालका छन् र त्यस्ता मान्यताहरूलाई तोड्दै जाँदा न यताको न उताको भएका पनि छौं । कतिपय अँगाल्नै नहुने अरूका मान्यताहरूलाई आफ्नालाई भन्दा बढी प्राथमिकता दिँदै जाँदा भुइँमा न भाँडामा भएका पनि छौं । अब के गर्न हुने र के नहुने, कसलाई सम्मान गर्ने र कसलाई बहिष्कार गर्ने, केलाई स्वीकार गर्ने र के अस्वीकार गर्ने जस्ता विषयमा आमनेपाली संवेदनशील हुन जरुरी भएको छ ।
अमेरिका या युरोपतिर गएका युवाको नेपालको अर्थतन्त्रमा खासै योगदान हुने गरेको छैन । बरू नेपालमा भएको सम्पत्ति बेचेर उतै लैजाने गरेको देखिन्छ । बाबुआमा बिरामी परेका बेला केही पैसा पठाएका बाहेक उल्लेख्य सहयोग गरेको पनि देखिँदैन । योगदान छ भने खाडी मुलुकतिर गएकाहरूकै छ ।
अहिले पनि विदेश जानेलाई एयरपोर्टमा माला पहिर्याउन हामी लाम लाग्ने गर्दछौं । घरैको सदस्यबाहिर जाँदा बिदाइ गर्नु सामान्य नै हो । अभिन्न मित्र बाहिरिँदै छ भने नबिर्स है भन्दै हात हल्लाउनु स्वाभाविकै हो तर नाताले सातपुस्ता पनि नछुने र सरसंगतका कारण चिनजानसम्म नभएको मान्छे अमेरिका, बेलायततिर जाँदैछ भने एयरपोर्टमा लामलस्कर लागेर फोटो खिचाउन तँछाडमछाड गरिरहेका दृश्य सामान्य बन्दै गएका छन् । छोराछोरी, नातेदार या साथी यसरी बाहिरिँदा खुशी मनाउँदा मनाउँदै नेपाल युवाविहीन बन्न पुगिसकेको छ । अब साँच्चै भन्ने हो भने विदेश जाने युवालाई भन्दा विदेशबाट स्वदेश फर्किएको तन्नेरीलाई एयरपोर्टमा भव्य स्वागत गर्ने बानी बसाल्नै पर्ने भएको छ ।
अमेरिका या युरोपतिर गएका युवाको नेपालको अर्थतन्त्रमा खासै योगदान हुने गरेको पनि छैन । बरू नेपालमा भएको सम्पत्ति बेचेर उतै लैजाने गरेको देखिन्छ । बाबुआमा बिरामी परेका बेला केही पैसा पठाएका बाहेक उल्लेख्य सहयोग गरेको देखिँदैन । योगदान छ भने खाडी मुलुकतिर गएकाहरूकै छ । उता कमाएको सबै पैसा नेपालमा नै ल्याउँदछन् र सकेको लगानी यहीँ गर्दछन् । चाहे जग्गा किनुन् या सानो ठूलो कुनै व्यवसाय सुरु गरुन्, नेपालमै गर्दछन् । आफ्नो रोजगारीको ग्यारेन्टी आफैंले गर्ने र सकेदेखि अन्यलाई पनि रोजीरोटीको व्यवस्था हुने काम गर्दछन् । विडम्बना, हामी खाडीबाट फर्केकालाई हेप्न पछि पर्दैनौं, अमेरिकातिरबाट आएकालाई फूलका माला वर्षाउने गर्दछौं ।
घरमा बाबुआमा बिरामी भए खाडीमा बसेका छोरा या छोरी तुरुन्तै नेपाल फर्कन्छन् । बाबुआमाको मृत्यु हुँदा किरिया गर्न नआउने त शायदै होलान् । अमेरिका युरोपतिरका सन्ततिले भाइबर या मेसेञ्जरमा यो औषधि खानु भनेको बाहेक केही सुनिँदैन । बाबुआमा पनि खाडीमा गएका सन्ततिलाई प्रगति गर्न सकेन भनेर हेप्दछन् भने बिरामी हुँदा एक गिलास तातो पानी पनि नदिने समुद्र पारिकै छोराछोरीको प्रशंसा गर्न रुचाउँछन् । बाबुआमा मर्दा पनि अपवादबाहेकका धेरै उतै बस्दछन् । आउने खालका छोराछोरी पनि दुई चार दिन ढिलै आइपुग्छन् । जिउँदो हुँदा त सेवा पाएनन् नै, मरेपछि पनि छोरो भेट्न केही दिन कुर्नै पर्दछ । यो विडम्बनाको अन्त्य चाँडोभन्दा चाँडो गर्न सबै संवेदनशील हुनैपर्दछ ।
यी सबै कुराको अन्त्यका लागि देशको राजनीति सफा हुन आवश्यक छ । देशका लागि सोच्ने र परिवारभन्दा माथि उठेर समाजका लागि काम गर्ने राजनीतिज्ञहरूको आवश्यकता नेपालमा छ । भ्रष्टाचारलाई महापाप देख्ने राजनीतिक दलहरू सरकारमा पुग्न जरुरी छ । यस्तो सम्भावना नेपालमा नदेखेरै युवाहरू विदेशतिर हान्निइरहेका छन् र यिनलाई स्वदेशमै रोक्ने कुनै प्रयास आजसम्म भएको छैन । यही क्रम बढ्दै जाने हो भने नेपाल नेपालीको हातमा हुने पनि छैन र कुनै देशले दया गरेर खान दियो भनेमात्रै खान पाउने हालतमा नेपालीहरू पुग्ने छन् ।
मासु र अण्डामा नेपाल आत्मनिर्भर भएको घोषणा केही वर्षअघि गरिएको थियो । भारतबाट अवैध रूपमा कुखुरा भित्रिँदै जाँदा अहिले नेपालका सयौं पोल्ट्री व्यवसायीहरूले आफ्नो व्यवसाय बन्द गरेर नयाँ रोजगारी खोज्दैछन् । नेपालको मासु कसरी सस्तो बनाउने भन्नेमा सरकार कुनै योजना बनाउँदैन र भारतमा सस्तोमा उत्पादन भएका कुखुराको अवैध धन्दा रोक्न पनि कुनै प्रयास गर्दैन । यो अवस्थाले पोल्ट्री व्यवसायमा जमेर बसेका व्यवसायी पनि अन्त्यमा वैदेशिक रोजगारीकै शरणमा पुग्ने वातावरण सिर्जना भइसकेको छ ।
नेपालको विडम्बना नै भन्नुपर्दछ, कर तिर्ने जति खाडीमा र कर चुस्ने जति गाडीमा छन् । कर तिरेर जीविका चलाउनेहरूले जता गए पनि अपमानमात्रै व्यहोर्नु पर्दछ भने जसले जति बढी कर अवैध तरिकाले चुसेको छ, उसैको त्यति नै बढी सम्मान हुने गरेको छ ।
नेपालको विडम्बना नै भन्नुपर्दछ, कर तिर्ने जति खाडीमा र कर चुस्ने जति गाडीमा छन् । कर तिरेर जीविका चलाउनेहरूले जता गए पनि अपमानमात्रै व्यहोर्नुपर्दछ भने जसले जति बढी कर अवैध तरिकाले चुसेको छ, उसैको त्यति नै बढी सम्मान हुने गरेको छ । देशका प्रधानमन्त्री, मन्त्रीहरू विदेश जाँदा होस् या स्वदेश फर्किँदा स्वागतका लागि एयरपोर्टमा लाम लाग्ने गर्दछ, साथै अनुहार पुरिने गरी माला लगाइन्छ । बरू त्यो स्वागत खाडीबाट फर्किँदै गरेका युवालाई गरेर स्वदेशमै पसिना बगाउन अनुरोध गर्ने गरे देशले केही प्राप्त गर्न सक्दछ ।
अध्ययन हुन जरुरी छ । नेपालमा भुइँ पुछ्ने जागिर खान नमान्ने मान्छे विदेशमा गएर किन भाँडा माझ्ने काम गर्दछ ? नेपालमा अधिकृत, उपसचिव भएकाहरू उता गएर किन डिपार्टमेन्टल स्टोरहरूको नेपाली भाषामा भन्ने हो भने भरिया हुँदा गर्व गर्दछन् ? नेपालमा सानो र ठूलो काम भनेर विभेद गर्नेहरू नै उता गएर नेपालमा हेय भनी गर्न नमानेको काम गर्न पाउँदा किन रमाउँछन् ? घरमा छोराछोरीको आची सफा गर्दा स्वाभिमान गिरेको ठान्नेहरू उता गएर किन सार्वजनिक शौचालय सफा गर्दा पनि अभिमानले भरिन्छन् ? नेपालमै त्यही वातावरण तयार गर्न के गर्नुपर्दछ भन्नेमा सबैले सोच्न आवश्यक देखिएको छ ।
कर्णालीमा सैँतीस हजार बालबालिकाले विद्यालय पढ्न जान पाएका छैनन् । नेपालभरिमा त यो लाखौंको संख्यामा छ । हाम्रा सरकारको दृष्टि त्यता पुग्न सक्दैन । खाडीमा काम गरेकाले नेपाल र नेपालीकै निम्ति पसिना बगाइरहेका छन्, उनीहरूका समस्यामा दृष्टि पु¥याउने सोच कसैमा देखिँदैन । अमेरिका युरोप बसेर दोहोरो नागरिकता लिएकाहरूलाई कसरी मतदान गर्न दिने भन्नेमा चाहिँ साह्रै ठूलो चासो देखिन्छ । नेपाली नागरिकता नत्यागेको, उतातिरको स्थायी बसोवासको प्रमाणपत्र नलिएको र भविष्यमा नेपाल फर्किन्छ भन्ने सुनिश्चितता भएकाका बारेमा सोच्नु त सरकारको दायित्व हो तर अब कुनै हालतमा पनि नेपाली हुँदैन भन्नेहरूमा बढी चिन्ता गरेको पाइन्छ ।
नगरुन् पनि किन ? जतिले देशको राजनीतिक नेतृत्व गरेका छन्, ती सबैका भने पनि हुन्छ, छोराछोरी बाहिरै छन् । जति प्रशासनिक नेतृत्वमा छन्, तिनका पनि सन्तति अमेरिका, बेलायत या युरोपतिरै छन् । व्यापार व्यवसायबाट हजारभन्दा माथिको कमाई गर्नेका बालबच्चाहरू पनि उतै छन् । कतिपय सरकारी जागिरेहरू त नेपालमा जागिर खाँदाखाँदै उतैको ग्रीनकार्ड लिइसकेका समाचारहरू पनि आइरहन्छन् । पेन्सन पाकेकाहरू बेलाबेलामा छोराछोरी भेट्न भन्दै उतैतिर गएको सबैले देख्दै आएका छौं । तेलभिसामा जानेहरूको त कुरै गर्नु परेन ।
अहिले कतिपय स्थानीय तहका सरकारहरूले सो तहमा काम गर्ने कर्मचारीहरूले सामुदायिक विद्यालयमा आफ्ना नानीहरूलाई पढाउनै पर्ने नियम बनाएका छन् । यस्तै कामहरूको सुरुवात अब प्रदेश सरकारहरू र संघीय सरकारले पनि गर्नुपर्दछ । जसका छोराछोरी नेपालमै छन् या विदेशको स्थायी बासिन्दा भएका छैनन्, तिनले मात्रै नेपालको राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व गर्न पाउने व्यवस्था हुनुपर्दछ न कि अमेरिका या बेलायतको नागरिकता लिएर नेपालको राजनीतिलाई प्रभाव पार्नेहरूका मातापिताका हातमा सत्ता ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच