काठमाडौं । नेपाल सरकारले अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक निजी साझेदारी पिपिपी मोडलमा सञ्चालन गर्ने सम्बन्धमा एक अध्ययन समिति गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पेस गरेको अध्ययन समिति गठन गर्ने प्रस्तावलाई स्वीकृति दिएको हो । पूर्वसचिव शंकरप्रसाद अधिकारीको संयोजकत्वको समितिमा लगानी विज्ञ घनश्याम ओझा, मन्त्रालयका हवाई महाशाखा प्रमुख बुद्धिसागर लामिछाने, लगानीबोर्डका सहसचिव र नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक दीपेन्द्र श्रेष्ठ सदस्य सचिव रहनेगरी पाँच सदस्यीय समिति गठन गरेको हो ।
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरास्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा र पिपिपी मोडलमा सञ्चालन गर्ने विषयमा अध्ययन गर्न समिति गठन गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार नेपाल वायुसेवा निगमको करार व्यवस्थापनका लागि पनि समिति गठन गरिएको छ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा, व्यवस्थापन विज्ञ टीकाराम राई, पर्यटन विभागका महानिर्देशक, अर्थ मन्त्रालयको प्रतिनिधि र वायुसेवा निगम अर्थ विभाग प्रमुख सदस्य रहनेगरी पाँच जनाको समिति तयार गरिएको छ । सो समितिलाई ४५ दिनको समय अवधि दिइएको छ ।
यससँगै चितवनस्थित भरतपुर विमानस्थल विस्तारका लागि नेपाली सेनाले तत्काल जग्गा उपलब्ध गराउनुपर्ने र भत्किएको संरचना नागरिक उड्डयन प्राधिकरणले निर्माण गर्ने, घोडाको ब्रिडिङ सेन्टरका लागि नेपाली सेनालाई शक्तिखोरमा जग्गा उपलब्ध गराउने र खर्च हुने सम्भावित रकम सरकारले बेहोर्ने पनि निर्णय गरेको छ ।
यस्तै, सरकारले सुरक्षित कारोबार ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्ने स्वीकृति दिने निर्णय गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बैठकका निर्णयको जानकारी दिँदै नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको सदस्यमा दुई जनालाई मनोनयन गरेको बताउनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको सदस्य पदमा सिन्धुपाल्चोक निवासी लेखनाथ लामा र काठमाडौं निवासी डा.सहारा श्रेष्ठलाई मनोनयन गर्ने निर्णय बैठकले गरेको मन्त्री शर्माले जानकारी दिनुभयो ।
सरकारले राष्ट्रिय योजना आयोगको रिक्त सदस्यमा रौतहटका उमाशंकर प्रसादलाई नियुक्त गरेको छ । प्रवक्ता शर्माका अनुसार नेपाल वायुसेवा निगमको उपाध्यक्षमा सञ्चालक समिति सदस्य विक्रम राईलाई नियुक्त गरिएको छ । त्यस्तै, सरकारले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको अध्यक्षतामा निजी क्षेत्र समेतको प्रतिनिधित्व हुनेगरी राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने पनि निर्णय गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच