दश वर्षपछि दुधौलीले विकास निर्माणमा गति लिएको प्रत्यक्ष देखेँ : प्रधानमन्त्री

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 3 mins

सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिन्धुलीको दुधौली नगरपालिकाले विकासको गति लिएको बताउनु भएको छ ।

शनिबार दुनपा–५ सिर्थौलीमा नवनिर्मित दुधौली नगर अस्पताल समुद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले उक्त कुरा बताउनु भएको हो ।
‘दश वर्षपछि दुधौलीमा विकास निर्माणले गति लिएको प्रत्यक्ष देखेँ,’ उहाँले भन्नुभयो । निर्वाचनको सन्दर्भ पारेर २०७० सालमा आउँदाभन्दा अहिले दुधौलीबासीको चेतना तथा जीवनस्तरसमेत उकासिएको पाएको उहाँले बताउनुभयो ।

१६ करोडको लागतमा निर्माण भएको १५ शय्याको नगर अस्पताल उद्घाटन हुनुले यहाँको विकासमा थप सहयोग पुगेको उहाँको भनाइ थियो ।
अवलोकन गर्दा अस्पताल भवन रित्तो पाएकोले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक उपकरण, प्रविधि, दक्ष जनशक्ति र कर्मचारी व्यवस्थापनका लागि काठमाडौ फर्केपछि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यस क्षेत्रमा विषालु सर्पको टोकाइबाट धेरैको ज्यान जाने गरेकाले सर्पदंश उपचार केन्द्र स्थापना तथा सञ्चालन गर्ने व्यवस्था मिलाइने उहाँले आश्वासन दिनुभयो । दुधौलीसहित देशको समग्र विकासको लागि वर्तमान सरकारले नेपाल र नेपालीको पक्षमा काम गरिरहेको भन्दै आश्वस्त पार्नुभयो ।
देशमा रोजगारी सिर्जना गर्न बन्द अवस्थामा रहेका उद्योगहरु पुर्न सञ्चालन, नयाँ उद्योगहरु स्थापनाको प्रयास भइरहेको साथै सरकारले कृषि, स्वास्थ्य, सुशासन र शिक्षालाई विशेष प्राथमिकता दिएर काम गरिरहेको उहाँले बताउनुभयो ।

पछिल्लो समय अर्थतन्त्रका सूचक उत्साहजनक रहेको उहाँको धारणा थियो । उहाँले भन्नुभयो, ‘रेमिट्यान्स, राजश्वमासमेत वृद्धि भएको छ । रेमिट्यान्स बढेकोमा खुशी छैन । तर, पर्यटकको उत्साहजनक उपस्थितिले अर्थतन्त्र सुधारमा सहयोग पुगेको छ ।’

दुधौली नगरपालिकाका प्रमुख दिनेश कुमार अधिकारी (दनुवार) को अध्यक्षतामा सञ्चालन भएको दुधौली नगर अस्पताल समुद्घाटन समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, प्रतिनिधि सभा सदस्यहरु, प्रदेश सभाका सदस्यहरु लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?