
कैलाली । कैलालीको गोदावरीमा नदीजन्य पदार्थको अबैध उत्खननमा प्रयोग भएका गाडी जरिवाना गरेर छाड्ने निर्णय भएको छ । जिल्ला समन्वय समिति कैलालीकाअनुसार नदीजन्य पदार्थ अबैधरुपमा उत्खननमा प्रयोग भएका गाडी जरिवाना तोकेर छाड्ने निर्णय भएको हो । प्रति सवारी तीन हजारदेखि ५० हजारसम्म जरिवाना भराउने गरि गाडी छोड्ने निर्णय भएको जिल्ला समन्वय समिति कैलालीका कार्यवाहक प्रमुख खगराज भुसालले बताउनुभयो । आइतबार जिल्ला स्तरीय अनुगमन समितिको टोलीले गोदावरी, खुटिया र खैराना नदीबाट १९ वटा ढुवानीका साधन नियन्त्रणमा लिएको थियो ।
नदीजन्य पदार्थको अवैध उत्खनन भइरहेको विषय सार्वजनिक भएपछि उक्त टोली तीनवटै नदीको अनुगमन गरेको थियो । जिल्ला समन्वय समितिका प्रमुखको नेतृत्वमा रहने समितिमा प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, वन र आन्तरिक राजस्वका प्रमुख सदस्य रहने प्रावधान छ । समितिका संयोजक तथा जिल्ला समन्वय समिति कैलालीका कार्यबाहक प्रमुखको अध्यक्षतामा बसेको बैठकपछि नदीको अनुगमन गरिएको थियो ।
तीनवटै नदीबाट १० वटा टिपर, ३ वटा स्काभेटर, ३ वटा जेसीबी र ३ वटा ट्याक्टर प्रहरीले कब्जामा लिएको थियो । कब्जामा लिएका १९ वटै ढूवानीका साधन जरिबाना गरेर छोड्ने सहमति भएको हो । तीनवटा स्काभेटरलाई एक लाख ५० हजार, ३ वटा जेसीबीलाई ९० हजार, तीनवटा टिपरलाई ९० हजार र तीनवटा ट्याक्टरलाई ९ हजार पहिलोपटकका लागि जरिवाना गरेर छोड्ने निर्णय भएको जिल्ला समन्वय समिति कैलालीले बताएको छ ।
साथै ती ढूवानीका साधन सञ्चालकले नदीमा पारिएको खाल्डो पुरेर बराबर गर्नुपर्ने पनि सहमति भएको छ । खोलामा स्काभेटर र जेसीबीको प्रयोग गर्न नपाइने व्यवस्था छ । ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ को दफा ४ अनुसार ‘नदीजन्य पदार्थको उत्खनन गर्दा सामान्यतया श्रममूलक प्रविधिको प्रयोग गर्नुपर्ने उल्लेख छ । मेसिनको प्रयोग गर्नुपर्ने भए वातावरणीय अध्ययन प्रतिवेदनमा उल्लेखित सर्त र सीमाभित्र रही गर्नुपर्ने उल्लेख छ ।
वातावरण प्रभाव मूल्यांकनमा ती नदीका सात ठाउँबाट नदीजन्य पदार्थ संकलनको अनुमति दिइएको छ । दुई ठाउँबाट ढुंगा मात्र र अन्य स्थानबाट बालुवा, गिट्टी र भरान संकलन गर्न पाइने भनिएको छ । वडा नम्बर २ र ३ मा पर्ने नदीबाट ५१ घनमिटर र तेघरी र खमौराको बीचमा पर्ने गोदावरी नदीबाट २५ हजार ४ सय ४० घनमिटर ढुंगा निकाल्न पाइने उल्लेख छ ।
दुवै स्थानमा नदीजन्य पदार्थ उत्खनन गर्दा शून्य दशमलव ८ मिटरभन्दा गहिरो खाल्टो बनाउन नपाउने उल्लेख छ । अरू पाँच स्थानमा पनि शून्य दशमलव ९९ मिटरभन्दा गहिरो जान नपाउने उल्लेख छ । सबै मिलाएर गोदावरी नदीबाट मात्रै २ लाख घनमिटर नदीजन्य पदार्थ निकाल्न पाउने उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच