काठमाडौं । मिडियाहरूलाई व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । शुक्रबार प्रेस काउन्सिल नेपालको आयोजनामा युट्युबसहित सामाजिक सञ्जालको मिडियामा प्रभाव विषयक सम्पादक संवादमा बोल्दै सरोकारवालाहरूले मिडियाहरूलाई व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन् । उनीहरूले मिडियाहरू आर्थिकरूपमा संकटपूर्ण रहेको उल्लेख गर्दै यसलाई संकटबाट जोगाउनुपर्ने बताएका छन् ।
कार्यक्रममा बोल्दै विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले मिडियाका सामग्रीहरू निःशुल्करूपमा दिनाले मिडियाहरू आर्थिक संकटमा फसेका भन्दै मिडियाले सशुल्कमात्रै सामग्री दिनुपर्ने बताउनुभयो । विश्वमा कतिपय ठाउँमा राज्यले सञ्चालन गरेका मिडियासमेत सशुल्क हुने गरेको भन्दै निजी क्षेत्रले व्यावसायिकरूपमा सञ्चालन गरेका मिडियाहरू झनै निःशुल्क हुनुनहुने बताउनुभयो । उहाँले बोर्डले सामाजिक सञ्जालमा बाहिर जाने विज्ञापनको पैसा रोकिदिइरहेको पनि जानकारी दिनुभयो । कानुन नबनीकन सो पैसा बाहिर जान नदिने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘राज्यले सञ्चालन गरेका मिडियाको त कन्टेन्टको पे गर्नुपर्छ भने हामी निजी क्षेत्र जसले व्यवसायका लागि मिडिया खोलेका छौँ, सेवाको पैसा नतिरिकन निःशुल्क पाउने भन्ने जुन अवधारणा हामीले विकास ग¥यौँ । त्यसको भड्खालोतिर अहिले हामी परिराखेको जस्तो लाग्छ । सित्तैमा हामीले समाचार कन्टेन्ट दिने प्रवृत्तिको कारणले गर्दा आज हामी यो अवस्थामा पुग्यौँ । सबै मिडिया हाउसका र पत्रकारिताका साथीहरूलाई मेरो अनुरोध के भने हाम्रा कुनै पनि कन्टेन्ट फ्रि कन्टेन्ट होइनन् । चाहे नेपाल टेलिभिजनको होस् वा चाहे रेडियो नेपालको । राज्यका कन्टेन्ट त फ्रि हुँदैनन् भने कसरी हाम्रा व्यावसायिक पत्रकारिताका कन्टेन्टहरू हामीले फ्रि दिन थाल्यौँ । यो नै हाम्रो विडम्बनाको विषय हो ।’
पत्रकार किशोर नेपालले मिडियाहरू सरकारले नियन्त्रण गर्ने खालको कानुन ल्याउँदा पनि प्रतिरोध गर्न नसक्ने अवस्थामा रहेका बताउनुभयो । उहाँले देशका सबै संयन्त्रहरूलाई माफियाहरूले कब्जामा लिइसकेका भन्दै यसका विरुद्धमा पत्रकारिताले बोल्नुपर्ने बताउनुभयो । पत्रकार प्रतीक प्रधानले नयाँ प्लेटफर्म युट्युबबाट पत्रकारिता गर्न चाहनेहरूलाई पनि सम्बोधन गर्नुपर्ने बताउनुभयो । उहाँले पत्रकारितालाई स्वस्थ ढंगको विज्ञापनका माध्यमबाट चलाउनका लागि सरकारले सोच्नुपर्ने बताउनुभयो । उहाँले मिडियालाई व्यावसायिक बनाउनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै, नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष बद्री सिग्देलले नयाँ, पुराना सबै मिडियाहरू फस्टाउन पाउनुपर्ने बताउनुभयो । उहाँले सामाजिक सञ्जाल नयाँ मिडिया भएको उल्लेख गर्दै यसलाई व्यवस्थित र नियमन गर्दै जानुपर्नेमा जोड दिनुभयो । उहाँले कुनै पनि मिडियालाई कसैले पनि नियन्त्रण गर्नुनहुने बताउनुभयो । मिडियालाई कसैले प्रतिबन्ध लगाउनुनहुने पनि उहाँको भनाइ छ । यस्तै, सहभागी पत्रकारहरूले मिडिया सञ्चालन गर्न मिडियालाई कसरी व्यावसायिक बनाउने भन्ने कुरा नसोच्ने हो भने सम्पूर्ण पेशा नै संकटमा पर्ने भन्दै सबै मिलेर जानुपर्ने धारणा राखेका थिए । यस्तै उनीहरूले समाजिक सञ्जाल बन्द गर्नु भन्दा पनि सरकारले नियमन गरेर चलाउनुपर्ने धारणा राखेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच