दल दण्डित-स्वतन्त्र पुरस्कृत !

Read Time = 17 mins

✍️ देवीभक्त ढकाल
नेपालका दलहरूले पूरै नेपाली समाज र देशलाई नै दलीयकरण गरेर दलको साम्राज्य बनाएको अवस्थामा स्वतन्त्र उम्मेदवारहरू कसरी विजयी भए ? दलहरूले यसको अनुसन्धान गर्लान् । काठमाडौं महानगरको मेयर जस्तो महत्वपूर्ण पद राजनीतिमा नितान्त नौलो, उमेरले कच्चो, सम्बन्धित क्षेत्रको अनुभवशून्य र मतदाताले चिन्दै नचिनेको व्यक्तिले अत्यन्तै फराकिलो मतले विजयी हुने घटना दलहरूका लागि सामान्य होइन । यो जितले दलहरूलाई दीर्घकालीन नकारात्मक प्रभाव पार्छ भन्ने कुरा दुवै पराजित ठूला भनिने दलहरूले समयमै किन बुझेनन् ?

दलहरूले स्वतन्त्र उम्मेदवारलाई हस्तक्षेप नगर्ने नीति हो भने प्रशंसा गर्नुपर्छ । यो विषय दलहरूको व्यवहारले पुष्टि गर्नुपर्छ । दलहरूको भविष्यलाई सुनिस्चित गर्न दलहरूले स्वतन्त्रलाई कार्यक्षेत्रमा असफल बनाउन सक्रिय हुन्छन् । यसमा दुविधा छैन् । स्वतन्त्र नागरिक समाजको बिउ नै मास्न सफल दलहरूका लागि बालेन साहको विजय उनीहरूको असफलताको प्रमाणपत्र हो । किन भयो दल दण्डित र स्वतन्त्र पुरस्कृत ?

आमजनतालाई दलहरूले आआफ्नो पार्टीमा आबद्ध गरेर स्वतन्त्र पहिचानलाई नै चुनौती दिएको परिस्थितिमा स्वतन्त्र उम्मेदवारले दलका उम्मेदवारलाई पराजित गर्छन् भन्ने विश्वासै दलका नेताहरूलाई भएन । स्वतन्त्रले दलहरूलाई हराउँछन् भन्ने सुइँकोसम्म दलहरूले पाएका भए गठबन्धन गरेर पनि स्वतन्त्र उम्मेदवारलाई पराजित गर्ने रणनीति अख्तियार पक्कै गर्थे । जस्तो भरतपुरमा दलहरूले जगन्नाथ पौडेललाई पराजित गर्न साम, दाम, दण्ड, भेद सबै प्रयोग गरे । निर्वाचन स्वतन्त्रले जित्छन् भन्ने सुइँको नै दलहरूले नपाउँदा केही उम्मेदवार झुक्किएर विजयी भए । यो आश्चर्यजनक परिघटनाको, कमजोरीहरूको, पराजयको दलहरूले गम्भीर अध्ययन, समीक्षा, मूल्याङ्कन र सिंहावलोकन गर्ने नै छन् ।

दलहरूका लागि स्वतन्त्र उम्मेदवारको विजय ‘बुढी मर्नुभन्दा काल पल्कने’ जस्तै खतरनाक घटना हो । समयले दलहरूलाई आफ्नो निर्णयशैली, कार्यशैली र जीवनशैलीमा पुनरावलोकन गर्न पक्कै दबाब दियो । कांग्रेस र कम्युनिष्ट जस्ता ठूला दलहरू काठमाडौंको मेयरमा पराजित हुने र स्वतन्त्रले यति फराकिलो मतले जित्ने कल्पनासम्म नगरेको विषयले दलीय तानाशाहहरूलाई औडाहा हुनुपर्छ ।

स्वतन्त्रहरूको जित अकल्पनीय विषय कसरी सम्भव भयो ? यो दलहरूका लागि आश्चर्य र लज्जा दुवै हो । नेपालको दलीय निर्वाचनको इतिहासमा यसलाई स्वतन्त्र उम्मेदवारको चमत्कारी उपलब्धि भन्नुपर्छ ।

अहिले केही स्थानीय निकायमा निर्वाचित बालेन, हर्क र गोपी हमालहरूको जित स्वाभाविक होइन । उनीहरूलाई प्राप्त मत पनि लोकप्रिय होइन । उनीहरू लोकप्रिय उम्मेदवार पनि होइनन् । उनीहरू नगरभित्रका सर्वाधिक योग्य गनिने व्यक्तिमध्येका उम्मेदवार पनि होइनन् । अझ बालेन त काठमाडौंका मतदाताले यसअघि चिनेजानेका उम्मेदवार पनि होइनन् । नेवार बाहुल्य क्षेत्रमा एकजना मधेसीले मेयरमा निर्वाचन जित्छ भन्ने विश्वास त के दलहरूमा आशंका थिएन । मतगणना गर्दै गर्दा बालेनको मतको अग्राधिकारलाई समेत दलहरूले स्वीकार गरेकै थिएनन् ।

उनीहरूले धन, गुण्डा परिचालन गरेर र मासुभात खुवाएर जनमतलाई प्रभावित पारे भन्ने आरोप पनि कतै अहिलेसम्म सुनिएन । अझ बालेनले त चारलाखभित्र निर्वाचन खर्च सार्वजनिक गरेर करोडौं खर्च गरेर पनि निर्वाचन हार्ने दलका उम्मेदवारलाई चकित र लज्जित बनाए । स्वतन्त्रहरूको विजयको एकमात्र कारण भनेको पार्टीहरूका उम्मेदवारप्रति जनताको चरम असन्तुष्टिको प्रतिफल हो । जनताका लागि पार्टीहरूका उम्मेदवार अपत्यारिला र अयोग्य हुँदा जनताले उनीहरूलाई पराजित गरेर दललाई खबरदारी गर्ने क्रममा यिनीहरू विजयी भएका हुन् ।

नेतृत्वको जंगबहादुर शैलीलाई चुनौती दिन स्वतन्त्र उम्मेदवारलाई मतदान गर्न जनता बाध्य भए । जनताको उद्देश्य स्वतन्त्रलाई जिताउने होइन । जनताको उद्देश्य पार्टीका उम्मेदवारलाई हराउनु थियोे । त्यसैले पार्टीका उम्मेदवार हारे । दलहरूलाई जनताले दण्डित गर्ने क्रममा स्वतन्त्रहरू स्वतः पुरस्कृत भए । यसपटकको पराजयलाई दलहरूले गम्भीरतापूर्वक समीक्षा, मूल्यांकन गर्नेछन् । यो जनताको दलहरूलाई सच्चिने निर्देशन हो । दलहरूको हारपछि कुनै न कुनैले जित्ने हाम्रो निर्वाचन पद्धतिको कमजोरीको प्रतिफल हो स्वतन्त्रहरूको जित न कि लोकप्रियता ।

यो वास्तविकतालाई स्वतन्त्रले भुल्नु हुँदैन । उदाहरणका लागि गोपी हमाल जनताका प्रिय थिए वा लोकप्रिय हुन्थे भने उनले अघिल्लो निर्वाचनमा किन पराजित भए ? पाँच वर्षमा लोकप्रिय बन्ने कामा के गरेका थिए र उनले निर्वाचन जिते ? दलबाट जितेका अघिल्ला मेयरहरूको गलत कार्यशैली र दलका नेताहरूको टिकट वितरणप्रतिको असन्तुष्टिको लाभ प्राप्त भएको विषयलाई स्वतन्त्र उम्मेदवारले आफ्नो लोकप्रियता भन्ने बुझे भने त्यो उनीहरूको अपरिपक्वता हो ।

अहिले दलहरूसँग जनतामा असन्तुष्टि चुलिएका कारण जनताले दलहरूलाई दण्डित गर्ने क्रममा स्वतन्त्र पुरस्कृत भए न कि विजयी । दलहरूले नातेदारलाई, पैसा र अपवित्र गठबन्धन गरेर टिकट दिने क्रम बढेका कारण जनताले दलको निर्णयलाई राम्रैसँग अवज्ञा गरे ।

दलहरूलाई जनताले निषेध गर्दा केही महत्वपूर्ण स्थानहरूमा स्वतन्त्र उम्मेदवार लाभान्वित भएका हुन् । यसलाई स्वतन्त्र उम्मेदवारको युगको प्रारम्भ भयो भन्ने बुझाइ भयो भने परिस्थितिको गलत र अपरिपक्व व्याख्या हुनसक्छ । यो घटनाले आगामी प्रदेश र संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार हुन् हौसिने रवि लामिछानेले परिस्थितिलाई कतै नजरअन्दाज गर्दै त छैनन् भन्ने प्रश्न गर्ने ठाउँ सुरक्षित छ ।
पार्टीहरूका उम्मेदवारबाहेक स्वतन्त्र व्यक्तिले निर्वाचन जित्दैनन् भन्ने विषयमा दल ढुक्क थिए । यदि स्वतन्त्रले निर्वाचन जित्छन् भन्ने थोरै अड्कलमात्रै भएको भए दलहरूले तालमेलको सूत्र प्रयोग गरेर पनि हराउँथे । स्वतन्त्रहरूको जितबाट ठूला दलहरूले आफ्नो भाग खोसिएको अनुभव गरेका छन् । त्यसैले दलको बिगबिगी भएका महानगर र नगरपालिकामा विजयी स्वतन्त्रलाई कार्य सम्पादन गरेर टिक्ने विषय फलामको चिउरा चपाउनु जस्तै कठिन हुन्छ ।

स्वतन्त्रहरू निर्वाचन जित्न सजिलोका लागि मात्रै स्वतन्त्र हुन् कि बागी हुन त्यो परीक्षणको घेरामा यी स्वतन्त्र उम्मेदवार छन् । समयक्रममा स्वतन्त्र रहँदा कामै गर्न नसक्ने अवस्थामा उनीहरू कुनै न कुनै पार्टीसँग जोडिए भने नेपालमा स्वतन्त्र उम्मेदवार हुने विचारको नै हत्या हुन्छ । अहिले जनअसन्तुष्टि रूपी चिठ्ठा पर्नेहरू बालेन, हर्क र गोपी हमाललगायत देशभर धेरै छन् । जनताले पार्टीका नेताहरूको दलीय तानाशाही, भ्रष्टाचार र कुशासन अब चल्दैन भन्ने खबरदारी दिने क्रममा भएको विजयलाई यदि यिनीहरूले आफ्नो विजय भन्ने ठानेका छन् भने यो उनीहरूको ठूलो भुल हुनेछ । स्वतन्त्रको विजयको एकमात्र कारण असन्तुष्ट मतको चिठ्ठा हो ।

स्वतन्त्रले जसरी असन्तुष्ट मत पाउने अवसर पाए यदि उनीहरूले अलिकति पनि राम्रो काम गर्न सकेनन् या अधिकारको दुरुपयोग गरेको सुइँको मतदाताले पाउने बित्तिकै तिनीहरूको असन्तुष्टिमा पार्टीहरूको जबर्जस्त असन्तुष्टि खनिन्छ । यिनीहरू जसरी अकस्मात आए त्यस्तै अकस्मात पदबाट मुक्त हुने विषय कुनै अनौठो हुनेछैन । स्वतन्त्रहरूले निर्वाचन जितेको दम्भ, घमण्डभन्दा यो चिठ्ठामा प्राप्त मतलाई सम्मन गर्न घोषणापत्रका पूर्व प्रतिबद्धतालाई पूरा गर्ने विषयवस्तुमा अहोरात्र खट्नुपर्छ ।

यो कार्यकालपछि हुने निर्वाचनमा फेरि उनीहरू उम्मेदवार हुने हिम्मत गर्न सके र उनीहरूले त्यो निर्वाचन जिते भनेमात्र त्यो जितले लोकप्रिय भएको प्रमाणित गर्नेछ । अहिले विजयी स्वतन्त्रहरूको योग्यताको, इमानदारीको निगरानी, परीक्षण जनताले पाँच वर्ष गर्नेछन् ।

पाँच वर्षे परीक्षणकालमा उनीहरूले आफूलाई योग्य प्रमाणित गर्न सक्छन् कि सक्दैनन् त्यो समयक्रममा खुल्ने नै छ । अब आउने निर्वाचनमा निर्वाचन जित्ने योग्यता बनाए भनेमात्रै उनीहरू जनप्रतिनिधि ठहरिने छन् । अहिले उनीहरू जनप्रतिनिधि होइनन्, असन्तुष्ट मतका प्रतिनिधि पात्र हुन् ।

स्वतन्त्र उम्मेदवारको नाटकीय विजय, राजनीतिक पार्टीका नेताहरूमा विकसित विकृति, भ्रष्टाचार, अनैतिकता र कुशासनको परिणाम हो । एक्लो व्यक्तिको एजेण्डाले काठमाडौं जस्तो महानगरको मेयर जित्ने विषय दलहरूका लागि अविश्वसनीय भएकोले दलहरूले षड्यन्त्र गर्न भ्याएनन् र बालेन साह दलीय षड्यन्त्रको सिकार हुनबाट उम्किएका हुन् अन्यथा उनी दलहरूको षड्यन्त्रको सिकार हुन्थे हुन्थे । विकासको विषयमा सत्तामा हुने र प्रतिपक्षमा हुने कांग्रेस र कम्युनिष्ट नेताहरूबीच साझा धारणा नै बन्दैन । एउटा दलको विकासको योजनासँग अन्य दलहरू सकारात्मक कहिल्यै बन्दैनन् । कांग्रेसले २०५१ मा मध्यावधि निर्वाचन नगरेको भए, अरुण जलविद्युत्मा त्यसबखत एमाले सकारात्मक भएको भए देशको यस्तो दुर्गति हुँदैनथ्यो । एमालेले अरुण तुहाउँदा सम्पूर्ण नेपालीको भाग्य तुहायो तैपनि पश्चाताप गर्दैन ।

हाम्रा दलहरूको भूमिका करिब–करिब बाँदरको चरित्रसँग मेल खान्छ । बाँदरको प्रकृति के हुन्छ भने आफू बनाउँदैन र अर्काले बनाएको पनि देखिसहँदैन । कांग्रेस र कम्युनिष्टका जिम्मेवारको बाँदरे चरित्रले नै नेपाली जनता ठगिएका छन् । एउटाले राम्रो कामको योजना ल्यायो भने अर्को छट्पटिन्छ । किनकि उसको नेतृत्वमा विकास भयो भने हाम्रो पार्टी पछि पर्छ भनेर एकले अर्काका राम्रा योजनालाई तुहाउने प्रतिस्पर्धा निरन्तर चल्दैछ ।

एक अर्कोले सुरुवात गर्ने विकासलाई दुवै पक्षले तुहाउने गर्दा गर्दै खाद्यान्नमा आत्मनिर्भरमात्रै होइन निकासी गर्ने देश अहिले खर्बौंको खाद्यान्न आयात गर्ने बन्यो । व्यापार घाटाले अर्थतन्त्र कोमामा छ । यस्ता दलहरूको नेतृत्वमा विकास अघि बढ्छ भन्ने भ्रमबाट जनता मुक्त हुँदा हुन्छ । विकासमा विरोध र मत भिन्नताले गर्दा सबै क्षेत्रमा नकारात्मक पक्ष सक्रिय हुँदा अर्थतन्त्रका सबै सूचकांकहरू नकारात्मक छन् । राष्ट्र बैंकको गभर्नरले नै देश श्रीलंकाको अवस्थामा पुग्दैछ भनेपछि देशको हालत कति भयावह होला ?

पार्टीहरूप्रतिको जनआक्रोशका कारण पदासीन हुने मेयरलाई कांग्रेस र कम्युनिष्टको बहुमत भएको कार्यकारिणीबाट काम सम्पन्न गर्ने विषय अत्यन्तै कठिनमात्रै होइन असम्भव नै हुनसक्छ । एकातिर नटाँसिदासम्म टिक्न असम्भव बनाएर पनि स्वतन्त्र उम्मेदवारले काम गर्न सक्दैनन् भन्ने नजिर स्थापना गर्न दलहरू कस्सिन्छन् । कांग्रेस र कम्युनिष्ट सके एक्लाएक्लै नसके संयुक्त भएर पनि अहिलेका बालेन, हर्क र गोपीलाई असफल बनाउने अभियानमा जुट्छन् । कतै असफल बनाउने त होइनन् ?

दलका नेताहरूसँग परिस्थितिलाई सकारात्मक बनाउने चिन्तन र ढंग छैन । तर, नकारात्मक बनाउने विशिष्ट क्षमता र ज्ञान छ । त्यो क्षमता र ज्ञानलाई उनीहरूले स्वतन्त्रलाई अवरोध उत्पन्न गर्न र असफल बनाउन उच्चतम प्रयोग गर्नेछन् । स्वतन्त्रसँग दुई विकल्प छन् । पदमा टिक्न दुईमध्ये एकसँग जोडिनु वा असफल हुनु । दुई विकल्पवाहेक तेस्रो विकल्प नगरवासीले अनुभव गर्न पाउनुपर्छ । तर, त्यो सम्भावना अत्यन्तै झिनो छ । भन्नुहोस् दलीय शासन वरदान कि अभिशाप ? हामी सबैले आत्म समीक्षा गरौं ।

Subscribe
Notify of
guest
2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
devibhakta dhakal
devibhakta dhakal
2022-06-28 9:15 am

हिमालय टाइम्स दैनिक पत्रिकालाई धन्यवाद ।

maya sharma
maya sharma
2022-06-28 10:52 am

दलका नेताहरुको चरित्र नै दण्डित गर्नुपर्ने भएको ले जनताले दण्डित गरेर सुध्रन दिएको चेतावनी हो।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?