
काठमाडौं । रुसी सेनामा कार्यरत नेपाली युवाहरूलाई स्वदेश फर्काउनको लागि सरकार प्रभावकारी कूटनीतिक पहल गर्न असफल भएको छ । रुसी सेनामा कार्यरत नेपालीका आफन्तहरूले स्वदेश फिर्तीका लागि सरकारलाई निरन्तर दबाब दिइरहेका छन् । केही दिनयता रुसी सेनामा कार्यरत परिवारका सदस्यहरूले संगठित भएर स्वदेश फिर्ताको पहलको लागि सरकारलाई दबाब दिन अभियान नै सञ्चालन गरेका छन् । अभियानमार्फत उनीहरूले राजनीतिक दलका शीर्ष नेताहरूलाई दबाब दिइरहेका छन् । तर, रुसी सेनामा दैनिक नेपालीहरू भर्ना हुनेक्रम र सम्पर्कविहीन हुनेको संख्या बढिरहँदा सरकार मूकदर्शक जस्तै बनेको छ । सरकारले आफ्नो तर्फबाट नेपालीहरूलाई रुसी सेनामा भर्ना नगर्न पटक-पटक पत्राचार पनि गर्यो । तर, रुसले न कूटनीतिक नोटको जवाफ पठायो, न भर्ना गर्न नै छाड्यो । एकपछि अर्को घटनाका शृंखला दोहोरिइरहेका छन् । सरकारले रुससँग समन्वय गर्न नसक्दा आफ्नो मुलुकका मृतक नागरिकको लाशसमेत ल्याउन सकेको छैन ।
पछिल्लो समय परराष्ट्रमन्त्री एनपी साउदले रुस भ्रमणका लागि आग्रह गर्दासमेत उहाँले रुस भ्रमणको अनुमति पाउन सक्नुभएको छैन । युगाण्डाको राजधानी कम्पालामा माघ पहिलो साता भएको असंलग्न आन्दोलन अभियानको १९औँ शिखर सम्मेलनका क्रममा परराष्ट्रमन्त्री साउदले रुसी उपविदेशमन्त्री सर्गेई वसिलिइविचसँग भेटवार्ता गर्नुभएको थियो । भेटमा रुसी उपविदेशमन्त्रीलाई साउदले नेपाली नागरिकलाई गैरकानुनी रूपमा भर्ना नगर्न र भर्ना भएका सम्पूर्णलाई नेपाल फर्काइदिन आग्रह गर्नुभएको थियो । साथै, उहाँले आफूलाई मस्को भ्रमणको बाटो खोलिदिन पनि आग्रह गर्नुभएको थियो । तर, रुसले साउदले गरेको प्रस्ताव मानेन न नेपालीलाई भर्ना गर्न नै छाड्यो । नेपालमा उपस्थित कूटनीतिक च्यानलमार्फत रुस भ्रमण गर्ने उहाँको प्रस्तावसमेत सफल भएको छैन ।
हमास विद्रोहीले गत २० असोजमा इजरायलमा आक्रमण गर्दा नेपालका १० युवाको मृत्यु भएको थियो । त्यसपछि द्वन्द्वग्रस्त मुलुकमा नेपालीलाई लिन हवाईजहाज चार्टर्ड गरेर आफैँ जानुभएका परराष्ट्रमन्त्री साउदले प्रशंसा पनि बटुल्न सफल हुनुभएको थियो । त्यस्तै, रुसी सेनामा भर्ती भएका नेपालीहरूलाई फिर्ता गर्न सक्छन् भन्ने अपेक्षा आफन्तले राखेका भए पनि परराष्ट्रमन्त्री साउद आफैँ के गर्ने भन्ने अन्योलमा रहनुभएको छ ।
सरकारले पटक-पटक रुसलाई पत्राचार गरेर नेपालीलाई रुसी सेनामा भर्ना नगर्न आग्रह गरे पनि दैनिकजसो नेपाली सम्पर्कविहीन भएका खबर आइरहेका छन् । तर, सरकारले भने अहिलेसम्म स्वदेश फर्काउने प्रभावकारी कदम चाल्न त परै जाओस् रुसी सेनामा कार्यरत नेपालीहरूको संख्यासम्म यकिन गर्न सकेको छैन । मृतकको शवसमेत नेपाल ल्याउने वातावरण मिलाउन सकेको छैन । पछिल्लो समय रुसी सेनामा भर्ना भएका नेपाली नागरिकको मृत्यु र घाइते भएको सूचना सार्वजनिक हुन थालेपछि आफन्तले उद्धारका लागि आग्रह गर्दै आएका छन् । परराष्ट्र मन्त्रालयको पछिल्लो जानकारीअनुसार रुसी सेनामा भर्ना भएकामध्ये हालसम्म १२ नेपालीको मृत्यु भएको छ भने पाँचजना युक्रेनी सेनाको कब्जामा रहेका छन् ।
मन्त्रालयले हालसम्म गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रुपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोका, इलामका गंगाराज मोक्तान, कुन्दन सिंह नागल, स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरबहादुर शाह र धादिङका राजकुमार गिरीको रुसी सेनामा कार्यरत रहँदा निधन भएको जानकारी प्राप्त भएको जनाएको छ । यसैगरी, रुस सरकारबाट आधिकारिक जानकारी प्राप्त नभए पनि पछिल्लो समय थप दुई नेपालीको मृत्यु भएको सम्बन्धमा परिवारजनले मन्त्रालयमा जानकारी गराएका छन् । त्यस्तै, रुसी सेनामा कार्यरत अवस्थामा बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोकका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतीक पुनलाई युक्रेनी सेनाले बन्दी बनाएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । रुसी सेनामा कार्यरत थप एक नेपाली नागरिक युक्रेनी सेनाको कब्जामा परेको सूचना आएको मन्त्रालयको भनाइ छ ।
यसैगरी, कन्सुलर सेवा विभागमा रुसी सेनामा कार्यरत नेपाली युवामध्ये करिब १४० जनाका परिवारका सदस्यले उद्धारका लागि आवेदन दिएका छन् । यसबाहेक के कति संख्यामा नेपाली नागरिक रुसी सेनामा भर्ना भएका छन् तथा युद्धका क्रममा कति घाइते भए वा हराए भन्ने सरकारसँग यथार्थ विवरण छैन । रुसी सेनामा भर्ना हुन जाने नेपाली अधिकांश भ्रमण भिसामार्फत खाडीका मुलुकबाट त्यहाँ गएका पाइएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले रुस सरकारलाई नेपाल सरकारले मृतकको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरेको जानकारी दिनुभयो । प्रवक्ता राईले बन्दी बनाइएका नेपालीको शीघ्र रिहाइ गरी नेपाल फिर्ता पठाउन युक्रेनी सरकारलाई पनि कूटनीतिक माध्यमबाट अनुरोध गरिएको बताउनुभयो । मन्त्रालयले नेपालीलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपालीलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउनसमेत रुस सरकारलाई अनुरोध गरेको छ । नेपाली युवा रुसी सेनामा भर्ना भएका भन्ने सूचना सार्वजनिक भएपछि मन्त्रालयले गत साउन १६ गते पहिलोपटक प्रेस विज्ञप्तिमार्फत परम्परागत रूपमा रहेको सम्झौताअन्तर्गत केही मित्रराष्ट्रको राष्ट्रिय सेनामा नेपाली नागरिक भर्ना हुँदै आएकामा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने सरकारको नीति नरहेको स्पष्ट पारेको थियो । नेपाल सरकारले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकको संख्या, घाइते नेपालीको संख्या तथा उनीहरूको अवस्थाका बारेमा रुस सरकारबाट आधिकारिक रूपमा यथाशीघ्र जानकारी गराउन आग्रह गरे पनि हालसम्म यस सम्बन्धमा यकिन तथ्यांक प्राप्त हुन सकेको छैन । हराइरहेका र घाइते भएको भन्ने मन्त्रालयमा प्राप्त आवेदनका आधारमा त्यसभन्दा केही बढी नेपाली भर्ना भएको हुनसक्ने परराष्ट्र मन्त्रालयको भनाइ छ । पछिल्लो समय रुस-युक्रेन युद्ध चर्किंदै जाँदा र ‘रेडजोन’मा पठाउन थालेपछि रुसी सेनामा भर्ना भएका नेपाली नागरिकले आत्तिएर आफन्तमार्फत उद्धारको याचना गरिरहेका छन् । सन् २०२२ फेबु्रअरी २४ देखि रुस र युक्रेनबीच युद्ध जारी छ ।
सेनामा भर्ती भएका सयौँ नेपाली सम्पर्कविहीन
रुसी सेनामा भर्ती भएका सयौँ नेपाली सम्पर्कविहीन अवस्थामा छन् । नेपालबाट रुस गएका नेपालीहरू दुई महिनादेखि सम्पर्कविहीन भएपछि परिवारका आफन्तले रुस दूतावासमा परिवारको अवस्था जानकारी मागेका छन् । साथै आफन्तले रुसमा भर्ती भई सम्पर्कमा रहेका नेपालीहरूसँग पनि सोधखोज गरिरहेका पाइएको छ । विशेष गरी युद्धमा मोबाइल ‘एल्लो जोन’ मा राखेर जाँदा अहिले धेरै नेपाली सम्पर्कविहीन अवस्थामा रहेको रुसी सेनामा कार्यरत नेपाली डायमण्ड सी म्याग्देलीले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ । उहाँले आफ्नो सम्पर्कमा आएका ७० जनाको परिवारले अवस्था पत्ता लगाइदिन आग्रह गरेको बताउनुभएको छ । हालसम्म आधिकारिक रूपमा नेपालबाट कति नेपाली रुस गएका छन् भन्ने यकिन तथ्यांक नभए पनि चार हजारबढी नेपाली रुसी सेनामा भर्ती भएको अनुमान गरिएको छ । ३० भन्दा बढी घाइते भएको रुसबाट फर्किएर आएका एक घाइतेले जानकारी दिएका छन् । युक्रेनी सेनाको आक्रमणमा परेर दुई गोली लागेर घाइते भएका ती नेपाली हाल उपचार गराइरहेका छन् । नेपालसहित १५ मुलुकका नागरिक भर्ना भएको त्यहाँबाट फर्किएका नेपालीहरूको भनाइ छ ।
युद्धमा फसेका नेपालीको उद्धारका लागि सरकार गम्भीर बन्नुपर्छ : नेपाल
सत्तारूढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रुस र युक्रेन युद्धमा फसेका नेपालीको उद्धारका लागि गम्भीर बन्नुपर्ने बताउनुभएको छ । युद्धमा फसेका नेपालीका परिवारको ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष नेपालले आफूले पनि त्यसबारे प्रधानमन्त्रीसँग कुरा गर्ने आश्वासन दिनुभएको छ । सैन्य भर्ती सम्झौता नभएका मुलुकमा पनि फौजमा भर्ना भई मर्नुपर्ने नियति आउनु राष्ट्रका लागि लज्जाको विषय भएको भन्दै अध्यक्ष नेपालले भन्नुभयो, ‘रुस र युक्रेनको युद्धमा फसेका नेपालीको तत्काल उद्धारका निम्ति म सरकारसँग कुरा गर्छु, नेपालीहरू त्यहाँ कसरी पुगे ? रहर हो कि बाध्यता ?’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच