काठमाडौं । सरकारले खाद्य पदार्थमा रहने औद्योगिक ट्रान्स फ्याट(असन्तुलित अन्य तेल) को अधिकतम् सीमा तोकेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै खाद्य पदार्थमा रहेको कुल चिल्लो पदार्थको तौलको दुई प्रतिशतभन्दा बढी ट्रान्स फ्याटको मात्रा हुनु नहुने व्यवस्था गरेको हो । त्यसैगरी खाद्य पदार्थको लेबलमा खाद्य नियमावली २०२७ अनुसार विवरण उल्लेख गर्नुपर्ने, उत्पादनको लेबलमा ट्रान्स फ्याटरहित (ट्रान्स फ्याट फ्री) भनी दाबी गरिएको हकमा उक्त खाद्य पदार्थमा रहेको चिल्लो पदार्थमा ट्रान्स फ्याटको मात्रा ०.२ ग्राम प्रतिसय ग्राम चिल्लो पदार्थको तौलभन्दा बढी हुनु नहुने व्यवस्था गरेको छ ।
वनस्पति तेलमा हाइड्रोजन प्रवेश गराएर ठोस वा अर्धठोस बनाउने प्रक्रियालाई हाइड्रोजिनेसन भनिन्छ । वनस्पति घिउ तथा आंशिकरूपमा हाइड्रोजिनेटेड गरिएको वनस्पति तेल तयार पार्दा उत्पन्न हुने असन्तुलित अन्य प्रकारका तेल ट्रान्स फ्याटलाई औद्योगिक ट्रान्स फ्याट भनिन्छ । त्यस्तै, सरकारले अबदेखि कुनै पनि खाद्य उत्पादक, व्यवसायी र बिक्रेताले मसीले लेखिएको, छापिएको र रंगाइएको कागजमा राखेर खाद्य पदार्थ बिक्रीवितरण गर्न नपाइने व्यवस्था गरेको छ ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठानका अनुसार दुब्ला मानिसका तुलनामा मोटा मानिसमा बढी हानी गर्ने ट्रान्स फ्याटले क्यान्सर बढाएको देखिएको छ ।
अति खराब चिल्लो पदार्थ अर्थात् ट्रान्स फ्याट्टी एसिड जनस्वास्थ्यका लागि एकदमै हानिकारक हुने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । विकसित मुलुकहरूमा तयारी खाद्य पदार्थमा फ्याट्टी एसिड नियन्त्रण र न्यूनीकरणको प्रयास हुँदै आए पनि नेपालमा भने नयाँ विषय भएकाले जनचेतनाको अभावमा बढी ट्रान्स फ्याट भएका खाद्य पदार्थ उपयोग गर्नुपर्ने बाध्यता थियो । प्याकेटबन्द खाद्य पदार्थहरू जस्तै– बिस्कुट, तयारी चाउचाउ, भुजिया, चिप्स, कुरकुरे, चिजबल्स, आलुचिप्सलगायतमा अधिकमात्रामा ट्रान्स फ्याट हुने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकारीहरू बताउँछन् ।
डब्लुएचओका अनुसार विकसित मुुलुकले उत्पादन हुने विभिन्न खाद्यान्नमा ट्रान्स फ्याटको मात्रा दुर्ई प्रतिशतमा झारिसकेका छन् भने भारतलगायत दक्षिण एसियाली मुलुकले पनि घटाउने प्रतिबद्धता जनाएका छन् । ट्रान्स फ्याट्टी एसिडको अधिक प्रयोगले रक्त नलीहरूको भित्री भागमा असर गर्ने बताइएको छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठानका अनुसार ट्रान्स फ्याट अत्यन्तै खराब चिल्लो पदार्थ हो, जसले रगतमा खराब कोलेस्ट्रोलको मात्रा बढाउँछ, असल कोलेस्ट्रोलको मात्रा घटाउँछ । रक्तनलीका भित्री भागमा नकारात्मक असर गरी रगतको थेग्रा जम्ने हुन सक्छ । रक्तनली साँघुरिने क्रम बढाउनुका साथै हृदयघात र मस्तिष्कघातको जोखिम बढाउँछ । दुब्ला मानिसका तुलनामा मोटा मानिसमा बढी हानी गर्छ । कतिपय अध्ययनले ट्रान्स फ्याटले क्यान्सर बढाएको देखाएको छ ।
वनस्पति तेललाई जति धेरैपटक ततायो, त्यति नै धेरै ट्रान्स फ्याटको मात्रा बढ्दै जान्छ र हानिकारक बन्दै जान्छ । त्यस्तो तेलमा पकाएको पकौडा, समोसा, चाउचाउ, आलु, चिकेनलगायतका परिकार स्वादिला भए पनि स्वास्थ्यका लागि एकदमै हानिकारक हुने हृदयरोग निवारण प्रतिष्ठानका सेन्ट्रल वर्किङ कमिटी सदस्य डा. प्रेमराज वैद्य बताउनुहुन्छ । डिप फ्राइ गरिएका परिकार सेवन नगर्ने, बजारमा प्याकेटबन्द गरी बिक्रीका लागि राखिएका तयारी खानेकुरा सेवन नगर्नेे, वनस्पति घिउ प्रयोग नगर्ने, तेलहरूमा ओलिभ, तोरी र नरिवल तेल बढी प्रयोग गर्ने, गाईभैंसीको घिउ प्रयोग गर्ने, रातो मासुको सट्टा सेतो मासु खाने, मिठाइ, आइसक्रिम, पिज्जा, केक, तयारी चाउचाउलगायत नखाने गरेमा ट्रान्स फ्याटको जोखिम न्यूनीकरण हुने उहाँको भनाइ छ ।
प्रतिष्ठानका अनुसार ट्रान्स फ्याट प्राकृतिक र कृत्रिम गरी दुर्ई स्रोतबाट प्राप्त हुन्छ । राँगा, भैंसी, खसीबोका आदिको रातो मासु तथा दूध ट्रान्स फ्याटका प्राकृतिक स्रोत हुन् । रातो मासुमा पाइने चिल्लो पदार्थमा ट्रान्स फ्याटको मात्रा तीनदेखि नौ प्रतिशत हुन्छ भने दूधको चिल्लो पदार्थमा दुर्ईदेखि छ प्रतिशत हुन्छ । तर, थोरै मात्रा प्रयोग गर्दा प्राकृतिक स्रोतबाट प्राप्त हुने ट्रान्स फ्याटले हानी गर्दैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच