व्यक्तिको पहलमा डेढ करोडको स्वास्थ्य सामाग्री हस्तान्तरण

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 7 mins

भोजपुर । ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाहरुमा सिटामोल समेत अभाव देखिने गरेको अवस्थामा भोजपुरका बिभिन्न स्वास्थ्य संस्थाहरुमा व्यक्तिको पहलमा डेढ करोड बरावरको सामाग्रीहरु हस्तान्तरण गरिएको छ । भोजपुर नगरपालिका वडा नम्वर १० का चक्रबहादुर कार्कीले बिभिन्न स्वास्थ्यसँग सम्वन्धित निकायहरुमा पहल गरी ती सामाग्री हस्तान्तरण गर्नु भएको हो ।

कोभिडदेखि हालसम्म तीन चरणमा गरेर आफुले ब्यक्तिगत पहलमा भोजपुरको जिल्ला अस्पताल सहितका ग्रामीण स्वास्थ्य संस्थाहरुमा डेढ लाख बरावरको स्वास्थ्य उपकरण सहितका सामाग्रीहरु हस्तान्तरण गरेको कार्कीले बताउनुभयो । कार्कीले कोभिड १९ को समयमा जिल्लाको टेम्केमैयुङ गाउँपालिका भित्रका छ वटा वडाहरु, भोजपुर नगरपालिका भित्रका तीन वडाहरुमा कन्सन्ट्रेटर मेशिन तथा उपकरण सहितका करिव ७० लाख बरावरको स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गर्नु भएको थियो । कोभिडको समयमा सहयोग गरिएका स्वास्थ्य सामाग्रीहरु बढी प्रभावकारी देखिएको अर्का पहलकर्ता तरुण दलका केन्द्रिय सदस्य राजेन्द्र राईले बताउनुभयो ।

नेपाली कांग्रेसका जिल्ला सचिव समेत रहनु भएका कार्कीले दोश्रो चरणमा पनि जिल्ला अस्पताल सहित भोजपुर नगरपालिका क्षेत्रका भैसिपंखा, पोखरे, टक्सार लगायतमा रहेका स्वास्थ्य संस्थाहरुमा ४० लाख बरावरको स्वास्थ्य सामाग्री प्रदान गर्नु भएको थियो ।

ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाहरुमा कार्कीको ब्यक्तिगत पहलमा आएको सामाग्रीहरुले दुर्गम क्षेत्रका नागरिकको सेवामा पहुँच बढाउन मद्धत गरेको स्वास्थ्यकर्मीहरुको भनाई रहेको छ । भोजपुर नगरपालिका वडा नम्वर ४ सिद्धेश्वरमा कार्यरत स्वास्थ्य इन्चार्ज बोधराज कोइरालाले प्राप्त सामाग्रीले वडा भित्रका नागरिकलाई राहत मिलेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरुवा रोग देखि लिएर बालबालिकालाई समेत सहयोग पुग्ने सामाग्रीहरु प्राप्त भएको छ, यसले स्वास्थ्य सामाग्री अभावको समस्या पनि समाधान भएको छ ।”

एक जना ब्यक्तिको पहलमा लाखौ मुल्य बरावरका सामाग्रीहरु बिभिन्न निकायमा पहल गरेर ल्याएर बितरण गर्नु चुनौती रहेको जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राईले बताउनुभयो । उहाँले भन्नुभयो, “सिटामोलको समेत सहज पहुँच नहुने स्वास्थ्य संस्थामा ब्यक्तिले तीन चरणमा गरेर डेढ करोड बढीको सामाग्री हस्तान्तरण गर्नु भएको छ, यो उदाहरणीय कार्य हो ।” यसलाई आगामी दिनमा पनि निरन्तरता दिन जरुरी देखिन्छ ।

आफनो क्षेत्रका स्वास्थ्य संस्थाहरुमा बिभिन्न औषधीहरु बितरण भएकोमा नागरिकहरु समेत खुशी देखिनु भएको छ । भोजपुर नगरपालिका वडा नम्वर ४, सिद्धेश्वरका कुलबहादुर खडकाले कोभिडको समय देखि अहिलेसम्म निरन्तर कार्कीले गर्नु भएको सहयोग प्रशंसायोग्य रहेको बताउनुभयो ।

कार्कीको पहलमा तेश्रो चरणमा ४० लाख बरावरको स्वास्थ्य सामाग्रीहरु स्वास्थ्य संस्थालाई हस्तान्तरण गरिएको हो । स्वास्थ्य संस्थाहरुमा उपलब्ध गराईएको सामाग्रीहरुमा पल्स अक्सोमिटर ५० थान, सिटामोल ८५ हजार थान, फेरोस सल्फेट ७७ हजार थान, क्लोएक्साइट जेल ३५ सय थान, सर्जिकल माक्स १८ हजार थान, गाउन सेट एक हजार थान लगायतका रहेका छन । समाजसेवी तथा कांग्रेस जिल्ला पार्टी सचिव कार्कीको पहलमा आएका सामाग्रीहरु जिल्लाको सिद्धेश्वर स्वास्थ्य चौकी, बोखिम स्वास्थ्य चौकी, आम्तेक स्वास्थ्य चौकी, हेलौछा स्वास्थ्य चौकी, भामराङ स्वास्थ्य चौकी, आधारभुत स्वास्थ्य संस्था पालुवा, बिहानी एफसी, आधारभुत स्वास्थ्य संस्था हातीगौडा लगायतका संस्थाहरुमा बितरण गरि सकिएको छ भने जिल्ला अस्पताल र षडानन्द नगरपालिका वडा नम्वर १० मा रहेको साङपाङ स्वास्थ्य चौकीमा पनि हस्तान्तरण गरिने छ । दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य क्षेत्रमा पहुँच पुर्याउन जिल्लाका ९ वटै पालिकाहरुका लागि आगामी दिनमा सामाग्री ल्याउन निरन्तर प्रहल गर्ने कार्कीले बताउनुभयो ।

स्वास्थ्यसँग सम्वन्धित निकायहरुले भनेको बेलामा जिल्लाका स्वास्थ्य संस्थाहरुमा चाहिने जति सिटामोल समेत पुर्याउन नसकेको अवस्थामा ब्यक्तिको पहलबाट आएको सामाग्रीले सेवा प्रभावकारी बनाएको भोजपुर नगरपालिका वडा नम्वर छ, पालुवामा रहेको आधारभुत स्वास्थ्य केन्द्रका इन्चार्ज लक्ष्मी फुयलले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?