मुगुका किसानलाई स्याउ बगैंचा काँटछाँटको चटारो

निर्पेन्द्रबहादुर मल्ल
Read Time = 6 mins

मुगु । मुगुका स्याउ किसानहरुलाई यो बेला विरुवा काँटछाँटको कामले भ्याइ नभ्याइ छ ।

माघ-फागुन स्याउका बिरुवा काँटछाँट गर्ने उपयुक्त समय हो । अहिले बिरुवा काँटछाँट नगरे स्याउ थोरै फल्ने, साना दाना लाग्ने र धेरै फल झर्ने भएकोले मुगुका किसानहरु यो सिजनमा बगैंचामा बिरुवा बोट काँटछाँटमा व्यस्त भएका हुन् ।

फागुन महिनाको दोस्रो साता पछि स्याउका बिरुवामा पालुवा पलाउन थाल्छन् त्यस अघि नै बोटमा निस्किएका बाक्ला हाँगा, अनावश्यक देखाएका हाँगा काट्नुपर्ने हुन्छ ।

मुगुको स्याउ पकेट क्षेत्र मानिएका ताल्चा, कालापाल्त, मैथु, पाथरखोला, तुम, घट्टलेख, शोभा, रोवा, बाम, सोरुकोट, खमाले लमेरा तथा सेरी र जामका किसानहरु अहिले धमाधम आफ्ना स्याउ बगैचाका बोटहरुका अनावश्यक हाँगाबाँगा काँटछाँट गरिरहेका छन् । उनीहरु विहानदेखि बेलुका साँझसम्मै स्याउ बगैंचामा बिरुवा काँटछाँट गर्ने, निलोतुथो, चुना लगाउनमा व्यस्त देखन्छन् ।

'पहिला कोदो, जौ, गहुँ, तरकारी खेती गरियो तर बालबच्चा र घर चलाउन निकै समस्या भएपछी अहिले स्याउ खेती तिर लागियो । पछिल्लो समय सडक सञ्जाल जोडिएपछि स्याउको माग बढेको छ । त्यसैले पुरानो सबै खेती छोडेर स्याउमा व्यस्त छौं । घर खर्च र छोराहरुको पढाई लेखाई यहीँ स्याउ खेतीले धानेको छ,’ छायानाथ रारा नगरपालिका-४ ताल्चाकी कृषक मायादेवी भामले भन्नुभयो, 'आफ्नो बगैंचामा ३ सयभन्दा बढी स्याउ फल्ने बिरुवा रहेका छन् । विहान बेलुका विरुवालाई सुरक्षा दिने, काँटछाँट गर्ने, निलोतुथो र चुना लगाउने काममा व्यस्त छौं ।’

अर्की किसान विस्नुमाया रोकायाले आफ्नो बगैंचामा ५ हजार स्याउका बिरुवा रहेको र आफू त्यसकै काँटछाँटमा व्यस्त रहेको सुनाउनु भयो ।

'घरमा अन्य सबै खेती छोडीसकेका छौं । यही स्याउ खेतीमा १३-१४ वर्ष बतिसक्यो । छोराछोरी भनेका पनि यिनै स्याउका बिरुवा हुन् । विरुवाले फल दिएपछि हाम्रो हातमुख जोडिन्छ । फल नदिए जीवन जिउन समस्या आउँछ,’ उहाँले भन्नुभयाे, 'गत वर्ष धेरै हिउँ पर्नाले स्याउका बिरुवालाई सिँचाइमा कुनै समस्या परेको थिएन । यो वर्ष हिउँ कम परेकाले सिँचाइमा समस्या भएको छ । सबैभन्दा बढी समय स्याउका बिरुवा सुरक्षामा नै दिन बित्ने गरेको छन् ।'

छायाँनाथ रारा नगरपालिका-६ का कुसलाल कुलालले धेरै वर्ष भारतको हिमान्चल प्रदेशमा स्याउ सम्वन्धी काम गरेर अहिले आफ्नै देशमा खेती गरिरहेको बताउनु भयो । अर्काको देशमा कुनै हक अधिकार नहुने भएको हुँदा भारतमा सिकेको सीप आफ्नै गाउँघरमा लागू गर्नुपर्छ भन्ने मनसायले अहिले घर फर्की आफ्नै गाउमा स्याउ खेती गर्न तर्फ लागेको उहाँले बताउनुभयाे ।

पछिल्लो समय मुगुमा धेरै कृषकहरुले स्याउ खेती गरे पनि प्राविधिक ज्ञान नहुँनाले स्याउ खेतीमा समस्या भोग्दै आएका छन् ।

जिल्ला कृषि कार्यालय मुगुका प्रमुख चन्द्रबहादुर शाहीकाअनुसार बगैंचामा हामीले प्रत्येक वर्ष बिरुवा काँटछाँट गर्नुपर्ने हुन्छ । बिरुवालाई पहिला देखि मलजल र गोडमेल गर्नुको साथै विभिन्न जातिका किरा लागेर विरुवामा रोग लाग्ने भएको हुँदा यसबाट विरुवालाई बचाउन काँटछाँट, गोड्मेल, उपचार समय मै गर्नु पर्छ । अहिले स्याउ कृषकले त्यहीँ काम गरिरहेका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ मुगु (स्याउ र सिमि जोन) कार्यालयका प्रमुख तेज विक्रम मल्ल नराम्रो धेरै स्याउ फल्नु भन्दा राम्रो गुणात्मत्क थोरै स्याउ उत्पादनले पनि राम्रो आम्दानी दिन सक्ने भएकोले गुणस्तरिय स्याउका दाना उत्पादनका लागि यो बेला स्याउ कृषकहरु स्याउका विरुवाको सुरक्षाका चरण अन्तर्गतका काँटछाँट गर्ने, विरुवामा निलोतुथो लगाउने जस्ता काम गरिरहेको बताउनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?