काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा चारवटा प्रस्ताव पेस भएका छन् । बिहीबार महासमितिको तयारीका विषयमा छलफल गर्न बोलाइएको बैठकमा महासमिति बैठकमा प्रस्तुत गर्न तयार गरिएका प्रतिवेदनहरू छलफलका लागि प्रस्तुत गरिएको थियो । यस्तै, बैठकमा राजनीतिक प्रतिवेदन, पार्टीको संगठनसम्बन्धी प्रस्ताव र समग्र नीतिसम्बन्धी प्रस्ताव पेस भएको प्रवक्ता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले बताउनुभयो । बैठकमा सरकारका तर्फबाट आफूले आर्थिक अवस्था, भावी योजनाबारे प्रस्ताव पेस गरेको र पार्टीका तर्फबाट महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक, महामन्त्री गगनकुमार थापाले संगठनिक र उपसभापति एवं उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले समग्र नीतिका विषयमा प्रस्ताव पेस गरेको उहाँले बताउनुभयो ।
उहाँले बैठकमा प्रस्ताव मात्रै पेस भएको र शुक्रबारबाट प्रस्तावमाथि छलफल हुने बताउनुभयो । अर्थमन्त्री महतले छलफल सकिएपछिको निष्कर्षसहित महासमिति बैठकमा परिमार्जनसहितका प्रस्ताव लैजाने बताउनुभयो । प्रवक्ता महतले केही जिल्लामा महासमिति सदस्य निर्वाचनमा केही सीमित ठाउँमा विवाद आएकाले अहिले निर्वाचन समितिले अध्ययन गरिरहेको बताउनुभयो ।
महामन्त्री थापाको प्रस्ताव- आगामी महाधिवेशन ०८२ मंसिरभित्र गरौँ
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्नुभएको छ । फागुन ७ देखि १० गतेसम्म चल्ने महासमिति बैठकको लागि तयार पारेको सांगठनिक प्रतिवेदन केन्द्रीय समितिको बैठकमा पेस गर्दै ०८२ मंसिर मसान्तभित्र महाधिवेशन गर्ने प्रस्ताव गर्नुभएको हो । यसैगरी, थापाले चुनावअघि गठबन्धन नगर्ने प्रस्ताव गर्नुभएको छ । उहाँले प्रतिवेदनमा गठबन्धनको कारणले लोकप्रिय मतको हिस्सा पाँच प्रतिशतले घटेको उहाँले उल्लेख गर्नुभएको छ । महामन्त्री थापाले भन्नुभएको छ, ‘दुई चुनावको बीचमा हामीले १३.२ प्रतिशत मतदाता नै गुमायौँ । हामीले २०७९ मा २०७४ जतिकै लोकप्रिय मतको हिस्सा कायम राख्न चाहिने मतभन्दा १५.७४ प्रतिशत कम पाएका छौँ ।’
निर्वाचनमा अंकगणितका हिसाबले कांग्रेस ठूलो पार्टी त बन्यो, तर पार्टी एक्लै चुनाव लड्दा जस्तो कार्यकर्तामा विजयको भाव र उत्साह भने नआउने उहाँले उल्लेख गर्नुभएको छ । उहाँले प्रस्तावमा भन्नुभएको छ, ‘तीनै तहको निर्वाचनमा कतिपय स्थानमा आफ्नो आस्था प्रकट गर्ने ‘रूख’ चिहृन नै नहुँदा कांग्रेसजनले आजपर्यन्त आफ्नो असन्तुष्टि व्यक्त गरिरहेको हामीले देखेका छौँ । संघ र प्रदेशको निर्वाचनको तथ्यांक हेर्दा गठबन्धनका कारण ७४ प्रतिनिधिसभा क्षेत्रमा नेपाली कांग्रेसले आफ्ना उम्मेदवारलाई मत राख्न पाएनन् भने २१ वटा संघीय क्षेत्रका एउटा पनि प्रदेश क्षेत्रमा आफ्नो पार्टीलाई प्रत्यक्ष मत राख्न पाएनन् । ४८ वटा प्रतिनिधिसभा क्षेत्रका प्रत्येक क्षेत्रका दुई प्रदेशसभा क्षेत्रमध्ये एउटामा मात्रै हाम्रा उम्मेदवार थिए । अर्थात् ४८ वटा प्रदेशसभा क्षेत्रमा कांग्रेसका प्रत्यक्षतर्फ उम्मेदवार नै थिएनन् । समग्रमा ६२ प्रदेशसभा क्षेत्रका मतदाताले प्रतिनिधिसभा र प्रदेश सभामा हाम्रो निर्वाचन चिहृन ‘रूख’मा मत राख्न पाएनन् । त्यस्तै १७ वटा क्षेत्रमा दुवै प्रदेश सभामा त कांग्रेसले रूखमा मत राख्न पाए । तर, प्रतिनिधि सभामा पाएनन् ।’ महामन्त्री थापाले एकातर्फ कांग्रेसका क्रियाशील सदस्यले आफ्नो चिहृनमा मत हाल्न पाएनन्, अर्कोतर्फ अन्य दलको निर्वाचन चिहृन र झण्डा बोकेर मत माग्न हिँड्ने अवस्थामा पु¥याएको उल्लेख गर्नुभएको छ ।
दुई हजार बढी प्रतिनिधि सहभागी रहने
कांग्रेसको महासमिति बैठकमा देश तथा विदेशबाट दुई हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहनेछ । ‘राजनीतिक स्थायित्व, रूपान्तरण र नवीनता स्वतन्त्रता, न्याय र समानता नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता’ भन्ने मूलनाराका साथ सुरु हुन लागेको महासमिति बैठकमा देशभरका १६५ निर्वाचन क्षेत्रबाट ११ जनाका दरले महासमिति सदस्यले भाग लिनेछन् । यस्तै, पार्टीको भ्रातृ संस्था, शुभेच्छुक संस्था, विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट समेत भाग लिने कांग्रेसले जनाएको छ । महासमिति बैठक आउन केही दिन मात्र बाँकी रहँदा धेरै जिल्लाका प्रतिनिधिको नाम टुंगो लगाउन बाँकी छ । कांग्रेसले महासमितिमा भाग लिने प्रतिनिधिका बारेमा समेत आजको केन्द्रीय कार्यसमितिको बैठकमा छलफल गर्ने तयारी गरेको छ ।
कांग्रेस निर्वाचन समितिका सदस्यसचिव जगन्नाथ श्रेष्ठले माघ २० गतेसम्म महासमिति बैठकमा भाग लिनका लागि देशभरका १३८ निर्वाचन क्षेत्रबाट प्रतिनिधि टुंगो लगाएर पार्टीलाई बुझाइसकिएको जानकारी दिनुभयो । ‘माघ २० गतेपछि आएका केही क्षेत्रका प्रतिनिधिको नामावलीमा विवाद देखिएको छ, यसका बारेमा हामीले आवश्यक अध्ययन गरिरहेका छौँ, निर्वाचन समितिले हालसम्म १३८ क्षेत्रको प्रतिनिधि टुंगो लगाएको छ, बाँकी २७ क्षेत्रको टुंग्याउन बाँकी छ’, सदस्यसचिव श्रेष्ठले भन्नुभयो । निर्वाचन समितिका अनुसार भोजपुर, काठमाडौंको क्षेत्र नं ५ र ६, रामेछाप, पर्वत, धादिङ, दोलखा, बारा, पर्सा लगायतका जिल्लामा महासमिति सदस्य टुंगिन बाँकी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच