पत्रकारिता क्षेत्रलाई विकसित, व्यवसायिक र समृद्ध बनाउन सरकार प्रतिवद्ध छ : मन्त्री शर्मा

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पूर्ण प्रेस स्वतन्त्रताको संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई विकसित र व्यवसायिक बनाउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

सोमवार राष्ट्रिय समाचार समितिको ६३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले संविधानले अख्तियार गरे अनुरुपको पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको हो । उहाँले पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यवसायिक र समृद्ध बनाउँदै लैजाने कुरामा सरकार प्रतिवद्ध र क्रियाशील रहेको बताउनु भयो ।

उहाँले विगतमा राजनीतिक अधिकार प्राप्तिका लागि पत्रकारिता र राजनीतिक क्षेत्रले सँगसँगै संघर्ष गरेको भन्दै अब राजनीतिक उपलब्धीको रक्षा, यसको सुदृढीकरण र जीवनस्तर/अवस्था बदल्नका लागि पनि पत्रकारिता र राजनीतिक क्षेत्र सँगसँगै हुनु जरुरी रहेको बताउनु भयो । उहाँले सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिमा केन्द्रीत रहेर गणतन्त्रको स्थायित्व र जनताको जिवन रुपान्तरणमा सिंगो मुलुकलाई एकतावद्ध गरेर लैजाने प्रयास गरिरहेको बताउनु भयो ।

सरकारले नक्कली भूटानी शरणार्थी, ललिता निवास, सुनको अवैध ओसार-पसारलगायतका भ्रष्टाचारको छानविनलाई दृढतापूर्वक सहयोग गरिरहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो - ‘प्रदेश र स्थानीय तहलाई पनि बलियो बनाउनेगरी आम सञ्चारको क्षेत्रमा नीति र कानून निर्माणमा जोड दिनुपर्छ । यसतर्फ हाम्रो ध्यान केन्द्रित भएको छ । नेपालको संविधानले अख्तियार गरेको पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यवसायिक र समृद्ध बनाउँदै लैजाने कुरामा सरकार प्रतिवद्ध र क्रियाशील छ । अब राजनीतिक उपलब्धीको रक्षा, यसको सुदृढीकरण र जीवनस्तर/अवस्था बदल्न महत्वपूर्ण भुमिका खेल्न जरुरी छ । यसको लागि फेरि एकपटक हामी सँगसँगै हुन जरुरी छ । सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिमा केन्द्रित रहेर गणतन्त्रको स्थायित्व, र जनताको जीवन रुपान्तरणमा सिंगो मुलुकलाई एकतावद्ध गरेर लैजाने प्रयास गरिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नेतृत्व गरेको एकवर्षको बीचमा सेवा प्रवाहलाई सरल, कम खर्चिलो बनाइएको छ । नक्कली भूटानी शरणार्थी, ललिता निवास, सुनको अवैध ओसार-पसार लगायतका भ्रष्टाचारको छानविनलाई सहयोग गर्न सरकार दृढतापूर्वक उभिएको छ । यसको नतिजा पनि प्राप्त हुने क्रममा रहेको छ । अहिलेका हाम्रा सरकारका स्वामित्वमा रहेका सञ्चार माध्यमहरु हिजोका निरंकुश सरकारका पालामा रहेका सञ्चार माध्यमजस्ता होइनन् । अहिलेका सञ्चार माध्यमहरुले सरकारले गरेका राम्रा कामहरु जनसमक्ष पुर्‍याउने, जनताका आशा, अपेक्षा, गुनासालाई कलात्मक ढंगले सरकारको समक्ष पुर्‍याउने र त्यो कुरालाई सम्बोधन गर्नका लागि आवश्यक सहजीकरण गर्ने काम पनि सरकारी मिडियाहरुले गर्नुपर्छ ।’

मन्त्री शर्माले सरकारको स्वामित्वमा रहेका सञ्चार माध्यमहरुले सरकारले गरेका राम्रा कामहरु जनता समक्ष पुर्‍याउने र जनताको आशा, अपेक्षा र गुनासाहरुलाई सरकार समक्ष पुर्‍याउने कामका लागि सहजिकरण गर्नुपर्ने बताउनु भयो । उहाँले अहिलेका सरकारी सञ्चार माध्यमहरु विगतका निरंकुश सरकारको पालामा रहेका जस्तो नभएको बताउनु भयो ।

-न्युज एजेन्सी नेपाल

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?