म्याग्दी । घर अगाडिको सडकमा सवारी साधन गुडीरहन्छन् । सवारी साधनमा मानिस कम र खाद्यान्न लगाएतका उपभोग्य र निर्माण सामग्री बढी हुन्छन् । सडकबाट देखिने धेरै जसो घरमा ताल्चा लगाइको हुन्छ । घरवरिपरि वनमाराको झाडी देखिन्छ ।
यो दृश्य पश्चिम म्याग्दीको मालिका गाउँपालिका वडा नं ६ मा पर्ने दिच्याम गाउँको हो । पश्चिम म्याग्दीको मालिका गाउँपालिकाका दिच्याम,निस्कोट,रुम,देविस्थान लगाएतका गाउँहरुमा यस्तो दृश्य देखिन थालेको धेरै भएको छैन । डेढ दशक अघिसम्म म्याग्दीका यी गाउँहरु रमाइला थिए । गाउँघरमा वरपर, तल–माथि बस्ती बाक्लो थियो । सबै घर–घरमा मानिसहरू टन्न हुन्थे । चाडपर्वमा छुट्टै रौनक र उल्लासमय वातावरण हुने गर्दथ्यो ।
साथी–भाइहरूको ठूलो जमघट हुनेगथ्र्याे । दशैंको सराय नाच हेर्न होओस् या तीजको मेला हेर्न, तिहारमा देउसी भइली खेल्न वा भजन किर्तन कुनै पनि मेला महोत्सवमा धेरै मानिसहरूको उपस्थिति हुने गर्दथ्यो ।
तर अहिले अवस्था फेरिएको छ । ढुंगा र खरले छाएर रातोमाटो र सेतो कमेरोलो पोतिएका चिटिक्कका घरहरुमा भत्किएर खण्डहरमा परिणत भएका छन् । फराकिलो आँगनमा पाती र बनमारा उम्रिएको छ । करेसाबारी स्याल र बाँदर लुक्ने झाडी बनेका छन् । घर नजिकै अमिलो,अम्बा,कागती र सुन्तलाका बोटहरु मलजल र स्याहार सुसार नपाएर सुक्न थालेका छन् । हिजोआज गाउँको स्वरुप विगिएको छ । रमाइला गाउँहरु अहिले उराठिला बन्दै जान थालेका छन् ।
मालिका गाउँपालिका वडा नं ६ का टेकबहादुर सिउथानी भन्नुहुन्छ “संघीयताको मर्म अनुसार विकेन्द्रिकरणको नीति गाउँमा पुगेको छ । विकासका कारण विकट गाउँ सुगम बनेका छन् । पहरा फोरेर बनाइएका सडकहुँदै गाउँमा गाडी गुडेका छन् । शहरबजारका भन्दा पूर्वाधार सम्पन्न विद्यालयहरु गाउँमा ठडिएका छन् । स्वास्थ्यचौकी गाउँमै छ । संचारको सुविधा पुगेको छ । तर पनि गाउँमा वस्ने मानिसहरु घट्दै गएका छन् ।”
विकास थपिदै गएपनि गाउँमा बस्ने मानिसहरु घट्दै गएका मंगला गाउँपालिका ५ का विकल सेन बताउनुहुन्छ । उहाँका अनुसार गाउँमा सुविधाको कमी छैन । अवसरहरु पनि छन् । तर,मानिसहरु बढी महत्कांक्षी वन्दै गएका र सहरको रमझममा रमाउने प्रवृत्ति बढ्दै गएकाले गाउँहरु रित्तिदै जान थालेका हुन् ।
“घरघरमा चौविसैंघण्टा पानी आउने धारा छन् । वरिपरि उर्वर खेतबारी छ । विद्यालय पुग्न पाँच मिनेट पनि हिड्नु पर्दैन । स्वास्थ्यचौकी गाउँमै छ । गाडी वस्तीवस्तीमा पुग्छ । गाउँका सवै घरहरुमा वाइफाई छ । सूचना प्रविधिका कारण विश्वको जुनसकुकै कुनामा रहेका आफन्तहरुसँग हरेक क्षण सम्पर्कमा रहन सकिन्छ । बारीमा तरकारी र फलफूल फलाउन सक्ने हो भने खेतबारीमा नै गाडी बोलाएर बजार पु¥याउन सकिन्छ” सेनले भन्नुभयो “यी सबै सुविधाहरु गाउँमा हुँदाहुँदै पनि गाउँहरु खाली हुँदै जानु विडम्बना हो ।”
बि.स. २०६८ मा एक घर परिवार भित्र ४.०९ जना रहेकोमा केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ को नतिजामा ३.६७ जना मात्र वस्ने गरेको देखिन्छ । ग्रामिण क्षेत्रबाट सुविधाको खोजीमा बाहिरिनेको संख्या उकालो लागेको जनगणना कार्यालय म्याग्दीले जनाएको छ ।
जिल्लाका ६ वटै स्थानीय तहमा समेत वि स. २०६८ को जनगणना अनुसार जनसंख्या कमी रहेको देखिन्छ । जनगणना कार्यालय म्याग्दीले सार्वजनिक गरेको एक तथ्याङ्क अनुसार भारत सहित तेस्रो मुलुकमा म्याग्दीबाट कुल विदेशिनेको संख्या १० हजार ७ सय १३ रहेको छ । जसमा पुरुष ८ हजार ८सय ४३ र महिला १ हजार ८ सय ७० रहेको जनाइएको छ ।
९५.८७ लैङ्गिक अनुपात, औसत परिवारको आकार ३.६७ र जनघनत्व ४७ रहेको छ। जिल्लाको कु्ल जनसंख्याको घरपरिवारमा अनुपस्थित अर्थात विदेशमा अक्सर बसोबास गर्नेहरू ०.४९ प्रतिशत रहेको छ । बैदेशिक रोजगारीमा महिलाको तुलनामा पुरुषको संख्या अत्याधिक छ । पछिल्ला बर्षमा महिला समेत तेस्रो राष्ट्रमा रोजगारीका लागि जाने प्रतिस्पर्धा भएकाले महिला र पुरुषको जनसंख्याको अन्तर घट्दो रहेको छ ।
“अहिले गाउँको अवस्था मौसमी बनेको छ । चाडपर्व र देवि तथा प्राकृतिक विपत्तिमा मात्र सहर वा विदेशबाट मानिसहरु गाउँ फर्कने गर्दछन् । गाउँमा बसुन्जेलसम्म गाउँको विकास र राजनीतिको विषयमा निकै चिन्तित भएको देखाउँछन् । आर्दशका कुराहरु गर्छन् । तर फर्केपछि गाउँलाई चटक्कै विर्सन्छन्” बेनी नगरपालिकाका कृष्ण पौडेलले बताउनुभयो ।
सहर वा विदेशबाट चुनावको समयमा गाउँ फर्केनेहरुले गाउँको राजनीतिमा प्रत्यक्ष प्रभाव पार्ने गरेको अनुभव गर्नेहरु पनि जिल्लामा कम छैनन् । उनीहरुले गाउँमा रहेका आफन्त र सोझासाझा जनतालाई चिप्ला र मीठा कुरा गरेर आफ्नो स्वार्थ पूरा गर्ने गरेको मंगला गाउँपालिका ४ का झकबहादुर विश्वकर्मा बताउनुहुन्छ ।
“गाउँमा आपत विपतपर्दा,कोही बिरामी भएर उपचार गराउन आर्थिक समस्या हुँदा सहर र विदेशमा रहेका गाउँका व्यक्तिहरुले सहयोग पनि गर्छन । टाँठाबाठा र पढे लेखेका व्यक्तिहरु गाउँमा आउँदा गाउँमा रमाइले हुन्छ । गाउँका विद्यालय,आमा समूह,युवा क्लव लगाएतका संघसंस्थाहरुलाई आर्थिक सहयोग पनि गर्छन् । तर,निश्वार्थरुपले सहयोग गर्नेहरु भने कमै हुँदारहेछन् ” विश्वकर्माले बताउनुभयो ।
बसाइसराईको कारण ग्रामिण क्षेत्रका विद्यालयमा समेत बिद्यार्थीको सङख्या कम छ । गाउँमा उत्पादन भएका बस्तु शहरमा बिक्रि हुने गरेको खाद्यान्न र कृषिजन्य बस्तु समेत बजारबाट आयात गर्नुपर्ने अवस्था छ । “यूवाहरू विदेशमा छन्,अशक्त वृद्धबृद्धाको सेवा गर्नेहरूको समेत कमी छ” रघुगंगा गाउँपालिका वडा नं ६ का वडाअध्यक्ष मनकुमार शेरपुंजाले बताउनुभयो ।
बसाइसराईको कारण गाउँबस्ती पातलिँदै जान थालेपछि विरानो बन्दै गएको समेत जनप्रतिनिधिको भनाई छ । म्याग्दीमा २०६८ सालको जनगणना अनुसार एक लाख १३ हजार ६४१ जना जनसंख्या रहेको जिल्लामा २०७८ को नतीजामा एक लाख सात हजार ३७२ जना उल्लेख गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच