दाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिकारी नेतृत्त्वले नै शान्तिको महत्त्वलाई गहिरोगरी बुझ्ने भएकाले त्यसलाई मनन गर्नुपर्ने बताउनुभएको छ ।
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशनमा आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रिया विश्वकै निम्ति मौलिक प्रकृतिको बताउनुभयो ।
“हामीले गौरव गर्नुपर्छ । नेपालको राजनीतिक इतिहासमा हामी मात्रै त्यस्तो शक्ति र नेतृत्त्व हौँ, जसले क्रान्ति र शान्ति दुवैको नेतृत्त्व गर्ने अवसर प्राप्त गर्यौँ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “त्यसैले मैले भन्ने गरेको छु– जसले क्रान्तिको नेतृत्त्व गर्दछ, शान्तिको आवश्यकता र महत्त्व पनि त्यसले नै सबैभन्दा बढी बुझ्न सक्छ ।”
प्रधानमन्त्री प्रचण्डले विश्वशान्तिका अग्रदूत गौतमबुद्धको जन्मभूमि लुम्बिनी शान्तिको उद्गमभूमि र पुण्यभूमिका रूपमा मात्रै परिचित नभएर क्रान्तिकारी आन्दोलन सुरु गर्ने स्थान पनि भएको बताउनुभयो ।
काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले राजनीति कहिल्यै आफ्नो नियन्त्रणमा नहुने बताउनुभएको छ ।
शनिवार नेपाल शिक्षक संघ, जिल्ला समिति ललितपुरको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिमा एउटा सुनिने तर अर्कै हुने गरेको बताउनु भयो । कहिल्यै पनि आफ्नो नियन्त्रणमा नआउने कुरा भनेको राजनीति रहेको उहाँको तर्क थियो । उहाँले राजनीतिको उत्तारचढावमा रमाउन सक्नेले मात्रै राजनीति गर्नसक्ने बताउनु भयो ।
काठमाडौं । नेपालले टोङ्गा अधिराज्यसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ । योसँगै नेपालको बाह्य सम्बन्ध एक सय ८२ देशमा विस्तार भएको छ ।
कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी दस्तावेजमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र सोही विश्व संस्थाका निम्ति टोङ्गाका स्थायी प्रतिनिधि भिलिमी भ्याइङ्गा टोनेले हस्ताक्षर गर्नुभएको हो । नेपाल र टोङ्गाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसलाई प्रदान गरिने पत्रमा पनि उहाँहरुले हस्ताक्षर गर्नुभएको छ ।
काठमाडौं । छात्रावासमा बालिका शालीन पोखरेलको आत्महत्या प्रकरणलाई लिएर आफन्तले हत्याका अभियोग लगाइ रहँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले सो घटनाले आफूलाई बेचैन बनाएको बताउनु भएको छ ।
यस्तो संवेदनशील घट्नामा राज्यको निकाय प्रहरीले गहिरो अनुसन्धान गरोस भन्दै अध्यक्ष ओलीले सबैले उक्त घटनको अनुसशन्धानलाई सहयोग गर्न पनि अपिल समेत गर्नुभएको छ ।
पूर्व प्रधानमन्त्री समेत रहनुभएको अध्यक्ष ओलीले यस्ता घटनालाई अनुसन्धान गर्ने निकाय भन्दा बाहिरबाट हुने हल्ला र अफवाहले असहयोग पुग्ने बताउँदै हत्या वा आत्महत्या के हो, गहिरो र विश्वसनीय अनुसन्धान गरेर बाहिर ल्याउन अनुरोध समेत गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै यस्तो बताउनु भएको हो ।
कपिलवस्तु । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतम बुद्धको आधारभूत शिक्षा प्रवाहका लागि देशव्यापी जागरण अभियान सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति प्रधानमन्त्री दाहालले उक्त विश्वविद्यालयको १५औँ सभालाई आज सम्बोधन गर्दै शान्तिको सन्देश प्रवाहमा विभिन्न समुदाय र विश्वविद्यालयको अहम् भूमिका हुनुपर्ने बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “देशभरका जनमानसमा बुद्ध, बौद्ध दर्शन, बौद्ध संस्कृति तथा परम्पराका बारेमा ज्ञान सम्प्रेषण गर्न विश्वविद्यालयले सबै क्षेत्रका व्यक्तिलाई बुद्धको आधारभूत शिक्षाका लागि देशव्यापी जनजागरण अभियान सञ्चालन गर्नुपर्दछ ।”
इतिहासको लामो कालखण्डदेखि अटुट रूपमा प्रचलनमा रहेका बौद्ध परम्परा तथा संस्कृति विश्वकै मानवशास्त्री तथा बौद्ध अध्येताका लागि अनुपम स्रोतका रूपमा रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सांस्कृतिक, धार्मिक, पर्यटन विकासका लागि ठूलो अवसरका रूपमा लिनुपर्नेमा जोड दिनुभयो । विश्वविद्यालयले बौद्ध परम्परा र संस्कृति अध्ययनअध्यापन संरक्षण तथा संवद्र्धनका नयाँ कार्यक्रम अगाडि बढाउन उहाँले सुझाव दिनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
तानसेन । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भ्रष्टाचारका फाइल खोल्दा दवाब आएपनि सबैको सम्पत्ति छानबिन गराएरै छाड्ने बताउनुभएको छ ।
शनिबार पाल्पाको तानसेनमा प्रथम तानसेन महोत्सवको उद्घाटन गर्दै दवाब आए पनि वडाध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानबिन गरेरै छाड्ने बताउनुभएको हो ।
अहिले भ्रष्टचारै भ्रष्टाचारका फाईलहरु खोल्दा जताततैबाट दवाब आएर काम गर्न कठिनाई भईरहेको भन्दै उहाँले दवाब खेपेरै भए पनि सबैको सम्पती छानबिन गरेरै छाड्ने बताउनु भएको छ ।
मन्त्री गुुरुङले भन्नुभयो, ‘भ्रष्टाचार अन्त्य गर्न वडादेखि माथिसम्मका जनप्रतिनिधि, कर्मचारीमा अधिकृतदेखि माथि सबैको सम्पत्ति छानविन गर्छाै, त्यसका लागि कानुन समेत ल्याउने तयारीमा छौं ।’
काठमाडौं । काठमाडौं केन्द्रित दोस्रो चरणको आन्दोलनमा होमिएको लघुवित्त तथा मिटरब्याज पीडितहरुले आफ्नो समस्या समाधान नभई घर नफर्कने चेतावनी दिएका छन् ।
उनीहरुले लघुवित्त तत्काल खारेज गर्न पनि सरकारलाई दबाब दिएका छन् । दोस्रो चरणको आन्दोलन अन्तर्गत काठमाडौंको खुला चौरमा आश्रय लिएर बसेका उनीहरुले लघुवित्त संस्थाहरुको ऋण नतिर्ने जिकिर समेत गरेका छन् ।
आफ्ना सन्तानलाई समेत दुःख दिएकाले लघुवित्त संस्थाहरु सरकारले तत्काल खारेज गर्नुपर्ने गोरखा कुरिनटारकी कमला मगरले बताउनु भयो । शनिवार काठमाडौंको जयवागेश्वरीमा सामुहिक रुपमा बस्दै आउनुभएकी उहाँले आफूहरुको बास नै उठाउने त्यस्ता संस्था नचाहिने बताउनु भयो ।
बागलुङ । नेपाल-चीन जोड्ने मुस्ताङको कोराला नाका पूर्णरूपमा सञ्चालनमा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष माग गरिएको छ ।
अन्तरदेशीय व्यापार र पर्यटन प्रवर्द्धनका लागि सो उत्तरी नाका नियमित सञ्चालनका लागि पहल थाल्न सरकारको ध्यानाकर्षण गराइएको हो । आज बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा आयोजित ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’मा सहभागी प्रधानमन्त्री दाहालसमक्ष नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको विकास र समृद्धिका लागि कोराला नाका नियमित सञ्चालनमा ल्याउनुपर्ने बताउनुभयो ।
उहाँले केही समयअघि भएको चीन भ्रमणका क्रममा कोरोलालगायत नेपालसँगका उत्तरी नाका सञ्चालनमा प्रधानमन्त्रीले लिनुभएको पहलप्रति आभार व्यक्त गर्दै कोराला नाका छिट्टै पूर्णरूपमा सञ्चालनमा आउनेमा विश्वास व्यक्त गर्नुभयो । “कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग आयोजनालाई समयमै सम्पन्न गर्न सकिएमा कोराला नाकालाई सक्रिय र सहजरूपमा सञ्चालनमा ल्याउन सकिन्छ, यसतर्फ प्रधानमन्त्री र सरकारको विशेष ध्यान जानेछ भन्ने हाम्रो विश्वास छ”, अध्यक्ष ढकालले भन्नुभयो ।
काठमाडौं । राजधानीमा जारी त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत आज भएको खेलमा नेपालले नेदरल्यान्ड्ले ६ विकेटले पराजित गरेको छ ।
जितका लागि एक सय २१ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १५ दशमलव २ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ३४ बलमा तीन चौका र एक छक्काको मद्दतले सर्वाधिक ४६ रनको योगदान गरेका हुन् । त्यसैगरी गुल्सन झाले ३८, कुशल भुर्तेलले १२ र आसिफ सेखले ८ रन जोडे ।
नेदरल्यान्ड्सका लागि भिभियन किंगमाले तीन विकेट लिए भने आर्यन दत्तले एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको नेदरल्यान्ड्सले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै एक सय २० को योगफल बनाएको थियो ।
काठमाडौं । नेपालले शनिवार बंगलादेशसँग २–० को हारसँगै घरेलु मैदानमा शुरु साफ यु–१६ महिला च्याम्पियनसिपको शुरुवात गरेको छ ।
चार राष्ट्रको प्रतिष्पर्धा रहेको साफ यु–१६ नेपालमा शुक्रवारदेखि शुरु भएको छ । उक्त प्रतियोगिताको दोस्रो खेलमा नेपाल शनिवार बंगलादेशसँग सहज हार स्वीकार्न बाध्य भएको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बंगलादेशकी सौरबी प्रीतिले दुई गोल गरिन् । बंगलादेशले पहिलो हाफमा नै दुई गोल गर्दै घरेलु टोलीलाई दबाबमा राख्यो । तर दोस्रो हाफमा भने दुवै तर्पmबाट गोल हुन सकेन । खेलको २४औं मिनेटमा प्रीतिले गोल गर्दै अग्रता दिलाइन् । पेनाल्टी बक्समा प्राप्त बललाई उनले नेपालका दुई डिफेन्डरलाई छक्याउँदै गोल गरेका हुन् ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोषिमा कार्कीले नेपाली महिला फुटबल टोलीले विश्वकप खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
वाफ च्याम्पियनसिपको उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टोली शुक्रवार राति स्वदेश फर्किएसँगै स्वागत गर्न विमानस्थल पुग्नुभएकी सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वाफ च्याम्पियनसिपमा देखाएको प्रदर्शनले नेपाली महिला टोली विश्वकप खेल्न सक्षम रहेको प्रमाणित भएको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच