पाल्पामै हुन थाल्यो फेको मेसिनबाट आँखाको अप्रेसन

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 4 mins

पाल्पा । पाल्पामै पहिलो पटक मोतीविन्दुका विरामीहरुको अत्याधुनिक मेसिन फेकोबाट (अप्रेसन) शल्यक्रिया हुन थालेको छ । लायन्स लाकोल आँखा अस्पताल पाल्पाले आधुनिक प्रविधि फेको मेसिनबाट आँखाको अप्रेसन सेवा सुरु गरेको हो ।

यसअघि आँखा अप्रेस गर्नु परेमा भैरहवा, पोखरा, काठमाडौं जानुपर्ने बाध्यता रहेको थियो । पाल्पामै फेको मेसिनबाट आँखाको अप्रेस गर्न थालेपछि भने बाहिर जानुपर्ने बाध्यता हटेको छ । आधुनिक ढंगले शल्यक्रिया गर्दा धेरै चिरफार गर्न नपर्ने, सरल र सहज हुने अस्पतालका डाक्टर सुचेन कुमार पुनले बताउनुभयो । आँखाको अप्रेसन गर्नुपर्ने विरामीहरुलाई मध्यनजर गरी फेको मेसिन ल्याइएको डा. पुनको भनाई छ । उहाँका अनुसार उक्त प्रविधिको मेसिनबाट आँखा भित्र सरसफाई गरी सरल ढंगले छिटो छरितो शल्यक्रिया गर्न सकिन्छ । अस्पतालमा आधुनिक मेसिन ल्याएसँगै आँखाका बरामीहरुलाई भैरहवा, काठमाडौं, पोखरा धाउनु नपर्ने डा.पुनले बताउनुभयो ।

नेपालनेत्रज्योति संघका कार्यवाहक सभापति भिमसेन कार्कीले आँखाका बिरामीहरुको माग अनुसार आधुनिक मेसिन खरिद गरी सेवा लिन दिन थालिएको बताउनुभयो । उहाँले आँखा अस्पतालले पाल्पा लगायत गुल्मी, अर्घाखाँचीमा समेत शल्यक्रिया सेवा दिदै आएको जानकारी दिनुभयो ।

अस्पतालले प्रथम पटक मेसिनबाट शल्यक्रिया गरेका बिरामीहरुलाई हर्लिक्स र विस्कुट समेत दिएको संघका सचिव राजेन्द्र लिगल बताउनुभयो । शल्यक्रियापछि विरामी बगनासकालीका कमल प्रताप खाँण ठकुरीले जिल्लामै आधुनिक मेसिनबाट अप्रेसन गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

झण्डै ४ दशकदेखि आँखा उपचारको क्षेत्रमा सेवा दिँदै आएको अस्पतालले जिल्लाका रामपुर नगरपालिका, तिनाउ गाउँपालिका, रैनादेवी छहरा गाउँपालिकामा सेवा दिदै आएको छ । अहिले अस्पताल १० पालिकामा आफ्नो सेवालाई विस्तार गर्ने गरी अगाडि बढेको छ । नेत्र ज्योति संघले सुुरुवात गरेको मुख्य अस्पताल पाल्पा लायन्स लाकोल आँखा अस्पतालको मातहतमा रहने गरी सेकेण्डरी अस्पतालसँगै आँखा उपचार केन्द्र सञ्चालन गर्दै आएको छ । आँखा जस्तो संवेदनशील क्षेत्रको उपचार सबै नागरिकको पहुँचमा पुर्‍याउने गरी पाल्पाका सबै पालिकामा सेवा विस्तार गर्ने कार्यलाई अगाडि बढाइएको संघले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?