
हालका दिनमा सत्ता गठबन्धनमा खटपट पैदा भएको र आपसी संशयले गर्दा धरापमा पर्दै गएको चर्चा चुलिएको छ । जति कुरा बाहिर आएका छन् ती सबै सही नहोलान् तर केही नभई यस्ता हल्ला बाहिर आएका भने निश्चिय होइनन् । हावा चलेर नै पात हल्लिएको हो भन्नेमा कुनै द्विविधा छैन । बरू कारण भने खोज्नु आवश्यक छ । २०७९ सालमा भएका स्थानीय तह, प्रदेशसभा र संघीय संसदका निर्वाचनहरूमै वर्तमानका गठबन्धनमा भएका दलहरूबीच चुनावी गठबन्धन थियो । केपी ओलीको तत्कालीन सरकारलाई हटाएर प्रधानमन्त्री र सरकार बदल्न लागेका शक्तिहरूले त्यसबेला सडक आन्दोलन गरेका थिए ।
२०७४ को आमनिर्वाचनबाट नेपाली कांग्रेस पार्टी प्रमुख प्रतिपक्षको हैसियतमा पुगेको थियो । पाँच वर्षका लागि प्रतिपक्षमा बस्ने हैसियत पुगेर सोही मानसिकतामा रहेको पार्टीलाई प्रधानमन्त्री दिने आश्वासनसहित ती दलहरू आएपछि नेपाली कांग्रेसले आफ्नो लक्ष बदल्यो र पटक–पटक प्रतिनिधिसभा भंग गर्न सिफारिश गर्ने ओली सरकारलाई हटाउने कार्यको नेतृत्व लियो । सो अभियान सफल भयो र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुभयो । त्यसपछि हुने आमनिर्वाचनमा समेत सरकारमा भाग लिएका र समर्थनमात्र गरेर सरकारबाहिर बसेका दलहरूबीच चुनावी गठबन्धन हुनपुग्यो जुन तुलनात्मक रूपमा सफल भयो । त्यसपछि सरकार गठन गर्ने बेलामा केही असमझदारीका कारण माओवादी अध्यक्ष पुष्पकमल दाहाल एमालेको समर्थनमा प्रधानमन्त्री बन्नुभयो ।
उहाँको उक्त कदम लामो समय टिकेन, केही महिना बित्दानबित्दै पुनः पुरानै गठबन्धनमा उहाँ फर्किनुभयो र हालको सरकार बनेको हो । तर अहिले यसमा खटपट सुरु भएको, आपसी संशय पैदा भएको र सरकार धरापमा पर्न लागेको जस्ता समाचार आइरहेका छन् । यसो हुनुको कारण चाहिँ आफ्ना भागका मासुका चोक्टा साना देख्ने रोगले गर्दा हो । जे-जस्ता सर्तमा सरकार गठन भएको छ त्यसको पालना सबै पक्षबाट पूर्णरूपमा हुन नसकेकाले आपसी वैमनस्य पैदा भएको हो । सय प्रतिशत इमानदारीता पालन हुनसक्ने सम्भावना कुनै अवस्थामा कोहीबाट हुन सक्दैन ।
केही कमीकमजोरी भएको हुनसक्छ तर वर्तमान सरकार भंग गरेर अरू पार्टीहरूबीच गठबन्धन गर्दा चाहिँ त्यस सरकारले स्थायित्व पाउन सक्छ भनेर कसले कसरी प्रत्याभूति गर्न सक्छ ? जो-जो जहाँ-जहाँ बसेका भए पनि तिनले आ–आफ्ना ठाउँबाट इमानदारीता देखाउने हो भने कतै कुनै समस्या आउँदैनन् तर जहिल्यै सरकार नै चाहिने र आफूलाई अरूलाई भन्दा बढी चाहिने रोगले गर्दा समस्या पैदा भइरहेको छ । यसलाई घटाउने वा हटाउने प्रयास गर्ने हो भने पटक-पटक यस्तो समस्या आउँदैन । गत वर्षका स्थानीय प्रदेश र संघका निर्वाचनहरूमै आफ्नो अपेक्षा अनुसारको नतिजा नआएपछि नेपाली कांग्रेसले धोका दियो भनेर गठबन्धनका अन्य दलहरूले आरोप लगाएका थिए ।
त्यसपछि कोशी प्रदेशको सरकार फेरिँदाको अवस्थामा बनेको राजनीतिक परिदृश्यका बेला र हालको राष्ट्रिय सभाको निर्वाचनका उम्मेदवारका कारण गठबन्धनमा केही चिसोपन बढेको हुनसक्छ । अर्को कुरा आलोपालोमा प्रधामन्त्री चलाउने सहमति अनुसार पुष्पकमल दाहालको एक वर्ष बितिसकेको छ । अब अहिलेदेखि नै यसको समय लम्ब्याउने खेलको सुरुवात भएको पनि हुनसक्छ । यसका विकल्पहरू होलान् । यो गठबन्धन टुटेर नेपाली कांग्रेसले अगुवाइ गरेर सरकार बनाउने हो भने पनि अर्को विकल्पका रूपमा नेकपा एमालेकै सहयोग लिनुपर्ने अवस्था छ भने माओवादीले अगुवाइ गर्ने हो भने पनि एमाले र अन्य केही दलहरूको सहयोग जुटाउनुपर्ने हुन्छ । वर्तमान सरकारको गठबन्धन बिगार्ने चाहना नेकपा एमालेको नहुने होइन ।
त्यस अर्थमा आफू मजबुत भएर गठबन्धनमा दलहरू बस्नुपर्ने हुन्छ । बाहिरबाट कसैले सरकारको गठबन्धन भत्काउन खोज्नुलाई राजनीतिक रूपमा अस्वाभाविक मान्नुपर्ने कुनै कारण छैन तर यसका लागि बलियो भएर बन्नुपर्ने चाहिँ गठबन्धनभित्रैका पार्टीहरूले हो । वर्तमान राजनीतिमा सबैभन्दा पीडित अवस्थामा नेपाली कांग्रेस छ । सबैभन्दा ठूलो पार्टी भएर पनि आफ्नोभन्दा एक तीहाइ कम स्थानमा विजयी भएको पार्टीलाई प्रधानमन्त्री छोड्नुपरेको छ । यस्तो अवस्थाको आकलन नेकपा एमालेबाट पनि नहुने होइन । दलहरूलाई उचाल्ने र पछार्ने काम हुनसक्छ । त्यस्तो कुरा बुझेर गठबन्धनका दलहरू अझै संगठित बन्नु आवश्यक छ, नत्र संशयहरू पैदा हुनेमात्र होइन त्यसभन्दा प्रतिकूल अवस्था सिर्जना हुन सक्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच