काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट ‘धोका’ पाएका दलहरू एक ठाउँमा उभिनसक्ने संकेत गरेको छ । यदि प्रचण्डबाट धोका भएका दलहरू एक ठाउँमा भए भने माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डको हालत के होला ? भनेर पनि कांग्रेसले प्रश्न गरेको छ । प्रतिनिधि सभाको विहीबारको बैठकमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटक-पटक दलहरूलाई धोका दिएको बताउनुभयो । संसद्मा प्रचण्डलाई व्यंग्य गर्दै प्रमुख सचेतक लेखकले भन्नुभयो, ‘एक जनासँग मगनी, अर्कोसँग लगनगाँठो, तेस्रोसँग हनिमुन, चौथोसँग डेटिङ, पाँचौँसँग टाप ठोक्ने काम उथलपुथल होइन । यो शोभनीय हुँदैन । यो राजनीतिक बेइमानी हो । म त कुन निष्कर्षमा पुग्या छु भने अब धोका दिन कोही बाँकी रहेन । तर, एकचोटि सोच्नुस् यी जम्मै धोका पाएका एकदिन एक ठाउँमा उभिए तपाईंका विरुद्ध भने कहाँ पुग्नुहोला ? खालि ख्याल गर्नुहोला, हेक्का राख्नुहोला ।’
पद छोड्न आग्रह
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री प्रचण्डलाई पद छाड्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले काम गर्न नसकेको स्वीकार गरेको भन्दै लेखकले भन्नुभयो, ‘तपाईंले भन्नुभएको जस्तो काम गर्न सकेन गठबन्धन फेर्नुपथ्र्यो । त्यहाँसम्म ठिक । तर, जाँदा सबै जानुपथ्र्यो । अरू सबै बेठिक म मात्रै ठिक भन्दा नेपाली जनताले के मूल्यांकन गर्छन् ? यसो भन्दा कांग्रेसले लोभ ग¥यो भन्लान् तर, तपाईंहरूले दिनुहुन्न कांग्रेसलाई लोभ छैन । तर, बगलमा पाएको पार्टनरलाई दिनुस् न त ल । तपाईंले सक्नुभएन भने सबै जानुपर्यो नि ।’
कांग्रेसले प्रधानमन्त्री प्रचण्डले गठबन्धन फेरबदल गरेर जनमतको अपमान गरेको बताएको छ । प्रधानमन्त्रीको कदमले मुलुकलाई शृंखलाबद्ध अस्थिरतातर्फ लैजाने काम भएको जिकिर गर्दै लेखकले भन्नुभयो, ‘जनताले दिएको आफ्नो जिम्मेवारीबाट भाग्ने काम भयो । यो राजनीतिक बेइमानी हो । मुलुकलाई शृंखलाबद्ध अस्थिरतातर्फ लैजाने काम भयो । गठबन्धनप्रति सदासयता र इमानदारी देखाउँदा देखाउँदै पनि गठबन्धन भत्काउने विश्वासघात भयो । एकजना/दुईजना मन्त्रीका भागमा कमजोरी थुपारेर आफ्नो कमजोरी छोप्ने काम प्रधानमन्त्रीले गर्नुभयो ।’
‘तपाईंको उथलपुथल कति दिन रहन्छ, हेरौँला’
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री प्रचण्डले जीवित छँदासम्म उथलपुथल गर्छु भनेर भनेको कुराप्रति ध्यानाकर्षण गराउनुभएको छ । प्रमुख सचेतक लेखकले उथलपुथल गर्छु भन्नेबारे इतिहासले देखाउने चुनौती दिँदै भन्नुभयो, ‘तपाईं मभन्दा बढ्ता देशलाई चाहिने नेता हो । जहाँसम्म उथलपुथलको कुरा गर्नुभएको छ नि, सबै मान्छेले सबै कुरा बुझिरहेका छन् । यो उथलपुथल कति दिन रहन्छ इतिहासले देखाउला । हेरौँला ।’ एक वर्षमा दुईपटक गठबन्धन फेरेको प्रधानमन्त्रीले पाँच वर्षमा १३ पटकसम्म गठबन्धन फेर्नसक्ने उल्लेख गर्दै लेखकले भन्नुभयो, ‘मैले क्याल्कुलेटरमा हिसाब गरेँ,गठबन्धन कतिपटक फेरिने रहेछ भनेर । यही गतिमा प्रधानमन्त्री हिँड्नुभयो भने झण्डै १३ पटक गठबन्धन फेरिने रहेछ । पाँच वर्षमा १३ पटक गठबन्धन फेर्ने, अनि आफूचाहिँ रहिरहने ?’ केही दिन अघिको सम्बोधनमा प्रधानमन्त्रीले प्रतिक्रियावादीले उपयोग गर्न खोजे आफू लात्ताले हानेर हिँड्ने भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै लेखकले भन्नुभयो, ‘प्रधानमन्त्रीले कसलाई लात्ताले हान्ने, किन हान्ने ? यो मेरो दुर्भाग्य हो कि देशको दुर्भाग्य हो ? जसको प्रधानमन्त्रीले मलाई लात्ताले हान्न सिकाउनुहुन्छ । यो विषयमा भोलिका दिनमा प्रधानमन्त्रीले जवाफ दिनुहोला ।’
लामिछानेलाई मन्त्री बनाएको बारेमा जवाफ माग
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नियुक्तबारे प्रधानमन्त्री प्रचण्डसँग जवाफ मागेको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले अनुसन्धानको दायरामा रहेका मन्त्रीबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गर्दै भन्नुभयो, ‘नियुक्त भएर आउनुभएका मन्त्रीहरू कुनै पनि ठाउँबाट कुनै पनि किसिमको अनुसन्धानको दायराभित्र नपरेका होलान् भन्ने आशा गरेको छु । यदि परेका छन् भने त्यसपछि सदन के हुन्छ भन्ने कुराको जवाफ पनि प्रधानमन्त्रीले दिँदा राम्रो हुन्छ भन्ने मेरो आग्रह छ ।’ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहनुभएका गृहमन्त्री लामिछानेमाथि सहकारी ठगीको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो अनुसन्धान गरिरहेको छ ।
कांग्रेससँग प्रधानमन्त्रीका गुनासै गुनासा
प्रधानमन्त्री प्रचण्डले नयाँ सत्ता समीकरणबारे प्रतिनिधि सभाको बैठकलाई जानकारी गराउनुभएको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग सम्बन्ध तोड्नुका विभिन्न कारण सुनाउनुभएको छ ।
- राजनीतिक परिणाम निर्णायक भयो
नयाँ समीकरण पनि जोखिमपूर्ण रहेको बोध भएको प्रचण्डको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले अघिल्लो सत्ता गठबन्धनमा व्यक्ति प्रचण्डका रूपमा कुनै समस्या या अप्ठ्यारोमा नरहेको जानकारी दिँदै भन्नुभयो, ‘अघिल्लो सत्ता गठबन्धनमा व्यक्ति पुष्पकमल दाहाल प्रचण्डका रूपमा म कुनै समस्या या अप्ठ्यारोमा थिइनँ, न प्रधानमन्त्री पद नै असुरक्षित थियो । नेपाली कांग्रेसको नेतृत्व र मबीच व्यक्तिगत अविश्वास पनि केही थिएन । टिकिरहनु मात्रैलाई स्थायित्व मान्न नसकेर गठबन्धन तोडिएको हो ।’
- माओवादीले सघाएअनुसार कांग्रेसको सहयोग पाएन
प्रधानमन्त्री प्रचण्डले माओवादीले सघाएअनुसार कांग्रेसबाट सहयोग नपाएको गुनासो गर्नुभएको छ । ‘निर्वाचनमा माओवादी केन्द्रले जुन तहमा कांग्रेसलाई सघायो, त्यही तहमा सहयोग पाएन । यसले आपसी विश्वास कमजोर बनाएकै थियो । गत आम निर्वाचनपछि माओवादीलाई सरकारको नेतृत्व दिने सहमतिबाट नेतृत्व पछि हट्यो । एउटा परिस्थतिमा फेरि जोडिएपछि कोशी प्रदेशमा त कांग्रेसको एउटा समूहले विद्रोह नै गर्यो । राष्ट्रियसभा निर्वाचनमा त्यो समूहले माओवादी उम्मेदवारलाई अन्तर्घातबाट पराजित नै गर्यो ।’
- गठबन्धन नगर्ने प्रस्ताव
प्रधानमन्त्री प्रचण्डले फागुन ७ देखि १० गतेसम्म ललितपुरमा भएको कांग्रेस महासमिति बैठकका प्रस्तावमा समावेश कतिपय कुरामा आपत्ति जनाउनुभएको छ । महामन्त्री गगन थापाले पेश गरेको सांगठनिक प्रस्तावलाई लक्षित गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘महासमिति बैठकमा बिनासन्दर्भ त्यही गठबन्धनको निन्दा सुरु भयो, जुन गठबन्धनले कांग्रेसलाई पहिलो पार्टी बनाएको थियो । निर्वाचन आउन चार वर्ष बाँकी छँदै गठबन्धनका साझेदारहरूमाथि अनावश्यक र बेसमयको मानमर्दन कतैबाट पनि विवेकपूर्ण र राजनीतिक थिएन ।’
- हिन्दू राष्ट्रका लागि हस्ताक्षर
प्रधानमन्त्री प्रचण्डले कांग्रेस महासमिति बैठक स्थलअगाडि धर्मका नाममा स्टल राखेर हस्ताक्षर चलाएकोमा पनि असन्तुष्टि जनाउनुभएको छ । धर्मको नाममा चलाइएको हस्ताक्षरबारे प्रचण्डले भन्नुभयो, ‘कांग्रेसको महासमिति बैठकमा स्टल नै राखेर जसरी धर्मका नाममा हस्ताक्षर अभियान चलाइयो, त्यसले कांग्रेसको संविधानप्रतिको प्रतिबद्धतामै आशंका जनाउन सक्ने जमिन तयार गर्यो ।’
- ‘जनयुद्ध’लाई दानवीकरण गरियो
प्रधानमन्त्री प्रचण्डले कांग्रेस महासमितिमा पेस भएको प्रस्तावमा ‘जनयुद्ध’को न्यूनीकरण र दानवीकरण गरिएकोप्रति असन्तुष्टि जनाउँदै भन्नुभयो, ‘महासमितिमा पेस गरिएको प्रतिवेदनमा माओवादी जनयुद्धको न्यूनीकरण मात्र होइन, दानवीकरण नै गरियो । यसरी हामीबीच हिजो मिलिसकेका सैद्धान्तिक र वैचारिक विषयमा समेत शंका र अविश्वासको वातावरण बन्यो ।’
- साथीहरूले प्रधानमन्त्रीका रूपमा मलाई न्याय गर्नुभएन
प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीका रूपमा आफूलाई न्याय नगरिएको गुनासो गर्दै भन्नुभयो, ‘साथीहरूले व्यक्तिका रूपमा त मलाई माया गर्नुभयो तर परिवर्तन, सुशासन र समृद्धिको तीव्र आकांक्षा बोकेको प्रधानमन्त्रीका रूपमा मलाई न्याय गर्नुभएन ।’ प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा बैठकमा सम्बोधन गरिसकेपछि रोष्ट्रममा आएर बोल्नुभएका प्रमुख सचेतक लेखकले भन्नुभयो, ‘पार्टी कब्जा गर्ने र विदेशी प्रतिक्रियावादीहरूको इच्छापूर्ति गर्ने वचनबद्ध नाम हो पुष्पकमल दाहाल प्रचण्ड भनेको रहेछ । माओवादी केन्द्रको अवसरवादी, अविश्वसनीय र अस्थिर चरित्रसँग हामी अपरिचित छैनौँ । गएका ६ वर्षमा हामी माथि पटक-पटक धोका भएको छ । भनेर लेखिएको छ । यसलाई कसरी लिनुहुन्छ ?’
वर्तमान गठबन्धन दुर्घटना हुन्न : पौडेल
नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलले नयाँ सत्ता गठबन्धन कुनै लेनदेन र स्वार्थको गठबन्धन नभएको दाबी गर्नुभएको छ । संविधानसम्मत सहयात्रा आफूहरूले गरेको र अब यो गठबन्धन दुर्घटनामा नपर्ने दाबी गर्दै उपाध्यक्ष पौडेलले भन्नुभयो, ‘हिजो जे भयो अहिले फेरि पनि त्यही होला भन्ने नसोच्नुहोला । यो स्वार्थको कुनै लेनदेनको सहकार्य होइन । जनताका आकांक्षा पूरा गर्ने सहयात्रा हो । यो विगतका अनुभवबाट यथेष्ट अनुभवबाट बनेको हो । यो दुर्घटना हुँदैन ।’
काम गर्न नसके सरकारबाट आफैँ हट्छौँ : रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काम गर्न नसके पार्टीका मन्त्रीहरूले सरकार छाड्ने बताएको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले आफूहरू अरू पार्टीले गरेजस्तो गल्ती नगर्ने दाबी गर्दै भन्नुभयो, ‘हामीले सुशासन कायम गर्न सक्छौँ कि सक्दैनौँ ? भन्ने हो । राजनीतिक आन्दोलनले स्थापित गरेको व्यवस्थालाई जीवनमा उतार्न सकिन्छ भन्ने विश्वासका साथ आएका छौँ । हामी जुन दिन काम गर्न सक्दैनौँ । त्यो दिन सत्ताबाट हट्नेछ ।’
यो गठबन्धनलाई नोटिसमा राखेका छौँ : लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सत्ता गठबन्धनले भनेको कुरालाई आफ्नो दलले नोटिसमा लिएको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै लिङ्देनले गठबन्धन दलले राप्रपाको दुष्प्रचार गरेकोले भोलि राप्रपाको सहयोग खोज्ने दिन नआओस् भन्दै चेतावनीसमेत दिनुभयो । राप्रपाले सरकारमा नजाने भनिसकेको अवस्थामा गठबन्धन दलले राप्रपालाई सरकारमा सहभागी नगराउने भनेर प्रचार गरेको कुरालाई नोटिसमा राखेको जानकारी दिँदै लिङ्देनले भन्नुभयो, ‘हाम्रो पार्टी यो सत्ता केन्द्रित चलखेलमा संलग्न छैन र हुँदैन भनेर हामीले स्पष्टसँग भनिसकेपछि पनि जुन विषय आयो कि, राप्रपाले सहभागी हुन खोजेर पनि नपाएको भन्ने कुरा । यो कुरामा भ्रम नरहोस्, यो कुरालाई नोटिसमा राखेका छौँ । तपाईँको यो गठबन्धनले पर्सि नै राप्रपालाई खोज्ने दिन नआओस् ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच