
काठमाडौं । शुक्रबार उल्लासमय रूपमा महाशिवरात्रि पर्व मनाइएको छ । काठमाडौंको पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा आराध्यदेव महादेवको पूजा आराधनासहित धुमधामका साथ महाशिवरात्रि पर्व मनाइएको हो । शुक्रबार बिहानैबाट भक्तजनहरू पशुपतिनाथको पूजा गर्नका लागि लामबद्ध भएर बसेका थिए । शुक्रबार साँझसम्म लाखौँले दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपतिमा महाशिवरात्रि मेलालाई व्यवस्थित गर्न चार हजार सुरक्षाकर्मी र चार हजार हाराहारी स्वयंसेवक खटाइएका थिए । शुक्रबार बिहान २ बजेदेखि नै पाशुपत क्षेत्रमा दर्शनार्थीको घुइँचो लागेको थियो ।
बिहानभन्दा दिउँसो दर्शनार्थीको भिड बाक्लिँदै गएको थियो । भिड बढेसँगै सुरक्षाकर्मीलाई मेला व्यवस्थापन गर्न चुनौतीपूर्ण बनेको थियो । भक्तजनको सहजताका लागि पशुपतिनाथका चारैढोका बिहान २ बजेदेखि खोलिए पनि भिड भने घटेको थिएन । दर्शन गर्ने पालो छिटो पाउने आशामा दर्शनार्थी रातिदेखि नै लामबद्ध भएर बसेका थिए ।
पशुपतिमा शिवरात्रिमा भारतबाट समेत साधुसन्त र तीर्थयात्री आएका छन् । यसवर्ष पशुपतिनाथमा साढे तीन हजारभन्दा बढी साधुसन्त आएको विकास कोषको अनुमान छ । उनीहरूका लागि धुनी, भोजन र बाटो खर्चका लागि पशुपति क्षेत्र विकास कोषले हरेक वर्ष बजेट छुट्याउँदै आएको छ । कोषले शुक्रबार कम्तीमा २० लाख भक्तजनले आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने अनुमान गरेको थियो । पशुपति क्षेत्र विकास कोषले यस वर्ष कसैलाई पनि विशेष पासको व्यवस्था नगरिएको जनाएको छ ।
महाशिवरात्रि पर्वलाई व्यवस्थित बनाउन भकुण्डोलमा नेपाल प्रहरी मूल शिविर रहेको थियो भने सशस्त्र प्रहरी बलको नेपाल सुरक्षा कमाण्ड पोष्ट पशुपति क्षेत्र नासल चोकमा रहेको थियो । मूल शिविरसँगै कमाण्डपोष्टअन्तर्गत सब कमाण्ड पोष्ट खडा गरी समग्र पशिुपति क्षेत्रको महाशिवरात्रि पर्वमेला त्रुटिरहित सुरक्षा प्रणाली अपनाइएको थियो । पशुपतिनाथ मन्दिरनजिकै कोर क्षेत्रमा डाक्टर, नर्स, औषधि र बेडसहितको नेपाली सेनाको मूल स्वास्थ्य शिविर रहेका थिए भने सशस्त्र प्रहरी, नेपाल प्रहरी समेतका गरी करिब ५० वटा स्वास्थ्य शिविर रहेको कोषले जनाएको छ । यसको साथै विभिन्न संघ संस्था स्वयंसेवकको रूपमा खटिएका थिए ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दिनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । शिवभक्तहरूले शिवरात्रिका दिन व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र आदि पूजा सामग्री चढाएर पूजा गर्ने गर्दछन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा रहेको शिव पुराण लगायतका ग्रन्थमा उल्लेखित छ । यस वर्ष पशुपतिनाथमा मेलाको अवसरमा कुनै अप्रिय घटना नघटेको प्रहरी वृत्त गौशालाले जनाएको छ ।
राष्ट्रपतिद्वारा पूजाअर्चना
महाशिवरात्रिका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आराध्यदेव पशुपतिनाथको पूजाअर्चना गर्नुभएको छ । उहाँलाई पशुपतिनाथ मन्दिरका मूल भट्टले चन्दन, फूल, प्रसाद प्रदान गर्नुभएको थियो । त्यसअघि राष्ट्रपति पौडेललाई पशुपतिनाथ मन्दिर परिसरमा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव दीपक काफ्ले, कोषका सदस्यसचिव राजुकुमार खत्री, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, परिषद्का सदस्यहरू, स्थानीय निकायका प्रमुख तथा प्रतिनिधि, गुठी संस्थानका उच्चपदस्थ अधिकारीलगायत कर्मचारीले स्वागत गरेका थिए । महाशिवरात्रिका अवसरमा हरेक वर्ष राष्ट्राध्यक्षद्वारा पशुपतिनाथको पूजा–आराधना गर्ने परम्परा छ ।
टुँडिखेलमा नेपाली सेनाको हर्षबढाइँ
नेपाली सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा शुक्रबार विशेष समारोहबीच युद्धकला, शिवरात्रि परेड, तोपबढाइँ, कवाज र आतसबाजी प्रदर्शन गरिएको छ । सेनाले शुक्रबार मुलुकभर विविध कार्यक्रम गरी २६१औँ स्थापना दिवस मनाएको हो ।
सो अवसरमा राष्ट्रपति रामचन्द पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सरकारका मन्त्री र उच्चपदस्थ व्यक्तिहरूको उपस्थिति थियो । सेनाले विशेष कला प्रदर्शनीसमेत गरेको थियो । राष्ट्रपति पौडेलले सो अवसरमा सैनिक मञ्चस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गर्नुभयो ।
हेलिकोप्टरबाट राष्ट्रिय झण्डासहित सेना दिवसको ब्यानर प्रदर्शनी र पुष्पवृष्टि गरिएको थियो । परेड (शस्त्राभ्यास) तथा तोपबढाइँ, कवाजलगायत विविध सैनिक कला र सांस्कृतिक कार्यक्रम गरिएको थियो । जंगीअड्डा मातहत मुलुकका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा यो दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो । नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच