म्याग्दी । म्याग्दीका ग्रामीण महिलाहरु सहकारी र सहकार्यको माध्यमबाट सबल र सक्षम बन्दै गएका छन् ।
सहकारी संस्थाहरुमा आवद्ध भएपछि महिलाहरुले वचत गर्ने बानीको विकास मात्र गरेका होइनन् व्यक्तित्व विकास र क्षमता अभिवृद्धि पनि गर्दै आएका छन् ।
म्याग्दीको सदरमुकाम बेनी स्थित दोभान कृषि सहकारी संस्थामा आवद्ध बेनी नगरपालिका ५ पुलाचौरकी सरिता किसान,मञ्जु पौडेल,शारदा विक लगाएतका महिलाहरुले सहकारीमा वचत गर्ने र सहकारीबाटै ऋण लिएर कृषि उद्यम गरी आत्मनिर्भर वन्न सफल हुनुभएको छ ।
त्यसैगरी बेनी नगरपालिका २ खबराको राधाकृष्ण सहकारी संस्थाको सहयोगमा त्यस क्षेत्रका महिलाहरु तरकारी र फलफूल खेती,पशुपालन लगाएतका उद्यमशिल कामहरुमा आवद्ध भएर आर्थिक रुपमा स्वावलम्वी वन्दै गएका स्थानीय अगुवा महिला कृषक पार्वती कार्कीले बताउनुभयो ।
घरायसी काममा सीमित रहने म्याग्दीका महिला पछिल्लो समय सामाजिक क्षेत्रको नेतृत्वदायी भूमिका लिन पनि अग्रसर बनेका छन् । आर्थिक रुपमा सक्षम भएर सामाजिक सङ्घसंस्थाको नेतृत्वसँगै सामाजिक विकृति न्यून गर्न उनीहरु सक्रिय भएको देखिएको छ । यतिमात्रै होइन, गाउँगाउँमा खुलेका महिला सहकारीमार्फत सङ्गठित बनेका महिला आजभोलि परिवारको दैनिकी चलाउने खर्च आफैँ जुटाउन सफल देखिन्छन् । जिल्लाको बेनी नगरपालिका १० की अशु रोकाले सहकारीमार्फत ऋण लगेर सुरु गरेको तरकारीखेतीबाट आफू आर्थिक रुपमा बलियो बन्दै गएको अनुभव सुनाउनुभयो ।
दुई रोपनी क्षेत्रफलमा व्यावसायिक तरकारीखेती गर्नुभएकी उहाँले परम्परागत रुपमा गर्दै आएको खेतीलाई व्यावसायिक बनाउँदै गोलभेँडा, आलु, काउली, बन्दा, खुर्सानी, काँक्रोलगायतका तरकारीखेती विस्तार गर्नुभएको छ र, यसबाट उनी राम्रो आम्दानी गर्न सफल पनि हुनुभएको छ ।
रोकाले भन्नुभयो – “आठ वर्ष अगाडि सहकारीबाट रु १० हजार ऋण लगेर व्यावसायिक खेती सुरु गरेकी थिएँ । दोस्रो वर्ष तरकारी बेचेर ऋण पनि तिरेँ । अहिले तरकारी बिक्रीबाट भएको आम्दानी सहकारीमा बचत गर्छु ।” विसं २०६९ मा पात्लेखेतमा सिद्ध महिला बचत तथा ऋण सहकारी स्थापना भएपछि रोकामात्रै होइन, घरायसी काममा मात्रै सीमित बनेका धेरै महिला अहिले आत्मनिर्भर उन्मुख बनेका छन् ।
पश्चिम म्याग्दीको मालिका,मंगला र धवलागिरि गाउँपालिका तथा उत्तरी म्याग्दीको रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका महिलाहरु पनि सहकारी संस्थामार्फत सक्षम बन्दै गएका स्थानीय जनप्रतिनिधिहरुले बताएका छन् ।
महिलालाई आर्थिक रुपमा सम्पन्न र सामाजिक रुपमा सक्षम बनाउन सहकारी उपयुक्त र प्रभावकारी माध्यम रहेको म्याग्दीका अगुवा महिलाहरुको भनाइरहेको छ ।
अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले महिलाको क्षमता अभिबृद्धिमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
महिलालाई संगठित गरी क्षमता विकाससँगै आयआर्जन गर्न, वचत गर्न तथा सामाजिक रुपमा सक्षम बनाउन सहकारी प्रभावकारी र भरपर्दो माध्यम भएको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष पुनले बताउनुभयो ।
जिल्लामा रहेका १ सय बढी सहकारी संस्थाहरुले महिलाहरुलाई आर्थिक रुपमा स्वावलम्वी बनाउनुका साथै उनीहरुको क्षमता विकास,नेतृत्वदायी भूमिका र व्यक्तित्व विकासका लागि समेत भूमिका खेलेको जिल्ला सहकारी संघका पूर्वअध्यक्ष दीपक काकीले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच