काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको सम्सी गाउँपालिकाका पूर्वअध्यक्ष शेष फारुक, निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहिबुल अन्सारीसहित १० जनाविरुद्ध अदालतले भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।
आयोगले मोहनपुर जाने बाटोको ढलान गर्दा अनियमितता गरेको आरोपमा आइतवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
गाउँपालिकाको वडा नम्बर ६ स्थित इसरानको घरदेखि पूर्व मोहनपुर जाने बाटोको ढलान कार्यमा अनियमितता भएको आयोगको दाबी छ ।
योजना, बेचन पण्डित इसराफिल वडा सदस्यको घर हुँदै इदगाहदेखि उमरचोकसम्म पीसीसी ढलानसमेतका योजनामा स्थायी इञ्जिनियरबाट कामकाज नगराइ करारको इञ्जिनियरबाट इस्टिमेट र मूल्याङ्कन गराई अनियमितता गरेको अभियोगपत्रमा उल्लेख छ ।
आर्थिक वर्ष २०७७/०७८ मा बेचन पण्डित, इसराफिल वडा सदस्यको घर हुँदै इदगाहदेखि उमरपुर चौकसम्म पीसीसी ढलान र नाला निर्माण योजनाको कार्यमा अनियमितता भएको भन्दै मुद्दा दायर गरिएको हो ।
गलत नापी किताब, भुक्तानी सम्बन्धी बिल, कार्य सम्पन्न प्रतिवेदन स्वीकृत गरेको, स्वीकृत लागत अनुमान बमोजिमको कार्य भएको भनी अनुगमन प्रतिवेदन दिएको, बिल अनुसारको भुक्तानी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको अभियोगपत्रमा उल्लेख छ ।
प्रतिवादी श्यामकिशोर मण्डलले उक्त योजनाको लागत अनुमान तयार गरेको, गलत नापी किताब, बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरेको उल्लेख छ ।