काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उपप्रधान तथा स्वास्थ्य मन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शीतल निवासमा आइतबार बिहान आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यादवले शपथ लिनुभएको हो । उहाँसँगै जसपाकै नवल किशोर साह सुडीले पनि वन मन्त्रीका रूपमा शपथ लिनुभएको छ । उहाँहरूलाई राष्ट्रपति पौडेलले पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको हो । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष यादव र सांसद साहले मन्त्री पदको शपथ लिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको मन्त्रिपरिषद् २२ सदस्यीय भएको छ । नेकपा (एमाले), माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट भएका मन्त्रीहरूले फागुन २१ र २३ गते नै शपथग्रहण गरिसकेका छन् ।
प्रधानमन्त्री प्रचण्डको नेतृत्वको सरकारमा फेरि चारजना उपप्रधानमन्त्री भएका छन् । सत्ता गठबन्धनका दलहरूलाई मजबुत बनाउन चारजना उपप्रधानमन्त्री राखिएको हो । अघिल्लो वर्ष पुस १० मा प्रधानमन्त्री बनेपछि प्रचण्डले त्यसबेला विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, रवि लामिछाने र राजेन्द्र लिङ्देन गरी चारजना उपप्रधानमन्त्री राख्नुभएको थियो । त्यसपछि कांग्रेससँगको गठबन्धन बन्दा श्रेष्ठ र पूर्णबहादुर खड्का गरी दुईजना मात्र उपप्रधानमन्त्री हुनुहुन्थ्यो । अहिले फेरि एमाले सहितको नयाँ गठबन्धन बनाएपछि चारजना उपप्रधानमन्त्री बनाइएको हो । हाल एमालेबाट भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारीसहित रघुवीर महासेठ, माओवादीबाट परराष्ट्र मन्त्रालयको जिम्मेवारीसहित नारायणकाजी श्रेष्ठ, रास्वपाबाट गृह मन्त्रालयको जिम्मेवारीसहित रवि लामिछाने र जसपाबाट स्वास्थ्य मन्त्रालयको जिम्मेवारीसहित यादव उपप्रधानमन्त्री बन्नुभएको हो । सरकारमा सहभागी भएको एकीकृत समाजवादीबाहेक सबै दलले एक÷एकजना उपप्रधानमन्त्री पाएका छन् । अहिले बनेका चारैजना विगतमा पनि उपप्रधानमन्त्री भइसकेका व्यक्ति हुन् ।
जनताको सेवा गर्नलाई वरीयताले फरक पर्दैन : यादव
नवनियुक्त उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री यादवले जनताको सेवा गर्न वरीयताले फरक नपर्ने बताउनुभएको छ । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलबाट उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रीको शपथग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
पटक–पटक उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको तपाईंले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पछिको वरीयतामा बस्न किन चाहनुभयो ? भन्ने सञ्चारकर्मीहरूको प्रश्नको जवाफमा उहाँले जनताको सेवा गर्नेलाई वरीयताको मतलव नहुने बताउनुभयो । उहाँले ग्रासरुटमा बसेर काम गर्ने मान्छेलाई यस्ता कुराको वास्ता नहुने जवाफ दिनुभयो ।
यादव पाँचौँमा, यस्तो छ मन्त्रिपरिषद्को वरीयता
पूर्व-उपप्रधान एवं स्वास्थ्य मन्त्रीसमेत रहनुभएका यादव अहिले पाँचौँ वरीयता क्रममा हुनुहुन्छ । मन्त्रिपरिषद्मा प्रधानमन्त्रीपछि दोस्रो वरीयतामा नेकपा (एमाले)का सचिवसमेत रहेका रघुवीर महासेठ हुनुहुन्छ । उहाँ भौतिक पूर्वाधार तथा यातायातमन्त्री हुनुहुन्छ । तेस्रो वरीयतामा नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ हुनुहुन्छ ।
चौथो वरीयतामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहनुभएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने हुनुहुन्छ । यादवलाई लामिछानेभन्दा तलको वरीयतामा राखिएको छ । स्रोतका अनुसार, यादवले मन्त्रिपरिषद्मा दोस्रो वरीयता पाउनुपर्ने माग गर्नुभएको थियो । तर, गठबन्धनको सरकार भएकाले वरीयता विवाद नगर्न आग्रह गरिएको बताइएको छ ।
स्वास्थ्यमन्त्रीको पहिलो निर्णय- ‘अपरेसनका लागि धेरै दिन पालो कुर्नु नपर्ने’
नवनियुक्त उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री यादवले शल्यक्रियामा देखिएको ढिलाइलाई छिटो छरितो व्यवस्था मिलाउने पहिलो निर्णय गर्नुभएको छ । आइतबार शपथपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै उहाँले संघीय तथा प्रादेशिक अस्पतालहरूमा शल्यक्रियाको समय लिन बिरामीको लामो लाइन हुने अवस्था रहेकाले घरैबाट शल्यक्रियाको समय लिनसक्ने निर्णय गर्नुभएको हो ।
बिरामीहरू लामो लाइन बसेर उपचार सेवा लिनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने भन्दै मन्त्री यादवले त्यसलाई सहज बनाउँदै बिरामीले समयमै उपचार सेवा पाउने गरी अनलाइन एवं डिजिटल प्रविधिमार्फत घरैबाट पनि समय लिने व्यवस्था मिलाउने बताउनुभयो ।
उहाँले संघीय निजामती सेवा ऐनमा स्वास्थ्य सेवा ऐन समायोजनका लागि कार्यदल बनाउने निर्णय पनि गर्नुभएको छ । स्वास्थ्य समायोजन गिजोलिएकाले अहिलेसम्म स्वास्थ्यकर्मीको प्रभावकारी व्यवस्थापन नभइरहेका बेला यसले समाधान निकाल्ने अपेक्षा उहाँको छ । यादवले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै सरकारी स्वास्थ्य संस्थाको क्षमता वृद्धि र विकास गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
जसपा अध्यक्ष यादव गत वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको थियो । उहाँले यसअघि स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच