![भारत सरकारसँग रुसी सेनामा रहेका नेपालीहरूको गुहार](https://ehimalayatimes.com/wp-content/uploads/2024/03/Rusma-Alpatra-Pareya-Nepali.jpg)
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ‘परिवारवाद’मा फस्दै गएको आरोप विगतदेखि नै लाग्दै आएको छ । लामो समयदेखि अनवरत पार्टी शक्तिमा रहनुभएका प्रचण्ड आफू सत्तामा हुँदा सकेसम्म परिवारका सदस्यलाई कुनै न कुनै लाभका पदमा पुर्याउने भएकाले उहाँलाई परिवारवादमा लिप्त भएको आरोप लाग्दै आएको हो । विरोधीहरूले मात्रै होइन पार्टीभित्रकै नेताहरूले समेत लगाउने परिवारवादको आरोप उहाँ स्वयंले एकपछि अर्को गरी पुष्टि गर्दै जानुभएको छ । अहिले फेरि आफ्ना भाइ नाता पर्ने नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्ष बनाउने तयारी गरेर विरोधीहरूको आरोपलाई थप पुष्ट्याइँ गर्ने काम गर्नुभएको हो । नयाँ गठबन्धनअनुसार अध्यक्षमा निर्वाचित हुने पक्का भएपछि उहाँले भाइलाई उम्मेदवार बनाउनुभएको छ । प्रचण्डकै कारण बारम्बार पार्टी र संसद्मा अवसर पाइरहनुभएका नारायण सत्ता गठबन्धनबाट राष्ट्रियसभा अध्यक्षका उम्मेदवार बन्नुभएको छ ।
फागुनमै सम्पन्न माओवादी स्थायी कमिटी बैठकबाट अध्यक्ष प्रचण्डले बुहारी बिनालाई सुदूरपश्चिम प्रदेशको सहइञ्चार्ज बनाउनुभएको थियो । बुहारीलाई अस्वाभाविक पदोन्नति गरेको २० दिन नपुग्दै अध्यक्ष प्रचण्ड भाइ नारायणलाई राष्ट्रियसभा अध्यक्ष बनाउने तयारी गर्नुभएको हो । राष्ट्रियसभा अध्यक्षका लागि दाहालसँग उपाध्यक्ष उर्मिला अर्याल र झक्कु सुवेदी पनि दाबीमा हुनुहुन्थ्यो । त्यसो त सुरेश आलेमगरले पनि रुचि देखाउनुभएको थियो । उपाध्यक्ष एमालेले लिने सहमति भएपछि अध्यक्षमा अर्याललाई अगाडि बढाउने अनुमान गरिएको थियो । राजनीतिक पृष्ठभूमि र क्षमताको हिसाबले अर्यालको सम्भावना रहेको बताइएको थियो । तर, अर्याललाई अहिले उपाध्यक्षबाट पछाडि हट्न लगाएर प्रचण्डले भाइ दाहाललाई अगाडि सार्नुभएको हो । सुवेदीलाई अध्यक्ष बनाउँदा राष्ट्रिय सभामा ६ वर्ष नेतृत्व गर्न पाइन्थ्यो । तर, प्रचण्डले चार वर्ष कार्यकाल मात्रै बाँकी रहनुभएका दाहाललाई अध्यक्ष बनाउनुभएको हो ।
प्रचण्डले पार्टीमा आफन्तवाद भित्र्याएको यो पहिलो पटक भने होइन । यसको सुरुवात उहाँले २०६५ सालमा पहिलो पटक सरकारमा गएदेखि नै गर्नुभएको थियो । यसका अनगिन्ती उदाहरण छन् । स्वर्गीय प्रकाश दाहालदेखि रेनु र गंगा हुँदै बिना मगर र जीवन आचार्यसमेत हुनुहुन्छ । सुरुमा परिवार र त्यसपछि पनि बफादारलाई मात्रै अवसर दिने गरेको आरोप प्रचण्डमाथि लाग्दै आएको छ । छोराछोरीलाई मेयर, स्वकीय सचिव बनाउनेदेखि भाइलाई राष्ट्रियसभा अध्यक्ष, ज्वाइँलाई मन्त्री बनाउने र काका नाता लगाउनेलाई राजदूतको नियुक्ति दिलाउनेसम्ममा प्रचण्डले ‘कीर्तिमान’ नै खडा गर्नुभएको छ ।
ओझेलमा नेता-कार्यकर्ता, नजिकतालाई अवसरै अवसर
माओवादी १० वर्षे कडा सशस्त्र युद्ध गरेर स्थापित पार्टी हो । १० वर्षे युद्धमा हजारौँ नेता–कार्यकर्ताले ज्यानको आहुती दिएर प्रचण्डलाई स्थापित गरेका हुन् । अहिलेको प्रचण्ड बनाउन हजारौँले ज्यान गुमाएका छन् । हजारौँकै संख्यामा घाइतेहरू छन् । शरीरमा युद्धको गोली बोकेर बाँचिरहेका माओवादी नेता कार्यकर्ता अहिले पनि भेटिन्छन् । अझै युद्धमा परिवारका सदस्य गुमाउने र बेपत्ता पारिएको परिवारको संख्या पनि हजारौँ छ । उनीहरूले अवसर पाउँदैनन् । तर, माओवादीमा अवसर नपाएका प्रचण्डका नातेदार कमै होलान् । राष्ट्रियसभा अध्यक्ष चयन हुन लाग्नुभएका भाइ नाता पर्ने नारायणदेखि छोरी रेनु भरतपुर महानगरको मेयर हुनुहुन्छ । त्यो पनि लगातार दोस्रो कार्यकाल । २०७४ मा सम्पन्न पहिलो चरणको स्थानीय तहको निर्वाचनमा उहाँ पहिलो पटक मेयरमा निर्वाचित हुनुभएको थियो ।
भरतपुरको मतगणना पनि सम्झनलायक थियो । तत्कालीन कांग्रेस-माओवादी केन्द्रको साझा उम्मेदवार रेनुलाई मेयर पदमा जिताउन मतपत्र च्यात्ने र दोहो¥याएर चुनाव गराउने सम्मका प्रपञ्च भएका थिए । उहाँ फेरि २०७९ को निर्वाचनमा पुनः गठबन्धनकै सहारामा भरतपुरको मेयर चुनिनुभएको छ । ज्वाइँ अर्जुन पाठक (रेनुका पति हुनुहुन्छ)लाई भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको विशेष सल्लाहकार चयन गरिएको थियो । रेनुलाई अर्को चुनावमा चितवन ३ बाट संघको उम्मेदवार बनाउने प्रचण्डको रणनीति देखिन्छ । श्रीमान् पाठक अहिले मेयरको सचिवालयमा आबद्ध हुनुहुन्छ ।
सरकारी पदमा आसिन हुन बहिनीज्वाइँ पनि छुटेका छैनन् । प्रचण्डका बहिनीज्वाइँ खेम भण्डारीलाई भरतपुर अस्पतालको अध्यक्षमा नियुक्त गरिएको थियो । छोरीज्वाइँको नियुक्ति यतिमै रोकिएको छैन । जेठी छोरी ज्ञानु दाहाल केसी (दिवंगत) का पति सागर केसीलाई तत्कालीन सभामुख कृष्णबहादुर महराको स्वकीय सचिवमा नियुक्त गरिएको थियो ।
माओवादीमा जोडिनेबित्तिकै अवसर हातपार्न थाल्नुभएका ज्वाइँ जीवन आचार्य सांसद हुँदै मन्त्रीसम्म भइसक्नुभयो । प्रचण्डकै जोडबलमा २०७९ मा प्रदेश सभाको टिकट पाएर जित्नुभएका उहाँ कोशी प्रदेशको मन्त्री हुनुभएको थियो । छोरीज्वाइँ मात्रै होइन अध्यक्ष प्रचण्डले बुहारी बिना मगरलाई पनि मन्त्री बनाउनुभयो । केपी ओली नेतृत्वको सरकारमा उहाँ सरसफाइ तथा खानेपानी मन्त्री हुनुभएको थियो । माहिली छोरी बाबुको ‘उत्तराधिकारी’का रूपमा भरतपुर महानगरको ‘बागडोर’ सम्हालिरहनु भएको छ भने कान्छी छोरी गंगा पनि राज्यकोषको सेवा सुविधाबाट पर हुनुहुन्न । गंगालाई अध्यक्ष दाहालले आफ्नै सचिवालयमा राख्नुभएको छ ।
पार्टीभित्रै मन्द विरोध
२०५७ माघ-फागुनमा भारत, पञ्जाबमा भएको माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनले प्रचण्डपथ पारित गरेको थियो । त्यसपछि हरेक मोर्चामा माओवादीले माक्र्सवाद, लेनिनवाद, माओवाद र प्रचण्ड-पथको नारा लगाउन थालेको थियो । त्यसपछि नाम र वाद दुवैमा प्रचण्ड स्थापित हुँदै जानुभएको थियो । २०६५ पुसमा नारायणकाजी श्रेष्ठको एकता केन्द्रसँग एकीकरण भएपछि माओवादीले प्रचण्डपथ त्यागेको थियो । माओवादीभित्र प्रचण्ड-पथको अन्त्य भएको १५ वर्ष भइसक्दा पनि परिवारवाद भने बलियोसँग हावी भएको छ ।
विरोधीहरूले खुलेरै विरोध गरे पनि पछिल्लो समय माओवादीकै नेताहरूसमेत सार्वजनिक रूपमा विरोध गर्न थालेका छन् । भाइ नाता पर्ने नारायणलाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाएलगत्तै माओवादी नेता लेखनाथ न्यौपानेले कडा कटाक्ष गर्नुभएको छ । सन्दर्भ नखुलाइएको भए पनि उहाँले अध्यक्ष प्रचण्डका भाइलाई अध्यक्ष उम्मेदवार बनाएलगत्तै सामाजिक सञ्जालमार्फत गरेको टिप्पणी त्यतै लक्षित भएको अनुमान लगाउन सकिन्छ । ‘कमरेडको झुसिलो डकार नआउन्जेल हुने यस्तै हो,’ संक्षिप्तमा उहाँले लेख्नुभएको छ । उहाँ पार्टीमा अध्यक्ष प्रचण्डको आलोचकका रूपमा चिनिँदै आउनुभएको छ । माओवादीकै कतिपय नेताहरूले शान्ति प्रक्रियामा अवतरण भइसकेपछि आफ्नै परिवारभन्दा बाहिर निस्कन नसक्नु दुःखद भएको बताउने गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच