
काठमाडौं । रुसमा अलपत्र परेका नेपालीले भारत सरकारलाई सहयोगको अपिल गरेका छन् । रुसी सेनामा भर्ती भएका पाँच नेपालीले सामाजिक सञ्जालमार्फत उद्धारका लागि भारतसँग अनुरोध गरेका हुन् । उनीहरूले नेपाल सरकारले कुनै चासो नदिएको गुनासो गर्दै भारतसँग उद्धारका लागि अनुरोध गरेको भिडियो सार्वजनिक भएको हो । उनीहरूले सामाजिक सञ्जालमार्फत हिन्दी भाषामा एक भिडिओ सन्देश सार्वजनिक गर्दै आफूहरूलाई स्वदेश फिर्ता गर्न नेपाल सरकारबाट कुनै सहयोग नभएको र नेपाली राजदूतावासले पनि चासो नदिएको बताएका छन् । सञ्जय, राम, सन्तोष र कुमार श्रेष्ठ नाम गरेका युवाहरूको भिडियो सन्देशलाई ‘द वायर’ले पोष्ट गरेको छ । द वायरका अनुसार उनीहरूले युक्रेनको दोनेत्स्कबाट भिडियो सन्देश पठाएका हुन् ।
आफूहरूसँगै रहेका तीन भारतीय नागरिकलाई भारत सरकारले फिर्ता लगेपछि आफूहरूलाई पनि त्यहाँबाट निकालिदिन नेपाली युवाहरूले भारत सरकारसँग आग्रह गरेका हुन् । दुई मिनेट १० सेकेण्ड लामो भिडियोमा उनीहरूले आफूहरूलाई एजेण्टले झुक्याएर रुसी सेनामा भर्ती गराएको पनि बताएका छन् ।
‘हामीसँग तीनजना भारतीय साथी थिए, उनीहरूलाई भारतले फिर्ता लगिसक्यो । तर, हाम्रो दूतावासबाट कुनै पनि सहयोग भइरहेको छैन, हाम्रो देशबाट कसैलाई लगिएको छैन’, उनीहरूले भनेका छन् ।
आफूहरू भारतले उद्धार गरिदिनेमा निकै आशावादी रहेको उनीहरूको भनाइ छ । भारत र भारतीय दूतावास बलियो रहेकाले आफूहरूको उद्धार हुने उनीहरूको विश्वास छ । ‘भारतले हामीलाई सहयोग गर्नेमा हामी निकै आशावादी छौँ । हामीलाई विश्वास छ, भारतले हामीलाई निराश पार्ने छैन । किनकि नेपाल र भारतबीच निकै राम्रो सम्बन्ध छ । त्यसले हामीले तपाईंसँग सहयोग मागिरहेका छौँ । किनकि तपाईंहरूको दूतावास पनि बलियो छ, देश पनि बलियो छ । हाम्रो नेपालबाट केही पनि हुन सकिरहेको छैन’, भिडियोमा भनिएको छ ।
उनीहरूले सुरुमा आफूहरूसँग ३० जना रहेकोमा अहिले पाँच जना मात्र रहेको पनि बताएका छन् । उनीहरूले भनेका छन्, ‘यहाँ रहेका हामी सबै नेपालीहरू घर फर्किन चाहन्छौँ, हामीसँग फ्रड भएको छ । हामीलाई सहयोगीका लागि भनेर पठाइएको थियो, युद्धमा जानु परिरहेको छ । हामी ३० जना थियौँ, तर अहिले हामी पाँचजना मात्र बाँकी छौँ । कसैलाई कहाँ पठाइएको छ, कोही घाइते छन् । हामी तपाईंसँग सहयोग माग्न खोजिरहेका छौँ । सक्नुहुन्छ भने हामीलाई पनि यहाँबाट निकाल्नुहोस् । नमस्कार ।’
भिडियो सामाजिक सञ्जालमा भाइरल भएर नेपाल तथा भारतमा चर्चामा छ । सन् २०२२ फेब्रुअरी २४ मा रुसले युक्रेन हमला गरेपछि विदेशीहरूलाई आफ्नो फौजमा भर्ना सुरु गरेको थियो । हालसम्म दर्जन बढी नेपालीको मृत्यु भएको तथा सयौँ हराएका खबर सार्वजनिक भएका छन् । आधा दर्जन युक्रेनी कब्जामा भएका खबर आएका छन् । नेपाली मात्रै होइन, भारतीयहरूको पनि रुसी फौजमा जोडिएका समाचार पछिल्ला समयमा सार्वजनिक भएका छन् ।
रुसी फौजमा लागेका दुई भारतीयको मृत्यु भएको खबर सार्वजनिक भएको छ । सबैभन्दा पहिले गत फेब्रुअरी २१ मा भारतीय युवा मेहिल अश्विनभाइको मृत्युको खबर भारतीय अखबार ‘दी हिन्दू’ले फेब्रुअरी २४ मा प्रकाशन गरेको थियो ।
समाचारअनुसार कैयौँ भारतीय बेपत्ता छन् । तर, भारत सरकारले रुसी नेतृत्वसँग संवाद गरेर कूटनीतिक रूपमा पहल गर्दै आफ्ना युवाहरूलाई फिर्ता ल्याएको बताएको थियो । भारत सरकारको त्यो दाबीलाई प्रमाणित गर्दै नेपाली युवाहरूले आफूसँग भएका तीन भारतीयको उद्धार भएको तर आफूहरू विचल्लीमै भएको भन्दै हारगुहार गरेको भिडियो सार्वजनिक भएको हो ।
तनहुँका आठ युवा सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह
भिजिट भिसामा गएर रुसी सेनामा भर्ना भएका तनहुँका आठजना सम्पर्कविहीन भएका छन् । व्यास नगरपालिकाका तीन, देवघाट गाउँपालिकाका एक, भानु नगरपालिकाका दुई, शुक्लागण्डकी नगरपालिकाका एक र म्याग्दे गाउँपालिकाका एक गरी आठ युवा सम्पर्कविहीन भएका हुन् ।
भिजिट भिसामार्फत रुसी सेनामा गएका तनहुँका आठ युवा सम्पर्कविहीन भएपछि खोजी दिन पीडितका परिवारले माग गरेका छन् । खोजीका लागि परिवारले निवेदन दिएका छन् ।
सुरक्षित आप्रवासन कार्यक्रम (सामी) तनहुँकी कार्यक्रम संयोजक लुना रानाले रुसी सेनामा भर्ना हुन गएका सात र युक्रेनमा भर्ना हुन गएका एक गरी आठ युवा सम्पर्कविहीन भएपछि खोजीका लागि परिवारजनले निवेदन दिएको जानकारी दिनुभयो । ‘व्यास, देवघाट, भानु, शुक्लागण्डकीका सातजना रुसी सेनामा भर्ना हुन जाँदा बेपत्ता भएको र म्याग्देका एकजना युक्रेनी सेनामा भर्ना हुन जाँदा सम्पर्कविहीन भएको भन्दै खोजिदिन उहाँहरूको परिवारजनले निवेदन दिएका छन्,’ उहाँले भन्नुभयो । परिवारसँग नै सम्पर्कविहीन भएका व्यक्तिका परिवारजनले खोजी तथा उद्धारको मागसहित निवेदन दिएको उहाँले बताउनुभयो ।
आप्रवास स्रोत केन्द्रकी परामर्शदाता गोमा तिवारीले सम्पर्कविहीन भएका व्यक्तिलाई छिटोभन्दा छिटो नेपाल झिकाई पाऊँ भनेर निवेदन दिएको बताउनुभयो । सम्पर्कविहीन भएका व्यक्तिको खोजीका लागि कन्सुलर विभागमा व्यक्तिको कागजात सहितका सम्पूर्ण कागजात पठाइसकिएको तिवारीले जानकारी गराउनुभयो ।
भिजिट भिसामा अवैधानिक बाटोमार्फत गएका व्यक्ति परिवारसँग नै सम्पर्कविहीन भएपछि खोजीका निम्ति निवेदन दिएका हुन् । अवैधानिक बाटो हुँदै रुसी सेनामा भर्ना हुन गएका व्यक्ति त्यहीँ भर्ना भए पनि त्यहाँबाट फर्केर आउन सहज भने नभएको बताइएको छ ।
रुस-युक्रेन युद्धमा १३ नेपालीको मृत्यु
पछिल्लो समय रुसी सेनामा भर्ना भएका नेपाली नागरिकको मृत्यु र घाइते भएको सूचना सार्वजनिक हुन थालेपछि आफन्तले उद्धारका लागि आग्रह गरेका छन् । परराष्ट्र मन्त्रालयको पछिल्लो जानकारीअनुसार रुसी सेनामा भर्ना भएकामध्ये हालसम्म १३ नेपालीको मृत्यु भएको छ भने केही युक्रेनी सेनाको कब्जामा रहेका छन् । के कति संख्यामा नेपाली नागरिक रुसी सेनामा भर्ना भएका छन् तथा युद्धका क्रममा कति घाइते भए वा हराए भन्ने यथार्थ विवरण भने छैन । कतिपय पीडित परिवारले अझ धेरैको मृत्यु भइसकेको र सरकारले पर्याप्त सूचना नदिएको दाबी गरेका छन् ।
मन्त्रालयले गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रुपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका पितम कार्की, दोलखाका राजकुमार रोका, इलामका गंगाराज मोक्तान, कुन्दन सिंह नागल, स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरबहादुर शाह र धादिङका राजकुमार गिरीको रुसी सेनामा कार्यरत रहँदा निधन भएकोे जनाएको छ । यसैगरी, रुस सरकारबाट आधिकारिक जानकारी प्राप्त नभए पनि पछिल्लो समय थप नेपालीको मृत्यु सम्बन्धमा परिवारजनले मन्त्रालयमा जानकारी गराएका छन् ।
त्यस्तै, रुसी सेनामा कार्यरत अवस्थामा बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोकका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतीक पुनलाई युक्रेनी सेनाले बन्दी बनाएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । रुसी सेनामा कार्यरत थप एक नेपाली नागरिक युक्रेनी सेनाको कब्जामा परेको सूचना आएको मन्त्रालयले जनाएको छ । रुसी सेनामा भर्ना हुन जाने नेपाली अधिकांश भ्रमण भिसामार्फत खाडी मुलुकबाट त्यहाँ गएको पाइएको छ ।
किन यसरी जोखिम मोलिरहेका छन् नेपाली युवा
विडम्बनापूर्ण नै छ, इराकमा होस् वा अफगानिस्तान, यस्तै इजरायलमा पनि, प्रायः सबै ठूला युद्धमा नेपालीले ज्यान गुमाइरहेका छन् । जबकि, ती युद्धसँग नेपालको कहीँ कुनै साइनो पनि छैन । सरकार तहकै सम्झौता-समझदारीमा बेलायती र भारतीय सेनामा भर्ती भएर युद्धमा होमिने नेपाली युवा त छँदै छन्, तिनको कथा-व्यथा बेग्लै छ । आफ्नै व्यक्तिगत पहल वा दलालको प्रलोभनमा परी सुटुक्क अर्को मुलुकको सेना वा सुरक्षा गार्डका रूपमा भर्ती भएर युद्धग्रस्त क्षेत्रमा खटिने नेपाली युवा पनि प्रशस्तै छन् । ज्यान जोगिइहाले तिनले आकर्षक आम्दानी त गर्न सक्छन् तर मृत्यु भइहाले परिवारले राहत वा अन्य कुनै सुविधा पाउने सुनिश्चित हुँदैन ।
इराकस्थित अमेरिकी सेनाको बेसमा कार्यरत १२ नेपालीलाई अतिवादी इस्लाम समूहले २०६१ भदौ १६ मा हत्या गरेको थियो । त्यसपछि नेपाल सरकारले प्रतिबन्ध लगाउँदा पनि अवैध बाटो इराक जाने क्रम रोकिएन । अफगानिस्तानमा युद्ध चलेका बेला नेपाली युवा लुकीछिपी त्यहाँ पुगिरहेकै थिए र छिटपुट मृत्यु पनि भइरहेको थियो । सुरक्षागार्डका रूपमा कार्यरत १२ नेपालीले २०७३ सालमा तालिबानको आत्मघाती बम आक्रमणमा परी ज्यान गुमाएका थिए । इजरायलमा हमासको आक्रमण परी गत असोज २० मा १० नेपाली विद्यार्थीले ज्यान गुमाउँदाको परिस्थिति भने अलि फरक थियो ।
विभिन्न मुलुकका युद्धमा यसरी आफ्ना नागरिकले ज्यान गुमाइरहेको घटनाप्रति नेपाल सरकार गम्भीर बन्न जरुरी छ । युद्ध गरिरहेका मुलुकमा ज्यानै धरापमा पारेर रोजगारीमा नजान युवालाई सचेत पार्न आवश्यक छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच