पूर्वाधार निर्माणपछि फेरिदै नरसिंहकोटको मुहार

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 6 mins

बागलुङ । बागलुङको निसीखोला गाउँपालिका-७ राजकुट स्थित नरसिंहकोटलाई पर्यटकी गन्तव्यका रुपमा विकास गर्न थालिएको छ । तत्कालीन बाइसे चौबिसे राज्य हुँदा भुरे राजाले राज्य सञ्चालन गरेको यस ठाउँलाई गाउँपालिकाले पर्यटन पूर्वधार निर्माण गर्दै आएको छ । गाउँपालिकासँगै गण्डकी प्रदेश सरकारले पनि लगानी गर्दै आएको छ ।

पछिल्लो समय आन्तरिक पर्यटकहरु समेत बढ्दै गएका छन् । नरसिंहकोटमा भौतिक पूर्वाधार निर्माणलाई पनि थप व्यवस्थित र पर्यटन मैत्री बनाउन थालेको निसीखोला गाउँपालिका-७ का वडाध्यक्ष दीपक कुँवर (दिपु) ले बताउनुभयो । बागलुङको दोस्रो व्यापारीक केन्द्र बुर्तिबाङ बजारको नजिक पर्ने हुँदा आन्तरिक पर्यटकको भिडनै लाग्ने गरेको छ । नरसिंहकोट क्षेत्रमा पुग्नका लागि बुर्तिबाङ बजारबाट गाडीमा एक घण्टामा पुग्न सकिन्छ पैदल यात्रामा साढे एक घण्टामा पुग्न सकिन्छ । त्यहाँसम्म पुग्ने सडक सालजण्डी-ढोरपाटन सडकबाहेक अर्को वैकल्पिक सडक नहुँदा सवारी साधानमा जाँदा केही फेरो पर्छ । बुर्तिबाङबाट अधिकांश पर्यटकहरु पैदल यात्रामै त्यहाँ पुग्ने गरेको पाइन्छ । नरसिंहकोटबाट नजिकै रहेको टापुले पनि धेरैको मन लोभ्याउने गरेको छ ।

नरसिंहकोटमा पुग्ने पर्यटक १५/२० मिनेटमै टापुमा पुग्न सक्छन् । यस क्षेत्रको प्रवद्र्धनका लागि गाउँपालिका र प्रदेश सरकारले निरन्तर लगानी गर्दै आएको वडाध्यक्ष कुँवरको भनाइ छ । उहाँले अघिल्लो जनप्रतिनिधिको पहलमा पर्यटन पार्क, पाटी, पौवा, मन्दिर व्यवस्थापन, पदमार्ग, घेराबार, झाडी व्यवस्थापन, पुराना संरचनाको पुनःनिर्माण लगायतका काम भएको भन्दै अहिले पनि ति कामलाई पूर्णता दिन थालेको कुँवरको भनाइ छ । चालु आर्थिक वर्षमा गण्डकी प्रदेशले विनियोजन गरेको १० लाख र निसीखोला गाउँपालिकाले विनियोजन गरेको सात लाख रुपैयाँले भौतिक संरचना थप्दै गएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो - “गाउँपालिकाले हरेक वर्ष बजेट विनियोजन गरेर काम गर्दै आएको छ भने प्रदेश सरकारले पनि लगानी गरेको छ, यस वर्ष गाउँपालिकाले विनियोजन गरेको रकमबाट कालिका मन्दिर निर्माण र गण्डकी प्रदेशले छुट्टाएको बजेटले पर्खालसहितको घेराबार लगाउन थालेका छौँ, खानेपानीको व्यवस्थापन गर्नु पर्ने छ भने अन्य धेरै पूर्वाधारहरु निर्माण भइसकेका छन् ।”

नरसिंहकोटमा दैनिक एक सय पर्यटक आउने गर्छन् । सडकको सहज पहुँच भएको हुँदा बिदाको दिन बढी पर्यटक आउने गरेका छन् । निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले पर्यटन विकासमार्फत गाउँपालिकालाई समृद्ध बनाउन सक्ने भन्दै सोही अनुसार वर्षेनी लगानी गर्दै आएको बताउनुभयो । नरसिंहकोट एतिहासिक ठाउँ र यसको धार्मिक महत्व रहेको हुँदा गाउँपालिकाले मुख्य प्राथमिकतामा राखेर काम गरेको उहाँको भनाइ छ । पर्यटकलाई पैदल यात्रा गर्नका लागि थप सहज होस् भन्ने उद्देश्यले रेलिङसहितको पदमार्ग निर्माणको काम सकिएको उहाँले बताउनुभयो ।

“नरसिंहकोटसहित पालिकाका अन्य ठाउँमा पनि हामीहरुले लगानी गर्दै आएका छौँ, यहाँ पूर्वाधार निर्माण गरि प्रचारप्रसारलाई तीव्र बनाएपछि अहिले पर्यटकको आगमन पनि राम्रो छ,” अध्यक्ष घर्ती मगरले भन्नुभयो - “हामीले सक्ने पालिकाबाटै लगानी गरेका छौँ, अलि ठूलो रकम चाहिने ठाउँमा प्रदेशको सहयोग मागेर काम गरि रहेका छौँ, पर्यटन पूर्वधार धेरै ठाउँ थपिएका छन् ।”

नरसिंहकोटमा अहिले पनि मन्दिर छ । जहाँ हरेक वर्षको नवदुर्गाको दिन धुमधामका साथ पूजाआजा गरिन्छ भने पशुपक्षीको बलि पनि चढाइने गरिन्छ । मन्दिरमा वैशाखे पूर्णिमा, मङ्सिरे पूर्णिमालगायत चतुर्दशी पूर्णिमामा सोत पूजाआजा हुने गर्दछ । यहाँ पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ । बागलुङ, प्यूठान, गुल्मी लगायतका विभिन्न स्थानबाट मानिस पूजाआजा गर्न पुग्ने गर्दछन् ।

यहाँबाट बुर्तिबाङ बजार स्पष्ट रुपमा अवलोकन गर्न सकिन्छ भने बागलुङको विभिन्न स्थान, म्याग्दी, प्यूठान, गुल्मी, रोल्पा, रुकुम, पाल्पा, अर्घाखाँची लगायतका जिल्लाहरु देख्न सकिन्छ भने धौलागिरि हिमाललगायत दर्जनौँ हिमशृङ्लाहरु र उच्च मनोरम पहाडी भेगहरुको अवलोकन गर्न सकिन्छ । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?