काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासघात गरेको निष्कर्ष निकालेको छ । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर प्रचण्डले राजनीतिक बेइमानी गरेको आरोप लगाउनुभयो । ‘महासमिति बैठकमा आएका धारणा, दस्तावेजमा उल्लेखित विषय, कोशीका कुरा उल्लेख गर्नुभएको छ । उहाँले म त एभ्रेज उपलब्धिबाट सन्तुष्ट छैन । धेरै उपलब्धि हासिल गर्थें भन्ने उहाँको कुरामा कुनै आधार छैन । उहाँले जे गर्नुभयो, सोची, सम्झी निर्वाचनपछि पनि तीन पटक गठबन्धन परिवर्तन गर्नुभएको छ । उहाँको यो प्रवृत्तिजन्य निर्णय र कुनै आशयबाट भएको छ भन्ने कुरामा अब दुईमत रहेन’, महतले भन्नुभयो ।
महासमिति बैठकले गठबन्धनलाई सुदृढताका साथ अघि बढाउने निर्णय गरेको भए पनि प्रचण्डले राजनीतिक बेइमानी गरेको प्रवक्ता महतको जिकिर छ । बैठकमा उठेका विषय महत्वपूर्ण नहुने भएकाले गठबन्धनलाई निरन्तरता दिने पक्षमा आफूहरू रहे पनि सफल नभएको उहाँको भनाइ थियो ।
२६ सयलाई १० लाखका दरले पैसा बाँड्ने प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेको हुँ : डा. महत
पूर्वअर्थमन्त्री डा. महतले २० वर्ष अघिको शान्ति सम्झौताअनुरूप १० लाखका दरले आर्थिक सहायता बाँड्ने प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेको बताउनुभयो । नेपाली कांग्रेसका प्रवक्तासमेत रहनुभएका महतले मंगलबार पत्रकार सम्मेलन गरी बजेट बाँड्ने प्रस्ताव अस्वीकार गरेको खुलासा गर्नुभएको हो । ‘२० वर्ष अघिको शान्ति प्रक्रियाअनुरूप घाइते र शहीद परिवारलाई आर्थिक सहायता बाँड्ने प्रस्ताव आयो, मैले अस्वीकार गरेँ’, डा. महतले भन्नुभयो, ‘त्यसबेला प्रधानमन्त्री सहमत हुनुभएको हो । तर, त्यही कुरालाई लिएर हुनसक्छ, उहाँले असन्तुष्टि सार्वजनिक गर्नुभएको छ ।’ उहाँले आफू सरकारमा हुँदा प्रधानमन्त्रीले कुनै लिष्ट नदेखाएको भन्दै आफू सरकारबाट बाहिरिएपछि करिब २६ सयको लिष्ट सार्वजनिक भएको बताउनुभयो । ‘लिष्ट बनाएर १०/१० लाख बाँड्ने कुरा आयो त्यसलाई मान्न सक्ने अवस्था थिएन’, डा. महतले भन्नुभयो । प्रवक्ता महतले प्रधानमन्त्री दाहालले आफ्नो पार्टीसँगको गठबन्धन भत्काएर जनताले निर्वाचनमा दिएको आदेशलाई समेत लत्याएको आरोप लगाउनुभयो ।
बिआरआई कार्यान्वयनमा जान रोकेको भन्ने आरोप कपोलकल्पित
कांग्रेसका प्रवक्ता डा. महतले चीनको परियोजना वेल्ड एण्ड रोड इनिसियटिभ (बिआरआई) कार्यान्वयनमा जान आफूले रोकेको भन्ने आरोप पनि कपोलकल्पित भएको बताउनुभएको छ । उहाँले प्रधानमन्त्री चीन भ्रमणमा जाँदा निर्णय नगरी आउने अनि आफूलाई दोष दिन मिल्छ ? भन्दै प्रश्न गर्नुभयो । डा. महतले भन्नुभयो ‘म चाहिँ अर्थमन्त्री नभएर प्रधानमन्त्री थिएँ कि भनेजस्तो भयो । उहाँ जानुहुन्छ चीन भ्रमणमा म गएको पनि छैन । उहाँले निर्णय नगर्ने अनि त्यसको दोष अर्थमन्त्रीलाई दिने ?’
महतले आफू परराष्ट्रमन्त्री हुँदा बिआरआई सम्झौता भएको स्मरण गर्दै भन्नुभयोे, ‘हामीले ऋण लिनका लागि प्राथमिकता क्षेत्रको निर्धारण गर्नुपर्छ भन्यौँ । दोस्रो कुरा वल्र्ड बैंक एडिबीले जुन ऋण दिन्छ सस्तो ब्याजदरमा एक प्रतिशत तल त्यस्तै किसिमको ऋण लिनुपर्छ भन्यौँ’, उहाँले थप्नुभयो, ‘कम सर्त राखिएको, सहुलियतपूर्ण ऋण वा अनुदान भए मात्र सहयोग स्वीकार गर्नुपर्छ भनेका हौँ ।’
उहाँले यो विषय चीनको पक्षमा मात्र लागू नहुने भन्दै भारत कोरिया जुनसुकै देशले पनि ऋण सहयोग दिन खोजेको र सबैका लागि यही नीति अवलम्बन गरिएको जानकारी दिनुभयो । ‘सबैका लागि एकै नीति छ । चीनका लागि छुट्टै, भारतका लागि अर्कै, युरोप अमेरिकाका लागि फरक फरक नीति छैन । यो सबै कपोलकल्पित विषय हो’, महतले पत्रकार सम्मेलनमा भन्नुभयो ।
११ महिने कार्यकालप्रति गर्व छ
कांग्रेसका प्रवक्ता डा. महतले जथाभावी र कानुनविपरीत खर्च गर्ने विषयमा आफूले रोकेको बताउनुभयो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा आफू अर्थमन्त्री हुँदा सम्भव भएको विषयमा मात्र खर्च गर्न सहमत भएको उहाँको भनाइ थियो । तर, प्रधानमन्त्री प्रचण्डले व्यक्तिगत तहमा असहयोग गरेको भनेर आफूविरुद्ध भ्रम फैलाएको उहाँले जिकिर गर्नुभयो । डा. महतले भन्नुभयो, ‘मलाई व्यक्तिगत रूपमा अर्थमन्त्रीले सहयोग गरेन भन्ने भ्रम फैलाउने कोसिस छ । स्वाभाविक हो, मैले लोकतान्त्रिक पार्टी, जनताप्रति जोडिएको सुशासन सुनिश्चित गर्नुपर्छ भन्ने पार्टीको प्रतिनिधिको नाताले के गर्न सम्भव छ, के छैन, के प्राथमिकतामा राख्नुपर्छ, के राख्न मिल्दैन, सुस्पष्ट कुरा राख्थेँ ।’
प्रधानमन्त्री प्रचण्डले पनि विषय ठिक भएको भन्दै स्वीकार गर्ने गरेको भन्दै जे जति उपलब्धि भए ती कांग्रेसका कारण सम्भव भएको डा. महतले दाबी गर्नुभयो । उहाँले ‘प्रधानमन्त्रीलाई कसले काम गर्न दिएन ?’ भनी प्रश्न गर्नुभयो ।
‘प्रधानमन्त्रीको पनि सबैभन्दा ठूलो भूमिका हुन्छ नि । अनि, नेपाली कांग्रेसको मन्त्रीलाई मात्र मैले भनेजस्तो उपलब्धि भएन भनेर दोष दिन मिल्छ ? कदापि मिल्दैन’, उहाँले थप्नुभयो, ‘जहाँ आवश्यक छ, खर्च गर्न हिचकिचाएको छैन । नियम, कानुन र विधिसम्मत कुराहरू रोकेको छैन । ११ महिना कार्यकालमा धेरै विषयवस्तु आए, यसकारण गर्न हुन्न, गर्नुपर्छ भन्ने स्पष्ट ढंगबाट राख्थेँ । देश र जनताप्रति जिम्मेवारी थियो । यी सम्पूर्ण जिम्मेवारी पूरा गरेर काम गरेको प्रति मलाई गर्व छ ।’
कांग्रेसले अर्थतन्त्र जोगायो
प्रवक्ता तथा निवर्तमान अर्थमन्त्री डा. महतले आफ्नो कार्यकालमा १० प्रतिशत राजस्व वृद्धि भएको दाबी गर्नुभएको छ । महतले कांग्रेसका कारण गठबन्धन सरकारले औसत मात्र उपलब्धि गर्न सकेको भन्ने प्रधानमन्त्री प्रचण्डले लगाएको आरोपको खण्डन गर्दै यस्तो दाबी गर्नुभएको हो । बरु नेकपा (माओवादी केन्द्र) बाट सरकारमा गएकाहरूको साधारण खर्चका नाममा जथाभावी खर्च गर्ने प्रवृत्ति देखिएको उहाँले आरोप लगाउनुभयो । उनीहरूमा देखिएको जथाभावी खर्च गर्ने प्रवृत्ति आफूले रोक्न खोज्दा समस्या आएको डा. महतको भनाइ थियो । कांग्रेसका कारण अर्थतन्त्रको गति लिने अवस्था आएको बेला प्रधानमन्त्री प्रचण्डले उल्टै आफूलाई आरोप लगाएको उहाँले बताउनुभयो । ‘प्रतिकूल अवस्थामा पनि मेरो पालामा १० प्रतिशत राजस्व वृद्धि भएको छ । एकैपटक हृवात्तै प्रगति हुने अवस्था थिएन,’ डा. महतले भन्नुभयो, ‘करबाट प्राप्त राजस्वलाई जथाभावी खर्च गर्नु हुँदैन भन्ने हाम्रो मान्यता हो । यसैले आफ्नै पार्टी निकटले माग्दा पनि पैसा दिएनौँ । सबैलाई समान व्यवहार गर्यौँ ।’
चालु वर्षको बजेटलाई तन्काउने हदसम्म लगेको जानकारी दिँदै महतले यसलाई अझ पपुलिष्ट बनाए अर्को वर्ष देशले धान्न नसक्ने सुनाउनुभयो । आफू अर्थमन्त्री हुँदा लगानी सम्मेलन भएको स्मरण गर्दै महतले भन्नुभयो, ‘यति ठूलो अन्तर्राष्ट्रिय सम्मेलन यसअघि भएको थिएन ।’
‘अर्थतन्त्रलाई लयमा फर्काएँ’
निवर्तमान अर्थमन्त्री डा. महतले आफूले मन्त्रालयको जिम्मेवारी लिँदा अर्थतन्त्रका सबै सूचक शिथिल रहेको बताउँदै त्यसलाई लयमा ल्याउन आफू निरन्तर लागिपरेको बताउनुभएको छ । सोही कारण सबै सूचक अहिले लयमा फर्किएको उहाँको भनाइ छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक हेर्दा पनि त्यो पुष्टि हुने उहाँले सुनाउनुभयो । आफूले मन्त्रालयमा सम्हाल्दा बैंकको ब्याजदर अत्यधिक रहेको बताउँदै डा. महतले धेरै कसरत गरेर मौद्रिक नीतिलाई फितलो बनाएपछि अहिले बैंकको ब्याजदर घट्ने क्रममा रहेको बताउनुभयो । बजेटरी सिष्टममा देखिएको समस्या समाधान गर्न आफूले सक्दो मिहिनेत गरेको उहाँको जिकिर थियो । डा. महतले भन्नुभयो, ‘भन्नको लागि मात्र सुशासन होइन, त्यो गर्नपर्छ भन्ने हिसाबले कांग्रेसबाट सरकारमा गएका मन्त्रीहरूले काम गरेका थियौँ ।’ मुलुकमा लगानीमैत्री वातावरण बनाउन कानुनदेखि नीतिगत सुधारका निम्ति आफूले काम गरेको उहाँको दाबी थियो । यसअघि प्रधानमन्त्री प्रचण्डले तत्कालीन अर्थमन्त्री महतका कारण सरकारले सोचेजस्तो उपलब्धि हासिल गर्न नसकेको र पुरानो गठबन्धन तोड्न बाध्य भएको आरोप लगाउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच