
नीतिशास्त्रमा तीन प्रकारका हठको कुरो गरिएको भेटिन्छ । राज हठ, बाल हठ र स्त्री हठ । हठलाई नेपालीमा जिद्दी पनि भनिन्छ । कसैकसैको बानी हुन्छ बारम्बार कचकच गरिरहने । यस्तालाई जिद्दीवाल र कचकचे पनि भनिन्छ । गालीगलौजका शब्दमा यिनलाई नकच्चरा, बेशर्म, लाजघीन पचाएका पनि भनिन्छ । मलाई आज देशको दशाका सम्बन्धमा आर्जे हेर्न मन लाग्यो । नेपालको उत्पत्ति भएका दिनको ग्रहको स्थिति हेर्दा यसको भाग्य स्थानमा शनि बलियो बनेर बसेको रहेछ । भत्काउन, बिगार्न, नसके पनि अशान्ति मच्चाइरहन, सानातिना मनमोटावका काम गराउन, एक अर्काको अस्तित्व स्वीकार्न नदिन भने यो ग्रह माहिर हुन्छ ।
हठी ग्रह भएकाले यसैगरी अन्तर्दशामा प्रवेश गरेर हेर्दा कहिल्यै समय समाप्त नहुने गरी उल्का र संकटा एकअर्काका परिपूरक बनेर हठका सगरमाथा बसेका रहेछन् । यसैका कारणले सिंहप्रताप शाह कमजोर मनस्थितिको राजा बनेर जन्मेको देखियो । रणबहादुर स्त्रैण र बहादुर शाह बहादुर पनि बनेको देखियो । यदि भीमसेन थापा, बलभद्र कुँवर, दामोदर पाण्डे, अमरसिंह थापा, भक्ति थापाजस्ता बहादुर नजन्मेका भए नेपाल त्यसैबेला भारतमै मिल्ने थियो । जनताको स्वाभिमानमा बृहस्पति बलिया बनेर बसेका हुनाले बेलाबेलाका अप्ठ्यारा कहिले जंगबहादुरका रूपमा त कहिले गंगाराम खवास र नारायणदास अज्र्याल आएर गोठालो उठाएर पनि मानसिंह रानालाई सिध्याएर सुशासन दिएको इतिहास यसै ग्रहगोचरका कारणले देखिएको होला शायद ।
नीतिमहाधिवेशनलाई पर सार्दै ल्याएर महासमितिमा साँघु¥याउन सफल देउवाले आफूलाई चन्द्रशमशेरकै उत्तराधिकारी ठानेर आफ्ना पोष्यपुत मोहनबहादुर बस्नेत, डा.प्रकाशशरण महत र ज्ञानेन्द्रबहादुर कार्कीलगायत आफ्नी र आफ्नाकीलाई जोगाउन लाग्दा म ताक्छु मुढो बञ्चरो ताक्छ घुँडो भनेजस्तो भएको छ ।
यसलाई निश्चयसाथ व्यावसायिक ज्योतिषीले भन्नेछन् । मोहन शमशेर र त्रिभुवनका मतमतान्तरले नेपाल सिद्धिनै लाग्दा बीपी आएर पहिलो पटक यस देशलाई अन्तार्राष्ट्रिय लहरमा लगेर २००७ साले क्रान्तिका माध्यमले उभ्याइदिए । चीनसँगको सम्झौता र इजरायललाई स्वतन्त्र राष्ट्रको मान्यता दिएर, भारतसँग समानताका आधारमा दौत्य र सन्निकटताको सिद्धान्तका घेराको राजनीतिक व्यवहारको चर बसालेर हत्पति कसैले खल्बल्याउन नसक्ने गरी आधुनिक सार्वभौम राज्यको स्वरूप प्रदान गरेपछि भने ती ग्रहको प्रभाव घरेलु खचपचमा परिसीमित भएर गएको देखिन्छ । क्रान्तिपछि युवराज महेन्द्रका कुरा सुनेर बिस्तारै बीपीलाई अप्ठ्यारोमा पार्न त्रिभुवन नै पनि लागेका थिए । पछि महेन्द्र राजा भएपछिका घटना त सबै नेपालीलाई थाहै छ । यसरी पृथ्वीनारायण शाह, बहादुर शाह, भीमसेन थापा, बीपी र त्रिभुवनसम्म आएर नेपाल विश्वको मानचित्रका लहरमा उभिन पुगेको देखिन्छ ।
देखासिकी गरी खा आहारिसे मरिजा भन्ने नेपाली उखानले भन्छ जो मान्छेमा केही गरौं भन्ने भाव हुन्छ उसले अरूले गरेको देखेर पाखुरा चलाउन थाल्छ । गिरिजाप्रसाद कोइरालाले गरेको देखेका डा.शेखर उनकै जसरी देश र जनताका बीचमा दौडाहा गरेको त सबैले देखे तर उनको सिको कसैले गर्न सकेनन् । जसमा केबल रिस र आहारिस मात्रै हुन्छ ऊ चाहिँ जसरी हुन्छ अर्काका भागमा झिँगा मारेर फाल्न थाल्छ । आफ्नो भलो गर्दा अरूको कुभलो नहोस् भन्नेले संसार बनाउँछ । डा.शेखरले यही कुरो चरितार्थ गरिदिए । आफ्नो हित गर्न अरूका बाटामा भड्खालो खन्नेले आफैं कुनै दिन खँदारिनुपर्छ भन्ने कुरो ओली र शेरबहादुरमा शतप्रतिशत लागू भएको छ ।
भाइ र बहिनी फकाएर फुटाएर सभापति जिते पनि सत्ता सयर भने आकाशको फल आँखा तरी मर हुन लाग्यो । प्रचण्डलाई समयका जालमा पारेर आफैं प्रधानमन्त्री बन्न लागेका देउवालाई ठिन्ठिन गोपाल बनाएर प्रचण्डले राम्री बेहुली भित्र्याए । प्रचण्ड र माधव नेपालको नाम लिएर कुल्ला गर्ने खड्गप्रसाद शर्मा ओली पनि दुई महिनापछि हिस्स बुढी हरिया दाँत लाउन विवश भएका थिए । अर्काको बाछो चाटी मुखभरि रौं भन्ने उखानको संकेत ओलीजस्ता उखान्चीले पक्कै बुझेका होलान् नै । अहिले फेरि उनले शेरलाई बदलाका खोरमा नराम्रोसँग फसाएका छन् कहिले सासूको पालो त कहिले बुहारीको ।
नीतिमहाधिवेशनलाई पर सार्दै ल्याएर महासमितिमा साँघुर्याउन सफल देउवाले आफूलाई चन्द्रशमशेरकै उत्तराधिकारी ठानेर आफ्ना पोष्यपुत मोहनबहादुर बस्नेत, डा.प्रकाशशरण महत र ज्ञानेन्द्रबहादुर कार्कीलगायत आफ्नी र आफ्नाकीलाई जोगाउँन लाग्दा म ताक्छु मुढो बञ्चरो ताक्छ घुँडो अथवा ‘सपना सबै उडायो हुरीले’ भन्ने गीत गाएर बस्न विवश बनाएको पनि देखियो । कत्रो ठूलो समस्या कोशीमा कारबाही गर्न तम्सेका देउवाका मुखमा नअट्ने जवाफको गाँस आयो डा.शेखर कोइरालाबाट । तमाम प्रजातन्त्रवादीका आशाका केन्द्र बन्दै आएका शेखरलाई छुउँ आफ्नै हात जल्ने नछुउँ घण्टा-घण्टामा छेपाराले रङ बदले झैँ बदल्ने प्रचण्ड रिसाए भाग्यले दिन्छ भनेको चिज पनि चन्द्रावतीले खान आँटेको गाँसलाई बतासले उडाए झैँ उडाउने ।
शेरबहादुरले आफूलाई मात्र महान् नेता ठानेका थिए तर उनले तादीमा नेतापुत्रहरू डा.शेखरलाई तर्साउन पटकपटक कुखुरासाँप्रे बैठकमा बसेर पनि फुस्रा ओठ लाउन विवश भएको बिर्सेछन् । कामधामविनै भाग्य र जाली ज्योतिषी अनि बुद्धिविनाका वामका कारणले पाँच पटक प्रधानमन्त्री बनेका विचरा देउवा टिठलाग्दो अनुहार देखाएर सदनको अग्रपंक्तिमा बस्न विवश छन् । धामीले घर भाँड्छ, वकिलले देश भाँड्छ र पत्रकारले विश्व भाँड्छ भनेजस्तै भयो । तीनजनाका तीन प्रकारका हठको पुराण हो यो ।
पृथ्वीमा धर्म, नैतिकता र सदाचार निःशेष भएर गएको छैन भने अबका ७/८ महिनामा फेरि ऊँटको बस्ने बेला आउँछ तर त्यस बेलाको ऊँट दायाँ र बायाँ कोल्टो बसेर यो देशमा च्याउ उम्रेझैँ उम्रेका सबै सत्तामा च्याँखे थाप्न पल्केका लोभी स्यालजस्ता कथित दलनायक छिचिमिरा घण्टा एकमा सिद्धिए झैँ अर्को चुनावबाट नेपाली सदन द्विदलीय स्वरूपतिर अभिसार गर्नेछ यदि ओलीका बुद्धिमा लागेको बिर्को खुलो भने र डा.शेखरले पनि देहं वा पातयेयं कार्यं वा साधयेयम्/(डु अर डाई) को मर्म बुझेर आफ्ना कदम चाले भने । नेपालका माटाले खोजेको दुई दलीय द्विसदनात्मक व्यवस्थामा फट्को हाल्न अबमात्र दुईजनाका बीचका हिम्मत र समझदारीको खाँचो छ ।
गगन, विश्वप्रकाश, धनराज, बद्री पाण्डे, प्रदीप पौडेल लगायतका नेपाली कांग्रेसमा भएका कालो दाग नलागेका र जनाधार तथा उम्दो विचार भएका युवकले युगको चाहना र नेपालको आवश्यक्तालाई बुझेर उपयुक्त आचरण अख्तियार गर्नुपर्छ । कृष्णभीर नामको एउटा पहिरो नेपालको वर्तमान राजनीतिजस्तै थियो । त्यसलाई सडक विभागमा काम गर्नेले जापानी प्रविधिको वृक्षारोपण, झार रोपण र हरियालीकरणले आज त्यो समस्या सकेका छन् । युगले यस्तै हिम्मतिलो नेता खोजेको छ । अहिले शेखरबाहेक अर्को देशको आवश्यक्तालाई बुझेर कदम चाल्न सक्ने र उच्च चरित्रको मान्छे देखिँदैन पनि । जसरी ज्ञानेन्द्रले धेरै किच्किच गर्दा गिरिजाप्रसाद कोइरालाले हिंस्रकवृत्तिको शासक ज्ञानेन्द्रलाई नै यो देशको सामान्य नागरिक बनाएर छाड्दिए ।
पञ्चले राजा र जनताका बीचमा भाँजो हालेर बत्तीस वर्ष खाएका थिए । बुद्धि नभएका सत्तास्वार्थी कांग्रेस र वाम्रेसले पनि यसैगरी किच्किच गरेर नै देशको हुर्मत लिएका छन् । अतः औषधि भनेको दुई ठूला दलको समझदारीमा सरकार निर्माण र आआफ्नै क्षमताको चुनाव लडाइँ हो । लड्डु लडाएर झिल्ली झारेर खान पल्केका मधेसवादी जमिन्दार दल र लेकमा लाग्ने खरी जुकाजस्ता अरू मौसमी दलका सारा छनकमनकलाई शेरबहादुर तथा पुकदाको सत्ता स्वार्थ र ओलीका घमण्डले मलजल गरेर पालेको वर्तमान अवस्थामा कांग्रेसका शेखर कोइरालाका नेतृत्वमा नव पुस्ता तयार भएर एमालेका पनि आसलाग्दा दोस्रो र तेस्रो पुस्ताका नेताले हिम्मत गर्न सकेका दिन नेपाल पृथ्वीको स्वर्ग बन्न सक्छ ।
शेरबहादुर तथा पुष्पकमलदाको सत्ता स्वार्थ र ओलीका घमण्डले मलजल गरेर पालेको वर्तमान अवस्थामा कांग्रेसका शेखर कोइरालाका नेतृत्वमा नव पुस्ता तयार भएर एमालेका पनि आसलाग्दा दोस्रो र तेस्रो पुस्ताका नेताले हिम्मत गर्न सकेका दिन नेपाल पृथ्वीको स्वर्ग बन्न सक्छ ।
मान्छे कमजोरीको पिण्ड हो तर पनि अलिकति मात्रै उसका मनोव्यवस्थामा सुधार आइदियो भने प्रचण्डले प्रकाश ज्वाला, जनार्दन शर्मा आदिलाई र भानुभक्त, ढकाल, प्रकाशशरण महत, मोहन बस्नेत ज्ञानेन्द्रबहादुर कार्की आदिलाई जोगाउन लाग्दा ओली र शेरबहादुरले भोगेको नियति भोग्नु पर्दैन । अति गर्व (हठ) ले रावण मारियो, सीता हरिइन्, ओली र शेरबहादुर सत्ताबाट खुर्मुरिए । राजा ज्ञानेन्द्र पनि सकिए भने अहिले पाएको सत्ता पनि ओली र प्रचण्डका लागि कति दिनको हुने हो ठेगान छैन । बरू ओलीका बुद्धिका भाँडामा लागेको बिर्को उघ्रिने र डा.शेखर कोइरालाले हिम्मतयुक्त कदम चालेर इतिहास निर्माण गर्ने हो भने देशका समग्र दशा सुध्रनेछन् । महान् चिन्तन र चरित्र भएका व्यक्तिले इतिहास निर्माण गर्दछन् ।
इतिहासका डोरेटामा पछ्याउने काम लाछीको हो । बीपी, नेहरु, गान्धी कार्लमाक्र्सले इतिहास बनाए नो रिक्स नो गेन । अतः डा.शेखरले अब भेडीले पालेको सिंहका डमरुले झैँ भ्या भ्या होइन सिंह गर्जन निकालेर नेपाली राजनीतिमा देखापरेका गन्दगी सफा गर्न समुद्रमन्थनको तयारी गर्नुपर्छ । जतिसुकै वृद्ध र थकित भए पनि सिंहले मत्ता हात्तीतिरै नजर लगाउँछ घाँस या फट्याङ्ग्रा खाएर बाँच्न खोज्दैन ।
असंशयमनारुहृय नारो भद्राणि पश्यति ।
संशयं पुनरारुहृय यदि जीवति पश्यति ।।
संकटापन्न काममा हात नहालीकन मान्छेले यश कमाउँन सक्दैन । संकटापन्न कदम चालेर बाँच्यो भने यशको सगरमाथा खडा गरेको देख्न पाउँछ उसले । अतः इतिहासका यी पेचिला घडीबाट शिक्षा लिएर डा.शेखर कोइरालाले कदम चाल्नु आवश्यक भयो । शेरबहादुर, खड्ग ओली र पुष्पकमल दाहालले नैतिकता, सदाचार, लज्जा शर्म आदिका वनमा लाएको आगो निभाउन पानी वर्षाउने कृष्ण-कादम्बिनी बनेर आउनुपर्छ डा.शेखरले ।

उनमा यो तागत पनि छ । सिंहले स्यालको सिकार गरेर बस्ने होइन । महाभारतका युद्धमा अर्जुनलाई आइपरेको दुवै हातमा लड्डुको अवसर अहिले डा.शेखरले पाएका छन् उपयोग गरे भने । हतो वा प्राप्स्यसि स्वर्गं जित्वा वा भोक्ष्यसे महीम् । सफल भए इतिहास निर्माण र समग्र राज्यैश्वर्य पाइने असफल भए पनि बाँच्दै आएका जीवनको हानी नहुने यस्तो सुवर्ण अवसरलाई नचिनेर चुप लाग्नु भनेको गंगामा बसेका भ्यागुताले पानी खान इनार खोज्नुजस्तै हुन्छ ।
डा शेखर र उनका समूहकाले यो लेख पढे हुन्थ्यो नि