काठमाडौं । राष्ट्रिय फुटबल टोलीमा ६ जना नयाँ खेलाडीले स्थान बनाएका छन् । अधिकांश खेलाडीहरू विदेश पलायन भएकाले राष्ट्रिय फुटबल टोलीमा धेरै नयाँ अनुहार थपिन थालेका हुन् । अखिल नेपाल फुटबल संघ(एन्फा)ले फिफा विश्वकप र एएफसी एसियन कप छनोटको तयारीका मलेसियासँग मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको घोषणा गरेको हो ।
अजय चौधरी, अभिषेक लिम्बू, सौभाग्य राई (सञ्जित), विशाल बस्नेत, रोहन कार्की र समिर तामाङ राष्ट्रिय फुटबल टोलीमा थपिएका नयाँ अनुहार हुनुहुन्छ । नेपाल र बहराइनबीच हुने फिफा विश्वकप र एएफसी एसियन कप छनोटको दुई खेल बहराइनमा हुँदैछ । त्यसअघि नेपालले मलेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
पूर्वनिर्धारित खेलअनुसार नेपाल र बहराइनबीचको पहिलो खेल दशरथ रंगशालामा चैत ८ गते र दोस्रो लेग चैत १३ गते हुनुपर्ने थियो । तर, दशरथ रंगशालाको खराब अवस्थाका कारण नेपालले मलेसियामा खेल्न लागेको हो । सोही मितिमा अब दुवै खेल बहराइन नेसनल स्टेडियममा हुनेछन् ।
घोषित नेपाली फुटबल टोलीको गोलकिपरमा किरण चेम्जोङ, अभिषेक बराल र विशाल सुनार, डिफेन्डरमा अभिषेक लिम्बू, अजय चौधरी, अनन्त तामाङ, छिरिङ लामा, सनिश श्रेष्ठ, सौभाग्य राई (सञ्जित) र सुमित श्रेष्ठ हुनुहुन्छ ।
यस्तै, मिडफिल्डरमा भरत खवास, विशाल बस्नेत, लाकेन लिम्बू, मणिकुमार लामा, मनिष डाँगी, रोहन कार्की, उत्सव राई र फरवाडमा अञ्जन विष्ट, दिनेश हेन्जन, हिसुब थपलिया, समिर तामाङ, सञ्जीव विष्ट र जिलेस्पीजंग कार्की हुनुहुन्छ ।
यसपटक टोलीमा स्टार विंगर आयुष घलान र दोस्रो रोजाइका गोलरक्षक दीप कार्की भने हुनुहुन्न । प्रशिक्षक अनेसेले आयुष र दीपले व्यक्तिगत कारणले नखेल्ने जनाएको बताउनुभयो । ‘आयुष र दीप बन्द प्रशिक्षणमा सामेल हुनुभएन । दुवैले आ-आफ्नो व्यक्तिगत कारण बताउनुभएको थियो । मैले दुवैको निर्णयलाई सम्मान गर्नुपर्छ । यो कुरालाई यहीँ अन्त्य गर्न चाहन्छु,’ उहाँले भन्नुभयो ।
नेपाली टोलीमा दुई गोलरक्षक प्रशिक्षक राखिएका छन् । विश्वकप छनोटअन्तर्गत बहराइनमा हुने खेलका लागि मलेसिया तयारी गर्न प्रस्थान गर्ने टोलीमा विनोद डंगोल र मनिष तिम्सिना दुवैलाई गोलरक्षक प्रशिक्षकका रूपमा समावेश गरिएको छ । प्रवेश कटुवाल टोलीका सहायक प्रशिक्षकको भूमिकामा हुनुहुन्छ । टोलीको फिजियोमा लोकेन्द्र कुँवर रहनुभएको छ । त्यसबाहेक एन्फाले फुटबल टोलीसँगै पदाधिकारी र कर्मचारी गरी थप १० जनालाई टोलीसँगै पठाउन लागेको छ ।
भ्रमणमा जानेमा एन्फा उपाध्यक्ष दीपक खतिवडा, सदस्य महेन्द्र क्षेत्री, प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर, जिल्ला फुटबल संघ संखुवासभाका अध्यक्ष भरत घिमिरे, ललितपुरका सचिव प्रवीण श्रेष्ठ, कास्कीका सुविनकुमार श्रेष्ठ, थ्री स्टार क्लबका उपाध्यक्ष जयकृष्ण श्रेष्ठ, खुमलटारका सचिव बुद्धि गुरुङ, मकवानपुरका सुनिल लोप्चन र एन्फा कर्मचारी ज्ञानु राई हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच