
नविश्वसेत्पूर्वविरोधवैरिणाम्
सामान्य मान्छे भन्छन् कस्ता राजनीतिक कुरा गरेको ? कसैले ढाँटो, छलो, ठगो भने फलानाले राजनीति गरो भन्छन् । अरूभन्दा भिन्न बनेर सोझा सिधालाई ठग्ठाग गर्नु नै राजनीति हो त ? करनी र कथनीमा अनेकता प्रदर्शन नै राजनीति हो ? राप्रपाका अध्यक्षले गाउँमा नेता आउँदा चोर आयो भन्छन् भनेर सुनाएका थिए । रेशम चौधरीकी श्रीमतीले ज्यानमारालाई राजबन्दी भन्ने गरेको पनि सुनियो । स्वयं उनका श्रीमान् ज्यानमारा नै हुन् । रामचन्द्र र शेबदे प्रचण्डका दास बनेर भए भरका ज्यानमारा, डाकालाई आममाफी दिएको पनि देखियो । सहकारी ठग, फर्जी नागरिकतामा दागिएको मान्छे पटकपटक गृह र उपप्रधानमन्त्री बने/बनाइएको पनि देखियो ।
प्रतिपक्षका नेताले टेलिफोन गर्दा टेलिफोन नै अर्को पार्टीका सभापतिले नउठाएको गुनासो पनि संसदबाटै सुनियो । नेता हुनुको सकस एक जना प्रा. डा. मित्रले लेख्नुभएछ र पढेँ पनि । घाँसदाउरा खेतीपाती गर्नेको सकस नबुझ्ने परिवारवादी नेता, नेता होइन ठग हो, चोर हो, वञ्चक हो अतः त्यसलाई त्यति सकसले पुग्दैन कारगारमा नै कोच्नुपर्दछ । पानी र आगाको स्वभाव मिल्दैन त्यसो भएको हुनाले यिनमा मैत्री सम्भव छैन । सिंह र मृगमा मैत्री सम्भव छैन किनभने यिनमा भोज्य भोजक सम्बन्ध छ । कम्युनिस्ट र कांग्रेसमा पनि मैत्री सम्भव छैन किनभने यी दुवै पारस्परिक नीति निन्दक हुन् । यदि जनता र देशका निमित्त हो राजनीति भने स्वभाव बैरी, आचरण बैरी, नीति बैरी, उद्देश्य बैरीमा मित्रताका ढोङ प्रदर्शन नगरे हुन्छ ।
अतः बीपीले कम्युनिस्टलाई कुनै पनि प्रकारले विश्वास गर्नुभएको थिएन । त्यस्तै गणेशमानले पनि २०४६ सालको आन्दोलनमा कम्युनिष्टले संयुक्त मोर्चा बनाऊँ भन्दा हुँदैन । तिमीहरू कम्युनिष्ट एक ठाउँमा भएर प्रजातन्त्रका लागि काम गर । हामी प्रजातन्त्रवादी एक ठाउँबाट प्रजातन्त्रका लागि लाग्छौँ भन्ने जवाफ दिनुभएको थियो । सत्तालुब्ध आजका कांग्रेसले कम्युनिष्टलाई विश्वास गरेको दुस्परिणाम ती महामानव आज आँखामा आँसु र छातीमा पश्चापको भर्भराउँदो आगाको भुङ्ग्रो बोकेर संसदका अग्रासनमा बसेर ओलीका गोली जस्ता बोली सुन्न विवश छन् । यही हो अघि राँड (हीनकर्मी) जानेन, पछि राँड मानेन, बाघ लागो घिच्याउन, राँड लागो चिच्याउन भनेको । नीतिले पनि भनेको छ :
मार्जारो महिषो मेषः काकः कापुरुषस्तथा ।
विश्वासात्प्रभवन्त्येते विश्वास्तत्र नो हितः ।।
सामथ्र्यविहीन समूहले केही गर्दैन अर्थात् बिरालो, राँगो, भेडो, काग र कायर पुरुषमा गरिएका विश्वासले अनिष्ट गराएरै छाड्छ । पुरुषको अर्थ कायर पनि हो, ठग पनि हो र लुब्ध वञ्चक तथा हिंस्रक पनि हो । यो देशमा भएका सबै कम्युनिष्ट अविश्वसनीय, हिंस्रक र सत्तालिप्सु छन् भन्ने कुरो अब पनि लुकेछिपेको छ र ? शेरबहादुरले यो कुरो विचारै नगरी सत्ताका लोभमा परेर गरेका मैत्रीले उनलाई त न्यानो÷जाडो दुवै गरायो तर कांग्रेसमा भने संस्कार, संगठन र संस्कृतिमा अत्यन्त घातक रोग भिœयाएर छाडिदिएको छ । नेपाली कांग्रेसप्रति जनताका दिलमा रहेको आस र भरोसामा डढेलो लागेको छ । कांग्रेसको सदाचार, नैतिकता र क्रान्तिकारी चरित्र गठबन्धनका दलदलमा परेर हिलाम्मे बनेको छ ।
चौध पन्ध्र महिनामा तीन पटक संसद्मा विश्वासको मत प्रचण्डले पाउनाले अर्को पनि के स्पष्ट भएको छ भने यस देशमा शेरबहादुर, खड्गप्रसाद ओली र पुष्पकमल दाहालभन्दा सत्ता राजनीति गर्न सक्ने मान्छेको सर्वथा अभाव रहेछ ।
बेस्सरी भोकाएको सिंह हुँडार (हायना) भगाउनभन्दा सिनो लुछ्न थाल्छ । कांग्रेसले त्यसै गरेको देखियो । जानाजान सुनतस्करीमा लागेका वर्षमान पुन–नन्दबहादुर पुनका परिवार, महराका बाबुछोरा, संसद्को सिसी टिभी चपाउने जनार्दन नामको मुसो, पुकदालाई अरू सबै कुरा भाँडमा जाऊन् तिमी जसरी पनि प्रधानमन्त्रीका कुर्सीमा बस्नुपर्छ र हामीले अकुत धन कमाउनुपर्छ यदि यसो नगर्ने भए बन्दुक बोकेर आतंक किन मच्चाएको त बा भन्ने छोरी र ज्वाइँले जे भन्छन् त्यही गर्नु नै प्रचण्डको सुशासन हो भन्ने अब स्पष्ट भइसकेको छ । १४/१५ महिनामा तीन पटक संसद्मा विश्वासको मत प्रचण्डले पाउनाले अर्को पनि के स्पष्ट भएको छ भने यस देशमा शेरबहादुर, खड्गप्रसाद ओली र पुष्पकमल दाहालभन्दा सत्ता राजनीति गर्न सक्ने मान्छेको सर्वथा अभाव रहेछ ।
‘निरस्त पादपे देशे एरण्डो–पि द्रुमायते’ भनेजस्तै नेपालमा अहिले राजनीतिक चरित्रका मान्छे रहेनछन् भन्न विवश छन् जनता । बीपी पुत्र, गणेशमानपुत्र र निधिपुत्र पनि राजनीतिक चरित्रबाट लाजनीतिक चरित्रमा स्थानान्तरित भएको देखिँदैछ । नेपाली कांग्रेसमा आसलाग्दा भनेका पनि पानीमरुवा कसैको दौराको फेर समातेर वैतरणी तर्न चाहने या अर्काका काँधमा बसेर सोझा जनताका अघिल्तिर डिङ हाँकेर नथाक्नेको जमातमात्रै रहेछ । शेखर, गगन, विश्वप्रकाश, धनराज, एनपी साउद, पूर्णबहादुर खड्का, बद्री पाण्डे, किशोर राठौर, कल्याण गुरुङ होऊन् या विद्वान र दुजाङ सेर्पा, जसको नाम लिए पनि पानीविनाका सुख्खा त्यान्द्रा भएरै प्रस्तुत भए के काम ? सिकारीले पालेका सिकार सहायकजस्ता मात्रै इशारा चाहिने आफ्नो स्वचिन्तन र त्रियाकलाप बेगरका बुख्याँचा ।
सम्पतिको राष्ट्रियकरण होइन सामाजिकीकरण गरेर सक्ने र नसक्नेको सीमा निर्धारण गरी लोककल्याणकारी राज्यको स्वरूप बनाउन पुगेका दिन आवधिक चुनाव, विधिको सर्वोच्चता, सक्नेलाई कमाउने अवसर दिएर आएको करबाट नसक्नेलाई सक्ने बनाउने सिद्धान्तमा आधृत थियो कांग्रेस तर आज कांग्रेसको त्यो मौलिक स्वरूप साम्यवादीसँग गएर मिसिएको छ ।
इखविनाको छोरो र विषविनाको सर्पको काम छैन । कांग्रेसले आजैसम्म पनि संविधान लागू गर्दा देखिएका संवैधानिक अन्तराल, अस्पष्टता र विरोधाभासलाई संशोधन गरेर दलीय चरित्र अनुकूलको संविधान बनाउन प्रयत्न नगरेको देखेर पनि विश्वका संविधानविद् र राजनीतिज्ञ आश्चर्यचकित बनेर हेरिरहेका छन् । यति चाँडै कांग्रेस आफ्ना चरित्रबाट विमुख भएर एकदलीय अधिनायकवादीको दास बन्ला भनेर कसले सोचेका थिए होला ? प्रतिस्पद्र्धात्मक बहुलवादमा विश्वास गर्ने कांग्रेस विनाकामको प्रदेश पालेर बसेको छ ।
सामाजिक अन्याय र आर्थिक तथा अवसरको असमानता हटाउन टाउकामा कात्रो बाँधेर लड्ने कांग्रेस मिटर ब्याजी, लघुवित्त, ज्यानमारा, रक्तचन्दन र सुन तस्करका ज्यादतीका परिणाम हेरेर बसेको छ । यही हो कांग्रेस चरित्र भने कांग्रेस विघटन गरिदिए हुन्छ । विश्वका ती मान्छे जो मान्छेले गर्ने थिचोमिचो, ज्यादती र आर्थिक या अन्य कुनै पनि प्रकारको शोषणका विरुद्ध संघर्ष गर्ने मानवीय क्रियाकलापको नाम थियो आज नेपाली कांग्रेसले यस चरित्रको मौलिकता गुमाएको छ ।
नामर्दले वृथा चिन्ता गर्छ
वाम मिले भने हामीलाई असजिलो हुन्छ चुनाव जित्न भनेर टिप्पणी गर्ने पनि भेटेको छु मैले । नेपाली कांग्रेस भनेको विश्वका कुनै पनि समाजमा रहेका प्राचीन मूल्यमान्यता संस्कार संस्कृतिलाई आत्मसात गर्दै तिनमा सामयिक सुधार गर्ने सिद्धान्त बोकेको पार्टी हो । अतः यो पूर्वको ऋग्वेददेखि विश्वमा रहेका जरथुस्त, बुढापेस्ट एवं बाइबल र कुरान देखेर तर्संदैन । पुँजीपतिलाई देखेर खुकुरीमा धार लाउने हिंस्रक कम्युनिष्ट जत्था होइन । आर्थिक, न्यायिक र सामाजिक अन्याय, अत्याचार, थिचोमिचो आदिका विरुद्ध विश्वव्यापी आन्दोलन र संघर्षको नाम हो कांग्रेस । वामका संगतले कांग्रेसमा पनि संकीर्णता पलाएका थुप्रै प्रमाण छन् ।
राज्यमा भएका उत्पादनका साधन या राष्ट्रिय पुँजी निर्माणका स्रोतमा राज्यले हस्तक्षेप गर्ने सिद्धान्तका अनुयायी हुन् कम्युनिष्ट । त्यसैले कम्युनिष्टको बाहुल्यपछि उद्योगधन्दा थला परे, सुन, रक्तचन्दन मानव बेचविखनमा वृद्धि भयो । नेपाली कांग्रेसले मध्यमार्ग परित्याग गर्ला कि जस्तो देखिएका बेला वामप्रभाव बढेको देखियो । समाजमा रहेका हुनेखानेलाई राष्ट्रिय उत्थानमा सहभागी गराएर, सक्नेलाई उद्योग खोल्न दिएर नसक्नेलाई उचित पारिश्रमिकका साथ आर्जनको अवसर दिएर राज्यको हस्तक्षेप होइन सहयोगमा समाजमा भएको धन, सीप, कलकारखाना आदिको विकास गर्ने सिद्धान्त हो कांग्रेसको ।

सम्पतिको राष्ट्रियकरण होइन सामाजिकीकरण गरेर सक्ने र नसक्नेको सीमा निर्धारण गरी लोककल्याणकारी राज्यको स्वरूप बनाउन पुगेका दिन आवधिक चुनाव, विधिको सर्वोच्चता, सक्नेलाई कमाउने अवसर दिएर आएको करबाट नसक्नेलाई सक्ने बनाउने सिद्धान्तमा आधृत थियो कांग्रेस । तर, आज कांग्रेसको त्यो आफ्नो मौलिक स्वरूप साम्यवादीसँग गएर मिसिएको छ । साम्यवाद र पुँजीवादका चेपमा परेका राज्यका जनताको प्राण थियो प्रजातान्त्रिक समाजवाद । साम्यवादको एकदलीय राज्यनियन्त्रणमा परेका अर्थतन्त्रले हित गर्न नसकेको र पुँजीवादका आर्थिक शोषण र उत्पादनको व्यक्तिमुखी चट्टानमा पेलिएका बाँकी तेस्रो समूहमा रहेका विश्वका जनताको त्राणलाई हामीले साम्यवादमा मिसाएर खिचडी पकायौँ । यसबाट अब नेपाली कांग्रेस सर्वथा मुक्त हुनैपर्छ । सहकार्य गर्नैपरे पनि समान विचार, मिल्दोजुल्दो आर्थिक कार्यक्रम र दर्शनकासँग मात्र गनुपर्छ ।
आज म प्रचण्डलाई हृदयतः धन्यवाद पनि दिन्छु, किनभने द्रव्य, सत्ता, शक्तिमा लुब्ध बनेर नेपाली कांग्रेसको मनोव्यवस्था नै बिग्रिसकेको थियो । एकाएक नांगेझार पारेर सिस्नुपानी लाउने हिम्मत देखाए प्रचण्डले । आचरणहीन छोरालाई बाले गाला चड्काएर ठीक ठाउँमा ल्याए झैँ प्रचण्ड र ओलीले कांग्रेसका गाला चड्काएको देख्दा म खुशी छु । दुःख यसमा कि सत्ताविना बाँच्न नसक्ने, उत्कोचविना गुजारा चलाउन नसक्ने कांग्रेसी मर्ने भए । बरालिएर सकिनै लागेको कांग्रेस अब संगठन जनजीविका आदिका कुरा लिएर गाउँघरतिर प्रवेश गर्दछ र देशदेशावरका प्रजातन्त्रवादी शक्तिसँग पनि कल्याणकारी राज्ययोजनामा छलफल गर्छ र नेपाली जनताका चाहनालाई सम्बोधन गर्दै गठबन्धनको गलत संस्कृतिबाट पार्टीलाई जोगाउने छ ।

यो देख्दा आमनेपाली खुशी भएजस्तै म पनि खुशी छु । नेपाली कांग्रेसमा रहेका संस्कार, प्रतिभा, योजना, संगठन गर्ने क्षमता भएका जति अब ध्रुवीकृत भएर आचरण बिग्रेका, चिन्तन बिग्रेका, सुखसयलमा लागेर आफ्नो मौलिकता नै बिर्सेकालाई पनि तालिम दिनुपर्छ । व्यक्ति कुन तहको हो भन्ने होइन ठूलो भए पनि ज्ञान र आचरणमा सानो भइस लु आइज सिक्न भनेर सिकाउनुपर्छ । पार्टी रहेमात्रै हामी पनि रहन्छौँ, अवसर पनि आउँछ भन्ने सोचको विकासमा कांग्रेस लाग्नुपर्छ । यसका निमित्त हर उपाय गरेर कांग्रेसले प्रदेश खारेजी र निर्वाचन पद्धति बदल्ने काम गर्नैपर्छ । अन्यथा कांग्रेस पनि प्रचण्ड र ओलीजस्तै गरी बतासे फूल पार्ने पोथीमा परिणत हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच