काठमाडौं । प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्तारूढ दलको प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहकारी ठगी प्रकरणमा मुछिनुभएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउमा उत्रिनुभएको छ । सत्ता जोगाउन अध्यक्षद्वय प्रचण्ड र ओली नै सहकारीको रकम हिनामिना प्रकरणमा अनुसन्धानको दायरामा रहनुभएका गृहमन्त्री लामिछानेको बचाउमा उत्रिनुभएको हो । अध्यक्षद्वयले रविको बचाउ मात्रै गरेका छैनन्, अदालतका न्यायाधीशको शैलीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहनुभएका लामिछानेलाई निर्दोष करारसम्म गर्न भ्याएका छन् । प्रधानमन्त्री प्रचण्डले सहकारी ठगीमा लामिछानेको संलग्नता नदेखिएको ठोकुवासमेत गर्नुभयो ।
मंगलबार संसद्मा नेपाली कांग्रेसले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले लामिछाने सहकारीको रकम हिनामिनामा संलग्न भएको कुनै आधार र प्रमाण नभेटिएको दाबी गर्नुभयो । जबकि प्रधानमन्त्री कार्यालय कुनै अनुसन्धान गर्ने निकाय होइन । लामिछानेलाई निर्दोष करार गर्दै प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘लामिछानेविरुद्धको जाहेरीमा सहकारी हिनामिनामा संलग्न भएको कुनै आधार र प्रमाण केही पनि पेस नगरिएकाले प्रहरीले उक्त जाहेरी दर्ता नभएको हो । मुद्दा बुझाइसक्दासम्म उहाँको नाममा उजुरी वा मुद्दा केही छैन । उजुरी पर्दैमा राजीनामा दिनुपर्ने हो भने के हुन्छ ? ठाडो उजुरी पर्नासाथ राजीनामा दिने सहमति हामी गर्न सक्छौँ त ?’
हामीले कामले जवाफ दिने हो । म भन्छु, कांग्रेसले चार वर्ष संसद् अवरुद्ध गरोस् । हाम्रो संयन्त्रले चार वर्ष काम गरोस् । देशमा अनियमितता गर्ने र अनुसन्धानलाई प्रभावित गर्ने, अनुसन्धान गर्दागर्दैका मान्छेलाई कुर्सीबाट हटाएर पठाउने कांग्रेसले नैतिकताको कुरा गर्ने ?
यही फागुन २१ गतेभन्दा पहिलेसम्म प्रचण्डको उछितो काड्दै हिँड्नुभएका नेकपा एमालेका अध्यक्ष ओलीले पनि गृहमन्त्री लामिछानेलाई निर्दोष करार गर्न प्रचण्डको बोलीमा लोली मिलाउनुभएको छ । अध्यक्ष ओलीले कांग्रेसले लामिछानेलाई बदनाम गर्न वा फसाउन खोजेको आरोपसमेत लगाउनुभयो । मंगलबार प्रेस चौतारी कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ओलीले कांग्रेसले सरकारबाट हट्नुपरेको पीडाको छट्पटीमा छाती पिटेर यो कुरा उठाएको आरोप लगाउँदै भन्नुभयो, ‘रवि लामिछानेलाई बदनाम गर्न र फसाउन खोज्ने काम गरेको छ ।’
रविको बचाउ गर्नुमा प्रचण्ड–ओलीको एउटै स्वार्थ छ सत्ता जोगाउनु । कांग्रेससँगको गठबन्धन तोडेर बनाइएको नयाँ गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्णायक छ । रास्वपा सरकारबाट बाहिरिनेबित्तिकै सरकार ढल्ने अवस्था छ । रविलाई सरकारमा टिकाइराख्न प्रचण्ड–ओलीले रविको बचाउ गरेको राजनीतिक विश्लेषण भइरहेको छ । यसअघि कांग्रेससहितको सरकार हुँदा एमालेले भ्रष्टाचार आरोप लागेका मन्त्री हटाउनुपर्ने भन्दै संसद्मा हंगामा गरेको थियो । तर, गठबन्धन फेरिनेबित्तिकै एमाले आरोपितको बचाउमा उत्रिएको छ ।
कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्रीविरुद्ध उजुरी परेकाले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने अडान राख्दै आएको थियो । मंगलबार संसद्मा प्रधानमन्त्री प्रचण्डले यस सम्बन्धमा जवाफ दिए पनि कांग्रेस सन्तुष्ट हुन सकेन । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रमाण फेला परेन भन्ने प्रधानमन्त्री प्रचण्डको भनाइले आफूहरू अचम्ममा परेको टिप्पणी गर्नुभएको छ । सूर्यदर्शन सहकारीका एक हजारभन्दा बढी बचतकर्ताले आफ्नो रकम हिनामिना गरेको भन्दै २०८० साउन २२ गते कास्की प्रहरीमा जाहेरी दिएका थिए ।
मूल उजुरी परेको ६ महिनापछि माघ १६ गते जिल्ला प्रहरी कार्यालयमा पूरक जाहेरी दिइएको थियो । जसमा रवि लामिछानेसहित १८ व्यक्ति तथा कम्पनीलाई विपक्षी बनाई जाहेरी पेस भएको थियो । रविले गृह मन्त्रालयको नेतृत्व सम्हाल्दैै गर्दा पनि स्वार्थ बाझिने मन्त्रालय लिएको भन्दै आलोचना भइरहेको छ । यसअघि गत वर्षको पुसमा पनि उहाँ आफूविरुद्धको अनुसन्धान जारी रहँदा स्वार्थ बाझिने गरी गृहमन्त्री बन्नुभएको थियो ।
संसदीय छानविन समिति गठन गर्न कांग्रेसको माग
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी अनियमिततामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानविन गर्न संसदीय समिति गठनको माग गरेको छ । छानविन गर्न सरकार तयार नभए संसद् चल्न नसक्ने उसले चेतावनी दिएको छ ।
प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रीको बचाउ गर्दै कुनै सहकारीको सञ्चालक र व्यवस्थापक नभएको र उनको नाममा प्रवाह भएको ऋण फस्र्योट भएको देखिन आएकाले अनुसन्धान गर्नुपर्ने नदेखिएको भन्ने प्रहरीबाट ब्रिफिङ आएको दाबी गर्नुभयो ।
प्रधानमन्त्रीको दाबीप्रति रुष्ट कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भन्नुभयो, ‘प्रधानमन्त्रीको जवाफले चित्त त बुझेन, बरु चिन्ता जाग्यो । चिन्ता के भने सम्माननीय प्रधानमन्त्रीलाई गलत जानकारी दिइँदै छ । प्रधानमन्त्री नै अँध्यारोमा हुनुहुन्छ भने निष्पक्ष छानविन कसरी होला ? पीडितले दिएको जाहेरी, पोखरा महानगरपालिकाको अध्ययन प्रतिवेदन र स्वयं लामिछानेले सरकारी अड्डामा गरेको कागजात बाहिर आइसक्दा पनि प्रधानमन्त्रीले प्रमाण छैन भन्नुभयो । के प्रमाण हुँदा अनुसन्धान हुन्छ ?’
गृहमन्त्री लामिछानेमाथि संसदीय छानविन समिति माग गर्दै लेखकले भन्नुभयो, ‘प्रधानमन्त्रीले कुनै प्रमाण छैन भन्नुभएको छ, म भन्छु पर्याप्त प्रमाण छ । यही जुहारीले निष्कर्ष हुन्छ ? संसद्अभ्यास भएको, संसदीय मान्यतामा स्थापित भएकोतर्फ सरकारलाई आग्रह गर्न चाहन्छु । तपाईं प्रमाण छैन भन्दै हुनुहुन्छ, म पर्याप्त प्रमाण भन्छु । यही सदनभित्र छानविन समिति गठन गरौँ अनि स्पष्ट हुन्छ ।’ विगतमा मन्त्रीमाथि प्रश्न उठ्दा संसदीय समितिसमेत गठन भएको उल्लेख गर्दै लेखकले आगामी दिनमा त्यो माग पूरा नगरिए संसद् अवरोध हुने चेतावनीसमेत दिनुभयो ।
गृहमन्त्री रवि लामिछानेको बारेमा प्रधानमन्त्री प्रचण्डले दिनुभएको जवाफ कांग्रेसलाई चित्त नबुझेको स्पष्ट पार्दै खतिवडाले भन्नुभयो, ‘प्रधानमन्त्रीको जवाफ चित्त बुझेन । पोखरामा पीडितले दिएको निवेदन पनि अनुहार त्यस्तै मिलेको, दाह्री पनि भएको रवि लामिछाने हो कि गृहमन्त्री फाल्टै अर्को हो भनेर पीडितले सोधेका छन् ।
चार वर्ष संसद् अवरोध गर्न कांग्रेसलाई रविको चुनौती
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो राजीनामा माग्ने प्रतिपक्षी दल नेपाली कांग्रेसलाई चार वर्ष संसद् अवरुद्ध गर्न चुनौती दिनुभएको छ । संसद् अवरोध गर्ने र संसदीय समितिको माग गर्ने कांग्रेसको अधिकारको कुरा भएको तर एउटा ठाडो उजुरीका भरमा संसद् अवरुद्ध गर्न खोजिएको प्रति आपत्ति जनाउँदै गृहमन्त्री लामिछानेले भन्नुभयो, ‘यस्तो अभ्यास सिकाउन खोज्ने हो भने यसमा अडिइरहनका लागि म कांग्रेसलाई अनुरोध गर्छु । कांग्रेस दूधले नुहाएको पार्टी हो कि होइन भन्ने जनताले बुझेका छन् । हामीले कामले जवाफ दिने हो । म भन्छु, कांग्रेसले चार वर्ष संसद् अवरुद्ध गरोस् । हाम्रो संयन्त्रले चार वर्ष काम गरोस् । देशमा अनियमितता गर्ने र अनुसन्धानलाई प्रभावित गर्ने, अनुसन्धान गर्दागर्दैका मान्छेलाई कुर्सीबाट हटाएर पठाउने कांग्रेसले नैतिकताको कुरा गर्ने ? सुशासनको कुरा गर्ने ? चार वर्ष अवरुद्ध गरोस् ।’
लामिछानेमाथि छानविन गर्न संसदीय समिति सम्भव छैन : ओली
सत्तारूढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले परिपक्व प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । सरकारभन्दा बाहिर हुनेबित्तिकै कांग्रेसले आवेश, उत्तेजना देखाउने, प्रतिशोधपूर्ण अभिव्यक्ति, क्रियाकलाप गर्ने र संसद् अवरुद्ध गर्ने जस्ता क्रियाकलाप गर्नु नहुने जिकिर गर्दै ओलीले भन्नुभयो, ‘अहिले उहाँहरू सरकारबाट बाहिर हुनुहुन्छ ।सरकारभन्दा बाहिर हुनेबित्तिकै नेपाली कांग्रेस जस्तो पार्टीले कुनै आवेश, उत्तेजना देखाउने, प्रतिशोधपूर्ण अभिव्यक्ति, क्रियाकलाप गर्ने र संसद् अवरुद्ध गर्ने जस्ता क्रियाकलाप गर्नु हुँदैन । हामी नेपाली कांग्रेसबाट एउटा परिपक्व प्रतिपक्षको भूमिका माग्दछौँ । संसदीय छानविन समिति कसरी र केका लागि बन्ने ? गृहमन्त्री लामिछानेमाथि छानविन गर्न संसदीय समिति गठन सम्भव छैन ।’
एमाले प्रतिपक्षमा हुँदा तत्कालीन सरकारमा कांग्रेसबाट स्वास्थ्यमन्त्री भएका मोहनबहादुर बस्नेतको राजीनामा माग्दै संसद् अवरुद्ध गरेको थियो । उक्त प्रसंग उल्लेख गर्दै ओलीले मन्त्रीका हैसियतमा झण्डा हल्लाएर अनुसन्धानमा प्रभाव पार्न नहुने कुरा त्यतिबेला उठाएको बताउनुभयो । आफू प्रधानमन्त्री रहेको बेला बोली चिप्लिँदा तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङ र सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई राजीनामा गराएको कुरा पनि ओलीले स्मरण गर्नुभयो ।
संसदीय समिति नबने संसद्को आगामी बैठक चल्दैन : खतिवडा
कांग्रेस सांसद रामहरि खतिवडाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय छानविन समिति गठन नभए आगमी संसद्को बैठक चल्न नदिने चेतावनी दिनुभएको छ ।
गृहमन्त्री रवि लामिछानेको बारेमा प्रधानमन्त्री प्रचण्डले दिनुभएको जवाफ कांग्रेसलाई चित्त नबुझेको स्पष्ट पार्दै खतिवडाले भन्नुभयो, ‘प्रधानमन्त्रीको जवाफ चित्त बुझेन । पोखरामा पीडितले दिएको निवेदन पनि अनुहार त्यस्तै मिलेको, दाह्री पनि भएको रवि लामिछाने हो कि गृहमन्त्री फाल्टै अर्को हो भनेर पीडितले सोधेका छन् । त्यही जस्तो लाग्छ, उहाँचाहिँ दोषी होइन कि भनेर जवाफ दिनुभयो । हामीले संसदीय समिति गठन गर्न माग गरेका छौँ । त्यो माग पूरा नगरे भोलिदेखि संसद् चल्दैन, त्यो काम सरकारको हातमा छ ।’
प्रधानमन्त्रीले सदनमा झुटो बोले: डा. कोइराला
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गृहमन्त्रीका बारेमा प्रधानमन्त्री प्रचण्डको जवाफ झुटो भएको टिप्पणी गर्नुभएको छ । मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीको जिज्ञासामा कोइरालाले संसद्मा प्रधानमन्त्रीले गृहमन्त्रीका विषयमा झुटो बोलेको बताउनुभएको हो । आफूमाथि प्रश्नचिन्ह खडा भए पनि गृहमन्त्रीले नैतिकताका आधारमा नै राजीनामा दिनुपर्ने उहाँको भनाइ छ । कोइरालाले छानविन समितिको मागमा कांग्रेस अडिग रहेको स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री प्रचण्ड, कृष्ण सिटौला र रमेश लेखकबीच छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभामा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्ण सिटौला र प्रतिनिधि सभाका प्रमुख सचेतक रमेश लेखकसँग छलफल गर्नुभएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकअघि नयाँ बानेश्वरस्थित संसद् भवनमा उहाँहरूबीच छलफल भएको हो । नेताहरूका अनुसार संसद् सञ्चालन, प्री–बजेट छलफल र संसद्मा विचाराधीन विधेयकहरूका सम्बन्धमा उहाँहरूबीच छलफल भएको छ । कांग्रेसले उपप्रधान तथा गृहमन्त्री लामिछाने सहकारीको रकम अपचलनसम्बन्धी अनुसन्धानको दायरामा रहेको भनी प्रश्न उठाउँदै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच