गलेश्वर : पौराणिक स्थलबाट धार्मिक पर्यटकीय स्थलमा परिणत

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 15 mins

म्याग्दी  । पूर्व पट्टी कालीगण्डकी नदी, दक्षिणतर्फ वेनी वजार, उत्तरमा मुक्तिनाथ र पश्चिमतर्फ रावणको जन्मस्थान मानिने पुलस्त्य आश्रमको बीचमा अवस्थित गलेश्वर पौराणिक स्थलबाट प्रमुख धार्मिक पर्यटकीय स्थलमा परिणत भएको छ ।

नेपालको दोस्रो पशुपतिनाथका नामले परिचित म्याग्दीको बेनी नगरपालिका वडा नं ९ मा पर्ने गलेश्वर धाममा पछिल्लो समय तीर्थयात्रीहरुको साथै आन्तरिक र बाह्य पर्यटकको संख्या पनि बृद्धि हुँदै गएको छ ।

गलेश्वरमा निर्माण भएका विकासका पूर्वाधार र प्रचारप्रसारका कारण केही वर्षयता यसको महत्व बढेको र आन्तरिक तथा वाह्य पर्यटकहरुको बाख्लो आगमन हुन थालेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।

गलेश्वर खासमा पौराणिक स्थल हो । स्कन्द पुराणका अनुसार वावु दक्ष प्रजापतिको यज्ञमा आफ्ना लोग्ने शिवको अपमान गरिएपछि जलिरहेको अग्नीमा हाम फालेर आत्महत्या गरेकी सतीदेवीको लाशलाई भगवान शिवले काँधमा बोकेर हिमालय पर्वततर्फ जाँदै गर्दा गला पतन भएको र त्यस ठाउँको नाम गलेश्वर रहन गएको हो ।

१९ औं शताव्दीको अन्त्यतिर गलेश्वर वावा नाम गरेका एक जना साधुले सानो कुटी र सानो कच्ची मन्दिर बनाइ त्यस क्षेत्रमा बस्न थालेपछि गलेश्वर पौराणिक तीर्थस्थलको रुपमा चिनिदै जान थालेको इतिहास रहेको छ । यही पौराणिक स्थल गलेश्वरमा निर्माण गरिएका आकर्षक भौतिक पूर्वाधार र प्रचार प्रसारका कारण पछिल्लो समय गलेश्वर नेपालकै प्रशिद्ध धार्मिक पर्यटकीय स्थल बन्दै जान थालेको सरकोकारवालाहरुको भनाइ छ ।

धार्मिक, आर्थिक र पर्यटकीय महत्वले युक्त गलेश्वरधाममा आकर्षक पूर्वाधारहरु निर्माण गरिए पछि पौराणिक स्थल अब धार्मिक पर्यटकीय स्थलको रुपमा विकास हुँदै गएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । यस वर्ष फागुन २५ गते (हिजो) महाशिवरात्रीका दिन २५ हजार भन्दा बढी भक्तजनहरुको गलेश्वर शिवालयमा पूजा आराधना गरेका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

अध्यक्ष रेग्मीका अनुसार नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्राकार शीला (पत्थर) माथि अवस्थित स्वयं प्रकट शिवलिङ्ग रहेकोे प्रशिद्ध तीर्थस्थल गलेश्वरधाममा करोडौंका पूर्वाधारहरु निर्माण भएपछि तीर्थयात्री तथा वाह्य पर्यटकहरुसमेत आकर्षित भएका छन् ।
कालीगण्डकी नदीदेखि नै सुरु भएको चक्राकार शीलाको मध्यभागमा कहिल्यै नसुक्ने पोखरी र कल्पवृक्ष रहेको विश्वकै अलौकिक गलेश्वरधाममा चढेको भेटी र दाताहरुको सहयोगबाट कोषको पहलमा मन्दिर नजिकै कालीगण्डकी नदी किनारमा रहेको खाली जग्गामा पर्यटन कार्यालय पोखराको सहयोगमा क्याम्पिङ साइट, उद्यान, सार्वजनिक शौचालय र खेलमैदान निर्माण भएका छन् । गलेश्वरदेखि पौलत्स्य आश्रम जोड्ने पदमार्ग निर्माण भएको छ । बेनीदेखि तीन किलोमिटर उत्तरतर्फ बेनी–जोमसोम सडकको छेउमा पर्ने गलेश्वरमा बसपार्क समेत निर्माण भएको छ ।

विद्युतीय उपकरणको सहायताले कालीगण्डकी नदीबाट पानी तानेर मन्दिर परिसरको १०८ धारामा स्नान गर्ने व्यवस्था मिलाइएको छ । गत वर्ष खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालयसँग समन्वय गरेर १०८ धारा निर्माण गरिएको हो ।
त्यसैगरी गलेश्वरमा तीर्थयात्री निवास र उनीहरूलाई निःशुल्क भोजनको व्यवस्था मिलाइएको छ । अन्नक्षेत्र आश्रम व्यवस्थापन समितिले मुठ्ठीदान संकलन गरेर गलेश्वर वृद्धाश्रममा आश्रित जेष्ठ नागरिक र मुक्तिनाथ आवतजावत गर्ने तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था मिलाउँदै आएको अध्यक्ष रेग्मीले बताउनुभयो ।

मन्दिरमा चढेको भेटी र दाताहरुको सहयोगबाट धर्मशाला, बगैंचा, अतिथी आवास, संस्कृत पाठशाला, हवनकुण्ड,एक सय आठ शिवलिङ्,कालीगण्डकीको जलबाट गलेश्वर शिवालय क्षेत्रमा नै स्थान गर्न गोमुखे धारा,अग्लो त्रिशुल लगायतका संरचनाहरु निर्माण भएपछि गलेश्वर सवैको आकर्षणको केन्द्र बन्दै गएको उहाँको भनाइ छ । गलेश्वरमा विश्वमा कतै पनि नभेटिएको स्वयं प्रकट शिवलिङ्ग, चक्रशीलाको परिधिमा टुसाएका शालिग्राम, प्रष्टरुपमा देखिने भगवान शिवका चरण चित्र, त्रिशुल, शंख, नाग, देवदेवीका मूर्ति आदि रहनुले पनि यो विश्वकै अलौकिक तीर्थस्थल भएको पुष्टि हुने पण्डित भीमनाथ पराजुलीले बताउनु भयो ।

२०५४ अघि अस्तव्यस्त रहेको यस क्षेत्रमा राधाकृष्ण शर्मा पराजुलीले आफ्नो निजी २० लाख रुपैयाँको लागतमा हालको मन्दिर निर्माण गरेपछि गलेश्वरधामको विकासको शिलान्यास सुरु भएको हो । यस क्षेत्र अन्तर्गत रहेका कपिलाश्रम, पुलस्त्य–पुलहाश्रम, जगन्नाथ, वरनाथ, टोड्के तपोवन, सिद्धाश्रम, विवप्रभाश्रम, विपिनाम, आनन्दाश्रम, ऋखाराश्रम अझै पनि प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा नै परेका छन् ।

मुक्तिनाथ प्रवेशद्धारको रुपमा रहेको गलेश्वर धामले स्वदेशी तीर्थयात्रीहरुको मात्रै होइन विदेशी पर्यटकहरुको समेत ध्यान खिच्न सफल भएको छ । यहाँ दैनिक दर्जनौं विदेशी पर्यटकहरु आउने गरेका गलेश्वर शिवालय क्षेत्रविकास कोषले जनाएको छ । विष्णु भगवानले बराह अवतार लिई पृथ्वीलाई उद्धार गरेको स्मरण गराउने जलबराह कुण्डको जल अभिषेक गर्दै दर्शन पूजन गर्नाले पाप नाश भै मनोकांक्षा पूरा हुने धार्मिक मान्यता छ ।बराहको मध्य भागमा शेषनागको मूर्ति छ । मन्दिरमा अवस्थित चक्रशिलाको विभिन्न ठाउँमा विश्वमै दुर्लभ शालिग्राम शिला रहेका छन् । धार्मिक व्यक्तित्वहरू यहाँ भगवान् विष्णु शालिग्रामको रुपमा स्वयं प्रकट भएको र ढुँगो टुसाएको दावी गर्छन् ।

यसका अतिरिक्त १०८ शिवलिङ्ग र जडभरतले तपस्या गरेको गुफा पनि गलेश्वरको अर्को आकर्षण हो । साउन महिनाको सोमबार, बालाचतुर्दशी र शिवरात्रीका दिन विशेष पूजाआजा हुने गलेश्वर एक दशक अघिसम्म सुनसान हुने गरेकामा पछिल्ला वर्ष प्रायःजसो सबै दिन भक्तजन आउने गरेका छन् । म्याग्दीको सदरमुकाम वेनी बजारदेखि तीन किलोमिटर उत्तरमा अवस्थित गलेश्वर धामको महिमा स्कन्द पुराणमा समेत उल्लेख छ । म्याग्दीको उत्तरी भेगमा अवस्थित कालीगण्डकी नदीका वारी र पारीका केही गाउँ र मुस्ताङ जिल्लालाई अन्नपूर्ण संरक्षण क्षेत्र घोषणा गरिएपछि गलेश्वर पर्यटकीय क्षेत्रको प्रवेश द्धारको रुपमा समेत परिचित छ ।

जस्तै लामो खडेरीमा पनि कहिल्यै पानी नसुक्ने र ठूलो वर्षामा पनि पानीको सतह घटवढ नहुने ढुङ्गामा मूल उम्रेर बनेको वराहा पोखरी , जडभरत गुफा , ९ रोपनी क्षेत्रफलको विशाल चट्टानमा जग विना नै निर्माण गरिएको भगवान शिवजीको भव्य मन्दिर, विष्णु मन्दिर, हवन कुण्ड , एकसय ८ शिवलिङ्ग, साँढेका विशाल मुर्तिहरु घण्टा यहाँका मुख्य आकर्षण हुन् ।यहाँ रहेको ढुङगाबाट पानीको मूल निस्कने पोखरी विदेशी पर्यटकहरुका लागि आश्चर्यको विषय बनेको छ । जस्तै खडेरीमा पनि पानी नसुक्ने र जस्तै वर्षामा पनि पानीको सतह नवढ्ने यो पोखरीको विषयमा खोज अनुसन्धान गरिनुपर्ने स्थानीय तथा त्यहाँ पुग्ने भक्तजनहरुको माग रहेको छ ।

त्यसैगरी आर्थिक दृष्टिकोणले पनि गलेश्वर ऐतिहासिक स्थल भएको इतिहासकारहरुले बताएका छन् । १९ औं वीसौ शताव्दीको सुरुवातताका गलेश्वर म्याग्दीका उत्तरी क्षेत्रहरुको साथै उत्तरमा भोट र दक्षिणमा भारतीय व्यापारीहरुको समेत सम्पर्क हुने ठाउँको रुपमा चिनिने गरेको म्याग्दीका इतिहासकार चन्द्रप्रकाश वानियाँद्धारा लिखित विभिन्न लेखहरुमा चर्चा गरिएको छ । यो क्रम वेनी जोमसोम सडक विस्तार नहोउन्जेलसम्म जारी रहेको थियो । मासिक र साप्ताहिक रुपमा मन्दिरमा संकलन हुने भेटी सार्वजनिक गर्दै आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले भेटी र चन्दा पूर्वाधार निर्माणमा उपयोग गर्दै आएको छ ।

म्याग्दीको प्रशिद्ध तीर्थस्थल गलेश्वर धामको धार्मिक, आर्थिक र पर्यटकीय महत्व वढ्दै जान थालेपछि देश र विदेशका व्यक्तिहरुका लागि समेत यो तीर्थस्थल आकर्षक गन्तव्य स्थलको रुपमा परिचित हुन थालेको हो ।गलेश्वर धामको इतिहास स्कन्द पुराणसँग, आर्थिक इतिहास उत्तरमा तिव्वत र दक्षिणमा भारतसंग जोडिएको छ। त्यसैगरी म्याग्दीको उत्तरी भेगमा अवस्थित कालीगण्डकी नदीका वारी र पारीका केही गाविस र मुस्ताङ जिल्लालाई अन्नपूर्ण संरक्षण क्षेत्र घोषणा गरिएपछि गलेश्वर पर्यटकीय क्षेत्रको प्रवेशद्धारको रुपमा समेत परिचित छ ।

पं भीमनाथ पराजुलीका अनुसार गलेश्वरमा पुलस्त्य पुलह, वशिष्ठ, गालवऋषि, राजार्षिरहुगण, कपिलमुनि, गलेश्वर बाबा, जडभरत जस्ता ऋषिले तपस्या गरेका थिए । गलेश्वरमा दर्शन र पुजन गरेमा पुण्य प्राप्ति र मनोकांक्षा पूरा हुने जनविश्वास छ ।शालिग्राम गर्भमा लिएर बग्ने कालीगण्डकी नदीको किनारमा अवस्थित गलेश्वर हिन्दु तथा वौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार समेत मानिन्छ ।

गलेश्वर दर्शनका लागि चितवनको क्षेत्रपुरबाट आउनुभएका विष्णु गौतमले धामिक महिमा, मन्दिरको व्यवस्थापन, पूर्वाधार र अनौठा दृश्यबाट आफू निकै प्रभावित भएको बताउनुभयो । एउटै चक्रशिलामाथि अवस्थित गलेश्वरको दर्शन र कालीगण्डकीको स्नान गर्न पाएकामा निकै खुसी लागेको उहाँको भनाइ छ ।

“मेरा छिमेकीले मलाई गलेश्वरको महत्वका बारेमा जानकारी दिएका थिए” गौतमले भन्नुभयो – “गलेश्वर जस्तो अलौकिक ठाउँमा अहिलेसम्म म गएकै थिएन, यहाँ त ढुङ्गामा मूल फुटेको,पत्थरमा देवता टुसाएको, पुछारमा कालीगण्डकी सुसाएको र शिरानमा कोइली कराएको सबै देखिने सुनिने रहेछ ।”

पौराणिक महत्वको गलेश्वरलाई प्रशिद्ध धार्मिक पर्यटकीय स्थलमा विकास गर्न गलेश्वर शिवालय क्षेत्रविकास कोष लागि परेको छ । कोषका अध्यक्ष रेग्मीका अनुसार यहाँका अधिकांश संरचनाहरुमा भक्तजनले चढाएको भेटीको ठूलो योगदान छ । मन्दिरमा चढेको भेटीलाई व्यवस्थित र पारदर्शी गराउन सक्ने हो भने धैरै भौतिक पूर्वाधारहरु निर्माण गर्न पनि सकिदो रहेछ भन्ने कुराको उदाहरण पनि गलेश्वर बनेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?