पाल्पामा सहकारी अभियन्ता पाण्डे माथि आक्रमण

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 3 mins

पाल्पा । सहकारीका अभियन्ता भुपति पाण्डे माथि आक्रमण भएको छ । मंगलबार पाल्पाको रामपुरमा सहकारी अभियानका विषयमा छलफल भैरहेका बेला पाण्डे माथि सांघातिक आक्रमण भएको हो ।

रामपुरका सोमबहादुर सेन र रुद्र नारायण श्रेष्ठलगायतका व्यक्तिहरुले उहाँ माथि सुनियोजित रुपमा आक्रमण गरेको बताइएको छ । आक्रमणबाट पाण्डे गम्भीर घाइते हुनुभएको छ । उहाँको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भईरहेको छ ।

सरकारी अभियानको “सहकारीमा सुशासन प्रबिधि र एकीकरण” भन्ने नारालाई सार्थक बनाउन रामपुरको सुर्योदय सहकारी र ताल पोखरा कृषि सहकारीबिच एकीकरणका विषयमा छलफल भैरहदा उहाँ माथि एक्कासी आक्रमण भएको जिल्ला सहकारी संघ पाल्पाले जनाएको छ । आक्रमण गर्ने ब्यक्तिहरु अहिले फरार रहेका छन् । उनीहरुको खोजिकार्य भैरहेको प्रहरीले जनाएको छ ।

पाण्डे जिल्ला सहकारी संघ लि. पाल्पाका अध्यक्ष, वचत तथा ऋण सहकारी संघ लिका सल्लाहकारसमेत हुनुहुन्छ । पाण्डे माथि आक्रमण गर्नेलाई तत्काल पक्राउ गरी कारवाही गर्न जिल्लाका सहकारी संघहरुले माग गरेका छन् । जिल्ला सहकारी संघ र वचत तथा ऋण सहकारी सं. लि ले संयुक्त विज्ञप्ति जारी गरि पाण्डे माथि भएको सांघातिक आक्रमणको घटनाले सिंगो सहकारी अभियानको गम्भीर ध्यानाकर्षण भएको भन्दै आक्रमण गर्ने ब्यक्तिलाई तत्काल पक्राउ गरि कारवाही गर्न सम्बन्धित निकायसँग माग गरेका हुन् ।

सहकारी अभियानलाई जताततैबाट विभिन्न किसिमबाट प्रहार भई रहेको वर्तमान अवस्थामा छलफल,सहमति र सहजताका साथ हुनपर्नेमा व्यक्तिगत रुपमा सांघातिक आक्रमण हुनु निन्दनीय र गैरकानूनी कार्य रहेको विज्ञप्तिमा भनिएको छ । सहकारी अभियन्ता माथि भएको आक्रमण दुखद भएको भन्दै आक्रमण गर्ने व्यक्तिहरुलाई तत्काल पक्राउ गरि कानून बमोजिम कडा भन्दा कडा कारवाही गर्न जिल्ला वचत तथा ऋण सहकारी सं .लिका अध्यक्ष जगदिश भट्टराई र जिल्ला सहकारी संघका सचिव कृष्ण भुसालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?