प्रदेश १ को पर्यटन प्रवद्र्धन अभियानमा पाटा

Read Time = 4 mins

विराटनगर । आन्तरिक र सिमापार पर्यटन सबलीकरणको नाराका साथ प्रदेश १ लाई भविष्यको एक आकर्षक गन्तव्य बनाउने उद्देश्यसहित प्रदेश १ मा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपालले डेस्टिनेसन मार्केटिङ कन्क्लेभ २०२३ आयोजना गरेको छ । जनवरी २७ देखि ३० सम्म भएको कार्यक्रममा नेपाल, भारत, बंगलादेशदेखि अमेरिकासम्मका पर्यटन गन्तव्यका नेतृत्वदायी विज्ञ, पर्यटन उद्योगका विज्ञ, टुर अपरेटरसमेत गरेर दुई सयभन्दा बढीको सहभागिता थियो ।

कार्यक्रममा भेडेटार, बराहक्षेत्रको स्थलगत गन्तव्य अवलोकन भ्रमण तथा पर्यटकीय गतिविधिका विभिन्न कार्यक्रमका साथै जनवरी ३० मा मोरङस्थित नेपालीरिका होटलमा एकदिने कन्क्लेभ भएको थियो । सहभागीहरूले सामुदायिक पर्यटन अनुभव, अन्तरक्रियात्मक भेटवार्ताका साथै पर्यटन क्षेत्रका सरोकारवाला, उद्यमीदेखि नेतृत्वहरूबीच प्रदेश १ को पर्यटन विकासका विभिन्न आयामबारेमा छलफल भएका थिए । कन्क्लेभ उद्घाटन गर्दै प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले यस्ता कार्यक्रम प्रदेश १ लाई गन्तव्यका रूपमा विकास गर्न कोषेढुंगा साबित हुने बताउनुभयो । कार्यक्रममा आएका विषय प्रदेश सरकारले स्वामित्व लिने र आगामी बजेटमा विज्ञका सल्लाह समेटेर जाने उहाँले बताउनुभयो ।

सुन्दर हरैंचा नगरपालिकाका मेयर केदारप्रसाद गुरागाईंले आफ्नो पालिकामा अन्तर्रास्ट्रियस्तरको कार्यक्रम गरेकोमा धन्यवाद दिँदै कार्यक्रमबाट प्रदेश १ को आन्तरिक र सिमापार पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । पाटा अध्यक्ष विभूति चन्द ठकुरीले सहयोगी सबै संस्था र स्थानीय सरकारलाई सहकार्यका लागि धन्यवाद दिँदै भन्नुभयो, ‘हामी प्रदेश १ का मुख्यमन्त्री र प्रदेश सरकारसँग आभारी छौँ । पाटा नेपाल च्याप्टर पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि प्रतिबद्ध छ र हामी आफ्ना सदस्य तथा विभिन्न गन्तव्यको दिगो पर्यटन विकास र प्रवद्र्धनका लागि आवश्यक स्रोतसाधन दिन कटिबद्ध छौँ ।’

पाटाका प्रमुख कार्यकारी अधिकृत सुरेश बडालले भन्नुभयो, ‘पाटा अन्तर्राष्ट्रिय स्तरको सार्वजनिक निजी साझेदारीमा पर्यटन क्षेत्रको विकास विस्तार र प्रवद्र्धन गर्ने भावनाअनुरूप आयोजना गरिएको डेस्टिनेसन मार्केकिङ कन्क्लेभ एक सुन्दर साझा प्रयत्न हो, जसका कारण पर्यटन क्षेत्रका विज्ञदेखि उद्यमी, सरकार र निजी क्षेत्रका सरोकारवाला सबैलाई एकै ठाउँ भेला गर्ने अद्वितीय मञ्च प्रदान गरेको छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?