दशैँ आउनै लागेको छ । यसको पूर्वाभास हुन थालेको छ तर दशैँमा गाउँ जानेहरूले भोग्नुपरेको सास्तीहरूको बयान जहिले हुने गरेका छन् । अहिले त हामी दशैँको पूर्वसन्ध्यामा मात्र छौं सुरु भइसकेको छैन । अझै केही दिन सोह्रश्राद्ध बाँकी छ र त्यसपछि नवरात्रि सकिएपछि मात्र दशैँ लाग्ने हो । नवरात्रिका अन्तिममा सप्तमीदेखि दशैँको बढी रौनक हुनथाल्छ । बजारमा चहलपहल भने नवरात्रिको सुरुवातदेखि बढ्न जान्छ । उपत्यका बाहिर जानेहरूले घर जाने बेलामा उपत्यकाको बजारबाट खाने-लाउने, बालबच्चाका खेलौनालगायत विभिन्न वस्तु किनेर लाने गर्छन् र यहाँका बजारमा क्रय-विक्रय अरू समयभन्दा बढी हुने गर्दछ ।
दशैँमा राजधानी काठमाडौं उपत्यका छाड्नेहरूको संख्या यस वर्ष २० लाखभन्दा बढी हुने अनुमान गरिएको छ । राजधानीमा हाल स्थायी र अस्थायी गरी ६० लाखभन्दा बढीको संख्यामा मानिसहरू बस्ने गरेको अनुमान गरिएको छ तथापि एउटा निश्चित आधिकारिक तथ्यांक भने छैन । उपत्यकामा बस्नेहरूको संख्या कसैले ५० लाख, कसैले ६० लाख त कसैले ८० लाख भन्ने गरेका छन् । संख्या जति होस् तात्विक फरक नपार्ला तर निश्चित कुरा के हो भने काठमाडौं उपत्यका त्यत्रो ठूलो क्षेत्र होइन । यो नेपालको जम्मा क्षेत्रफलको ०.५ प्रतिशत मात्र हो । अथवा ९९.०५ प्रतिशत बाहिरको अरू ठाउँको क्षेत्रफल छ भने थोरैमात्र यहाँको क्षेत्रफल छ ।
त्यही ०.५ प्रतिशत क्षेत्रफल भएको ठाउँले जम्मा जनसंख्याको २० प्रतिशत जति मानिसलाई आश्रय दिइरहनुपरेको छ । पहिलो कारण त विकासको सन्तुलन नमिल्नु हो । देशका सबै भागमा समान रूपमा विकास भएको भए त्यहाँ विभिन्न अवसर समानुपातिक रूपमै सबैतिर प्राप्त गर्न सकिने थियो । मेची–महाकालीका मानिसहरू काठमाडौं उपत्यकामै मात्र केन्द्रित हुनुपर्ने थिएन । रोजगारीको अवसर गाउँघरमा प्राप्त हुन सकेको छैन । राजधानीमै सरकारले धेरै अवसरको सिर्जना गर्न सकेको छैन तर ज्यालामजदुरी लगायत सबैले प्राप्त गर्न सक्छन् । जहाँ घना बस्ती छ र मानिसहरूको संख्या धेरै छ त्यहाँ कामको अवसर प्राप्त हुन्छ । त्यही भएर सामान्य होटल, पसल, मजदुरी जस्ता काममा मानिस शहरी क्षेत्रमै केन्द्रित हुन पुग्छन् । यहाँ आएर अस्थायी रूपमा बसोवास गरेर पाएका काम गर्नेहरू वर्षमा एक पटक आउने दशैँ जस्तो महान् पर्वमा आफ्नो गाउँ सम्झेर जाने गर्छन् । त्यसको प्रारम्भ यस वर्ष भइसकेको छ । बाहिर जानका लागि टिकट बुकिङ खुलिसकेको छ, सरकारका तर्फबाट रोडपर्मिट खुलाउने तयारी हुँदैछ । दशैँमा यहाँका धेरै मानिस बाहिर जाने भएकाले उपत्यका त्यसबेला सुनसान हुन्छ ।
सरकराले केही कुरातर्फ भने सचेत रहनुपर्ने हुन्छ । अत्यधिक संख्यामा मानिस बाहिर जाने भएकाले साविकमा चलिरहेका यातायातका साधन पर्याप्त हुँदैनन् । वर्ष भरिका लागि एक पटक कमाउने लालच व्यवसायीमा रहने भएकाले पुराना थोत्रिएर बसेका, राम्रो कन्डिसनमा नभएका गाडीहरू त्यसबेला प्रयोगमा ल्याउने गरिन्छ । विगतमा यस्तो देखिएकै हो । लामो रुटको यात्राका लागि चालक एउटै राख्ने र दुई-तीन दिनसम्म नसुती गाडी चलाइरहने चालकहरूका कारणले दशैँका बेला धेरै दुर्घटना हुने गरेको विगत छ । यस्ता कार्यलाई सरकारले निरुत्साहित गर्नुपर्छ । यातायात व्यवसायीबाट यात्रीहरू ठगिने कार्य हुँदै आएको छ ।
यात्रीप्रतिको दुव्र्यवहार त्यत्तिकै हुने गरेको छ । ठगी र दुव्र्यवहार गर्नेलाई कडा कारबाही गर्ने र यात्रीहरूलाई सुविधा हुनेगरी सेवा सञ्चालन गर्नेतर्फ यातायात व्यवसायी र सरकार सबैको ध्यानकर्षण हुनुपर्छ । यसका साथै बाटोको खराबीले दुर्घटना हुनेतर्फ विचार गरेर कतै त्यस्तो अवस्था भएकाखण्डमा मर्मत गरी यातायात सुचारु गर्नुपर्छ । यसपटक दशैँ मलमासका कारण केही ढिलो हुन गएकाले अब मनसुन समाप्त हुँदै गएको छ । दशैँसम्ममा पूर्णरूपमा मनसुन हटिसक्ने भएकाले भलबाढी र पहिरोको समस्या नपर्ने हुनाले बाहिर जानेहरूको संख्या यसवर्ष साविकभन्दा बढी हुनु स्वाभाविक हो । सबैले आ-आफ्ना ठाउँबाट इमानदार भएर आफ्नो कर्तव्य पालना गर्ने हो भने दशैँ अवश्य सुखद् बन्नेछ, कष्टकर बन्नेछैन । यसका लागि सबै इमानदार र सचेत बनौं ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच