![‘नेपाली फिल्म हो माया गरिदिनुहोस् भनेर अब चल्दैन, हामीले पस्किने विषयवस्तु अब्बल हुनुपर्छ’](https://ehimalayatimes.com/wp-content/uploads/2024/03/Rabindrasingh-Baniya.jpg)
भर्खरै नेपाल सरकारले पोखरा नगरलाई पर्यटकीय राजधानी घोषणा गरेको छ । नेपालमा दुईवटा राजधानी भए । प्रशासनिक राजधानी काठमाडौँ अनि पर्यटकीय राजधानी पोखरा । सायद अब पर्यटकीय सत्ता पोखरा सरेको छ । पर्यटकीय राजधानीका आधारभूत प्रावधानहरू पनि बनिसके होलान् भनेर मानौँ । त्यहाँ पनि पर्यटकीय सत्ता चलाउने मन्त्रीहरू होलान् । यो अर्को रोमाञ्चक विषय हुने नै भयो । ऐन, नियम, कानुन, संविधान हुँदै राजधानीका आधारहरू तयार हुँदै जाने दिन पोखरा नगरी कस्तो हुने हो कल्पनामात्रै गरौँ । तर सबै प्रावधानभन्दा अब्बल प्रावधान पोखरा नगर वर्णनातीत सुन्दर हुनु हो ।
अवलोकन गरेर, घुमेर वा भोग गरेरमात्र अनुभूत हुने पोखरा नगरीको सौन्दर्यका विषयमा धेरैजनाले धेरै प्रकारले आफ्ना धारणाहरू राख्दै आएका छन् । पर्यटकीय राजधानीको घोषणा गर्ने आधारहरू प्रष्ट पार्दै धेरै कुराहरू पनि भनिए होलान् । राजनीतिक भाषामा सौन्दर्यको पनि सत्ता तोकियो । राजधानीमा राजा होलान् नभए राष्ट्रपति होलान् । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने त्यस सभामा अरू धेरै राम्रा कुरा र कामहरू पनि भए होलान् तर ती धेरै कामहरूभन्दा उच्च एवम् अपार हर्षको काम पोखरालाई पोखराको रूपमा चिनाउन प्रयत्न गर्ने काव्यमनीषि श्रद्धेय मुकुन्दशरण उपाध्यायलाई सम्झिने र सम्मान गर्ने काम भयो ।
कवि मुकुन्दशरण उपाध्यालाई तत्कालीन राजा महेन्द्रले कविता सुनाउन बोलाएका थिए र उनको कवित्वको प्रशंसा गरेका थिए । त्यतिमात्र होइन दरबारकै स्रोतबाट पाएको एकहजार रूपैयाँले त्यो कविता (काव्य) छापिएको थियो अनि त्यही कविताले उच्च मानिएको मदन पुरस्कार पाएको थियो ।
राजधानी नै हुनुपथ्र्यो भने प्राकृत पोखरा नै भइदिएको भए हुने भन्ने पनि मनमनै लाग्यो । हामीलाई लागेरमात्रै हुँदैन भन्ने पनि थाहा छ किन कि राजनीतिले निर्णय लिने ठाउँमा साहित्यको त्यति अर्थ रहँदैन । हामी त लेखक न हौँ । प्लेटोले उहिल्यै आदर्श गणराज्यबाट निकाल्न खोजिएका जाति । संयोगले नेपाल पनि संघीय गणराज्य हो । यहाँ पनि गणराज्य नबिग्रियोस् भनेर हरदम सचेत रहेका प्लेटोहरू हुनसक्छन् र राज्यको सुगन्ध बिग्रिने गरी कतै विचार फैलिने भयो भने यहाँ पनि पहिला लेखकहरू बहिष्कृत हुन सक्छन् । यहाँ त तिनै मानिस अटाउनुपर्छ जसले हरतरहले गणराज्यलाई मदत पु¥याउन सक्छ । चाहे ती चारित्रिक रूपले स्खलित नै किन नहोऊन् सत्ताले माया ग¥योभने तिनले पनि सत्तालाई माया गर्छन् ।
ती तस्कर हुन सक्छन्, ती दलाल हुन सक्छन् । ती राज्य घोटालामा सरिक हुन सक्छन् । ती गरिव जनता ठग्ने सहकारी ठग हुन सक्छन् । ती राजनीतिको अपव्याख्या गर्ने कथित बुद्धिजीवी हुनसक्छन् वा राजनीतिक वेश्यावृत्ति गर्नेहरू हुनसक्छन् । ती केही नभए नवनव सत्ताका प्रशंसक हुन सक्छन् ।
पोखराकै माटोमा जन्मे हुर्केका तत्वदर्शी मनीषी कवि मुकुन्दशरण उपाध्याय त्यस दिन पोखरामा सम्मानित भए । जसले आजभन्दा साठी वर्ष पहिल्यै प्राकृत पोखरा (२०२१) खण्डकाव्य (मदन पुरस्कार प्राप्त)मार्फत पोखराको महिमागान गरेका थिए । पोखरा नगरको सौन्दर्यका विषयमा अहिलेसम्म नभनिएका भनेर केही विशेषण पनि त्यस सभामा भनिए कि भन्ने डर छ ।
तर, त्यस्तो विशेषता वर्णन गर्न सम्भव नहोला किनकि त्यस्ता सुन्दर शब्द नै छैनन् होला जुन शब्द उहिल्यै हाम्रा विशिष्ट कवि उपाध्यायले वर्णनमा समावेश गर्न छुटाएका हुन् । पोखराको सौन्दर्यमा जन्मिएर त्यहीँको सौन्दर्यपान गरेर हुर्केबढेका कवि उपाध्यायले प्राकृत पोखराजस्तो अद्वितीय काव्य लेखेर जन्मभूमिको पोखराको ऋणमात्रै तिरेनन् राष्ट्रको गरिमालाई पनि एक बित्ता माथि उठाउने काम गरेका हुन् भन्नु अत्युक्ति नहोला । हाम्रा स्रष्टाले पोखराको सौन्दर्यलाई दृष्टिगत गरी पोखरा नगरीलाई प्रकृतिकी रानी र सौन्दर्यकी खानी मानेका थिए ।
कहाँ पर्यटकीय राजधानी घोषणा गरेर व्यावसायिक उद्देश्यले पर्यटक भित्र्याएर मनग्गे अर्थोपार्जन गर्ने राजनीतिक कुरा कहाँ सौन्दर्यका सपना त्यति मिल्ने कुरा होइन । सौन्दर्य बेचेर आयआर्जन गर्ने रणनीतिमा सौन्दर्यको आदर्श सपना त्यति मिल्ने कुरा नभए पनि पोखराको अक्षत सौन्दर्यका द्रष्टा उपाध्यायलाई यस अवसरमा सम्झिनुपर्छ भन्ने ज्ञान निश्चय पनि प्रशंसायोग्य कुरा हो । एउटा अनौठो घटना भएछ हिजो एकदलीय राजतन्त्रका कठोर राजा महेन्द्रले सम्मान गरेका व्यक्तिलाई संघीय गणतन्त्रले पनि अनुमोदन गरी सम्मान गरेछ । हामीले भन्दै आएका छौं स्रष्टा कुनै तन्त्रको हुँदैन । सौन्दर्य र साहित्यको कुनै पार्टी संगठन हुँदैन ।
ऊ त सधैँ राष्ट्रको हुन्छ, जनताको हुन्छ अनि सौन्दर्यको हुन्छ । सत्य र न्यायको हुन्छ । उसले सधैँ सुन्दर देख्छ र सुन्दर नै लेख्छ पनि । र, त्यो सौन्दर्य कालजयी हुन्छ । त्यसलाई कुन समयको कस्तो सत्ता भन्ने हेक्का हुँदैन । स्रष्टालाई सत्ताको हेक्का तब हुन्छ जव शासक सौन्दर्यको विरोधी भएर उभिन्छ । सत्तासँग जोडिएर लेखिने साहित्य पनि छ । त्यस्तो साहित्यलाई भाट साहित्य भनिन्छ । भाट साहित्य कुनै शासकको आयुभन्दा लामो हुँदैन तर सत् साहित्यको कुनै आयु नै हुँदैन । त्यसैले कालजयी हुन्छ ।
त्यस दिन पोखरा नगरीमा गणतन्त्रका अब्बल नायक प्रचण्ड एकातिर उभिएका थिए र अर्कोतिर त्यो सन्त लेखक उभिएको सुखद खबर आएको थियो जसले यो मुलुकमा धेरै प्रकारका साशसन व्यवस्थालाई आफ्नै आँखाले देखेको थियो । कानले सुुनेको थियो । मनले गमेको थियो र भोगेको थियो । उत्तरोत्तर सुन्दर हुँदै जानुपर्ने सत्ता कुरूप हुँदै जानुको विषाद व्यहोरेको थियो र पनि निस्पृह थियो । शान्त र स्थिर थियोर त्यो थियो एकजना कवि । जसले धेरै वर्ष पहिला पोखरा नगरीको सौन्दर्यको परख गरी आफ्ना कलम कुचीले शब्दमा सजाएको थियो । केही इतिहास हामीलाई त्यति प्रिय लाग्दैनन् तिनलाई बिर्सन मन हुन्छ ।
कवि मुकुन्दशरण उपाध्यालाई तत्कालीन राजा महेन्द्रले कविता सुनाउन बोलाएका थिए र उनको कवित्वको प्रशंसा गरेका थिए । त्यतिमात्र होइन दरबारकै स्रोतबाट पाएको एकहजार रूपैयाँले त्यो कविता (काव्य) छापिएको थियो अनि त्यही कविताले उच्च मानिएको मदन पुरस्कार पाएको थियो भन्ने इतिहास हामीलाई कताकता बिझाउने समाचार पनि होला । तर त्यो काव्य अरु कुनै नभएर प्राकृत पोखरा थियो । प्राकृत पोखरा त्यस्तो काव्य हो जसलाई जुन सत्तामा पनि सुन्दर मान्न सकिन्छ । प्राकृत पोखराका लेखक चौरासी वर्षीय साधक मुकुन्दशरण उपाध्याय गणतन्त्र नेपालमा सम्मानित हुनु अरू धेरै खबरभन्दा सुन्दर खबर हुनु नै हो । एउटा सुन्दर काव्यले समयको सत्तालाई आफ्नो पार्न सक्दोरहेछ यति त्यो कालजयी छ भनेँ ।
अस्ति पोखरामा अर्को अनौठो संयोग पनि परेको थियो । कास्की पोखरा हेम्जामा जन्मिएका कविमनीषी मुकुन्दशरण उपाध्याय काव्यनायक त्यस मञ्चमा थिए अनि अर्का कास्की पोखरा ढिकुरपोखरीमा जन्मिएका आजको सत्ताका नायक यस मुलुकका सम्माननीय प्रधानमन्त्री त्यस सभाका प्रमुख अतिथि थिए । दुवै सौन्दर्यका पारखी मिलेर पोखराको सौन्दर्यलाई थप उज्जर बनाएको हामीलाई लागेको छ । एकजना काव्यसौन्दर्य पारखी अर्का सत्तासौन्दर्यका पारखी मिलेर एउटा नयाँ इतिहास रचेको खबर मुलुकको निम्ति र पोखराको निम्ति सुखद् खबर बन्यो । यहीँनेर अर्को संयोगको पनि कुरा गरिहालौँ । प्रधानमन्त्रीजी सँगै जोडिएको उहाँकै सुपुत्री नगरप्रमुख रहनुभएको भरतपुर महानगरमा भ्रमण वर्ष २०८० घोषणा गरियो ।
भ्रमण वर्षको उद्घाटन प्रधानमन्त्रीले नै गर्नुभयो । त्यसको लगत्तै भरतपुर भ्रमण गर्न जाँदा हिलो, धुवाँधुलो, खाल्डाखुल्डी र अस्तव्यस्त भरतपुरले स्वागत गरेको सम्झना ताजै छ । अलि हतार भएछ भ्रमण वर्ष घोषण गर्न थालिएका यी संरचना पूरा भएपछि भरतपुर साँच्चै सुन्दर हुने रहेछ त्यसपछि नै घोषणा गरेको भए पनि हुनेजस्तो हामीलाई लाग्यो । कतै हाम्रो पर्यटकीय राजधानी पोखरा पनि त्यसै प्रकृतिको पूर्वाधारविनाको हतारकै उद्घाटनमात्रै नहोस् भन्ने कामना पनि गरौँ ।
मुकुन्दशरण उपाध्याय विसं १९९७ मा हेम्जा कास्कीमा पिता दशरथ उपाध्याय र माता केशरकुमारी उपाध्यायका पुत्ररत्नका रूपमा जन्मिएका हुन् । नेपाली र संस्कृत भाषका विशिष्ट विद्वान् साहित्याचार्य एवम् नेपाली एमए उपाध्यायले लामो समय त्रिविका क्याम्पसहरूमा प्राध्यापन गरेर अवकाश पाएका हुन् । दर्जनभन्दा बढी पुस्तकका रचयिता प्राकृत पोखरा २०२१ का लागि मदन पुरस्कार, निम्वार्क चरितम्का लागि अखिल भारतीय संस्कृत पुरस्कार, महाकवि देवकोटा पदक अदिबाट विभूषित उपाध्यायको परिचय कविमा मात्र सीमित छैन । उनको परिचयका अन्य धेरै आयामहरू पनि छन् । उनी संस्कृत भाषा र साहित्यका विशिष्ट विद्वान् हुन् ।
नेपालमा गुरुकुलीय शिक्षाका माध्यमले शिक्षाको आदर्श एवम् पौरस्त्य वाङ्मयलाई उच्च राख्न प्रयास गरिरहेका अभियन्ता हुन् र निम्वार्क सम्प्रदायका पनि आधिकारिक व्यक्तित्व हुन् । यो सानो आलेखमा ती धेरै कुराहरू समेट्न सम्भव नहोला । उनी नेपाली भाषामा देखापरेको विभिन्नता र त्यसमा संस्कृत निष्ठ परम्परा भत्किएकोमा खिन्न छन् र त्यसको संरक्षणका निम्ति प्रयत्नरत रहँदै आएका व्यक्ति हुन् । नेपाली भाषाको हिज्जे सुधार अभियानमा सक्रिय रहेका उपाध्याय केवल अभियन्ता मात्र नभएर मौलिक विचार राख्ने व्यक्तित्व पनि हुन् ।
आगन्तुक शब्दलाई अतिथि शब्द मानेर त्यस्ता शब्दलाई सोही भाषा अनुरूप लेख्नुपर्ने भाषाको मानमर्दन गर्न नहुने उनको तर्क छ ।
कुनै पनि भाषाका शब्द कुनै न कुनै प्रक्रियाबाट जन्मिएका हुन्छन् । त्यो भाषामा तिनको संरचना प्रक्रिया अनि तिनको अर्थ गरिमा रहेको हुन्छ तसर्थ उक्त भाषाको मौलिकतालाई फेर्ने हाम्रो अधिकार छैन । अहिले नेपाली भाषामा विकृतिको रोग लागेको छ त्यसको निदान र उपचार आवश्यक छ । तद्भव शब्दमा पनि अतिक्रमण भएको छ । विभक्तिसहितको शब्द कतै पनि दिइएको हुँदैन त्यसैले विभक्ति र नामयोगीलाई छुट्टै लेख्नुपर्छ ।
मुकुन्दशरण उपाध्याय संस्कृत भाषा र साहित्यका विशिष्ट विद्वान् हुन् । नेपालमा गुरुकुलीय शिक्षाका माध्यमले शिक्षाको आदर्श एवम् पौरस्त्य वाङ्मयलाई उच्च राख्न प्रयास गरिरहेका अभियन्ता हुन् र निम्वार्क सम्प्रदायका पनि आधिकारिक व्यक्तित्व हुन् ।
आगन्तुक शब्दहरू अतिथि शब्दमात्रै होइनन् यिनीहरू अन्तर्राष्ट्रिय शब्द हुन् । भाषा भनेको विज्ञान हो यो विज्ञानसम्मत हुनैपर्छ भन्ने मान्यता उपाध्यायको रहेको छ । नेपाली भाषाको यो गिजलोमा उपाध्यायको अभियान पनि एउटा धारजस्तै भएर आएको छ । यसमा पनि केही तार्किक विमति राख्ने ठाउँहरू छन् तापनि एकजना सचेत अभियन्ताका विचारको सम्मान गर्नैपर्छ । जे होस् सबै खाले अतिवादबाट नेपाली भाषालाई जोगाएर मानक नेपाली भाषा तयार गर्ने चुनौती अहिले पनि विद्यमान छ ।
प्राकृत पोखरा के कति जनाले पढ्नुभएको छ ? कवित्वको उच्च नमुनाका रूपमा लिन सकिने प्राकृत पोखरामा कविले जेजति कुरा देखेका रलेखेका छन् त्यसको थोरैमात्र पनि आजका हामीले देख्न सकेको लाग्दैन । प्राकृत पोखरा कवि उपाध्यायको जम्मा नौ खण्डमा विभक्त खण्डकाव्य हो । ठाउँको पावन्दीले सम्मानका निम्ति हरेक खण्डका पहिला पहिला श्लोकहरूलाई मात्र यहाँ उद्धरण गरिएको छ-
सधैँ हाँसिरहेजस्ती, सधैँ पूर्ण हराभरा,
परमेश्वरकी प्यारी, छोरी हुन् यी वसुन्धरा । (नेपाल)
नेपाल नामको टिकी, पैरिन्छिन् जो वसुन्धरा,
त्यै टिकीको पनि टिकी, हो यो सुन्दर पोखरा । (पोखरा)
जस्तो सगरमाथा छ, विश्वमै उच्च पर्वत,
त्यस्तै यो पोखराभित्र, माछापुच्छ्रे हिमाल छ । (माछापुछ«े)
जस्तो हिमाल राम्रो छ, रूपौला हिमले गरी,
तल त्यस्तै डटेका छन्, हरिया वनले गिरी । (पाखापखेरा)
बीचमा वेगले बग्दै, मोती माला झुले सरी,
झुलेकी छन् अहो शुक्ला, झल्काइ पूर्ण माधुरी । (शुक्ला गण्डकी)
अझै राम्रो अझै शान्त, अझै नै मनमोहन,
फेवा नाम लिई ख्यात, यहाँ ताल छ शोभन । (सरोवर)
अहो इशानमा राम्रो, सानो कमलपोखरी,
गमक्कै छ नि गम्केको, मोहनी दृश्यले गरी । (कमलपोखरी)
भिन्न भिन्नै गरी हेर्यौँ, यहाँको रसिलो धरा,
फर्कि हेरौँ मिसाएर, कति राम्रो छ पोखरा । (अन्त्यमा)
यी राम्री हिमबालाको, विवाहै हुन बाँकी छ,
विवाह नगरी यिन्को नखुल्ने रूपराशी छ । (पुनश्च) ।
(प्राकृत पोखरा, मुकुन्दशरण उपाध्याय)
विद्वत् मनीषी मुकुन्दशरण उपाध्याय सम्मानित हुँदा हामी सम्मानित भएको लागेको छ अनि पोखरा पर्यटकीय राजधानी हुँदा राष्ट्र सम्मानित भएको अनभुव हामी नागरिकलाई भएको छ । यी दुवै सम्मानले राष्ट्रको सम्मान जारी राख्न सकून् भन्ने कामना गरौँ । जुन कुरालाई जसरी हेर्दा राम्रो लाग्छ त्यसरी हेर्न खोज्नु नै सौन्दर्य हो । सौन्दर्यको अपमान हुने गरी सौन्दर्यको व्याख्या नगरियोस् । आज साठी वर्षपछि सरकारको दृष्टि त्यहाँसम्म पुगेको छ । अनुपम सौन्दर्य लिएर बसेको पोखरा जति सुन्दर छ त्यति नै यहाँको विशिष्टताले गर्दा यो उच्च छ । त्यसो त बेलाबेलामा पोखराको सौन्दर्य र सम्भावनाका बारेमा चर्चा नहुने गरेका होइनन् तर स्रष्टाको शाश्वत दृष्टिले सम्मान पाउन समय पर्खिनुपर्दो रहेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच