काठमाडौं । ‘२०८० देखि नेपालमा सुरुङ युग सुरु हुन्छ,’ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चार वर्षअघि भन्नुभएको थियो । २०७६ गत चैत ८ गते बुटवल-नारायणगढ सडकखण्डको शिलान्यास गर्दै ओलीले २०८० देखि नेपालमा सुरुङ युग सुरु हुने घोषणा गर्नुभएको थियो । नागढुंगामा सुरुङमार्ग शिलान्यास गर्दा पनि उहाँले नेपाल सुरुङमार्गको नयाँ युगमा प्रवेश गरेको बताउनुभएको थियो । नभन्दै ८० साल सकिनै लाग्दा नागढुंगा-सिस्नेखोला सुरुङ ‘ब्रेक थ्रु’ को तयारी छ । नागढुंगा-सिस्नेखोला सुरुङमा अब ६ मिटर मात्र खन्न बाँकी छ । केही दिनभित्रै ‘ब्रेक थ्रु’ गर्नेगरी काम भइरहेको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ । ‘ब्रेक थ्रु’ को समय नजिकिँदै जाँदा स्थानीयले खानेपानी, सिँचाइलगायत माग राखेर एकमहिना काम ठप्प पारेका थिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा स्थानीयसँग नौ बुँदे सहमति भएपछि चैत ६ गतेबाट पुनर्निर्माणको काम सुरु भएको थियो । अहिले फेरि धमाधम काम भइरहेको छ । एउटै सुरुङले देश सुरुङ युगमा प्रवेश गर्छ त ? नागढुंगा-सिस्नेखोला मात्रै होइन अहिले देशका विभिन्न ठाउँमा सुरुङ निर्माण भइरहेका छन् । काठमाडौंको बलम्बुस्थित तोतीपाखाबाट सुरु भई धादिङको सिस्नेरी खोलासम्मको सुरुङमार्गको निर्माणको काम भइरहेको छ । सुरुङको तत्कालीन प्रधानमन्त्री ओलीले नै ०७६ कात्तिकमा शिलान्यास गर्नुभएको थियो ।
राजधानी काठमाडौं प्रवेशका लागि नागढुंगाबाहेक तीन स्थानमा सुरुङमार्ग बनाउने सरकारको योजना छ । टोखा-छहरे, थानकोट-चित्लाङ र धुलिखेल-सूर्यविनायक सुरुङ मार्गको तयारी छ । बर्सेनि समस्या भइरहने बुटवलको सिद्धबाबामा एक किलोमिटर २४० मिटर लम्बाइ हुनेगरी प्रक्रिया अघि बढाइएको छ । काठमाडौंको नयाँ बानेश्वर चोकमा अण्डरपास, तीनकुने-जडीबुटी, ललितपुरको गोदावरीदेखि काभ्रेको मानेचौर, सिन्धुलीको खुर्कोट-चियाबारीमा सुरुङ बनाउने सरकारको तयारी छ । कैलालीको खुटिया-बिपीनगर-दिपायल, मकवानपुरको कुलेखानी-भीमफेदी, बुटवल-नारायणगढको दाउन्ने खण्ड, धरान-लेउती, मझिमटार-शक्तिखोर-जोगीमारा, नुवाकोटको बेत्रावती-घट्टेखोला (रसुवा) र दोलखाको लामाबगरमा सुरुङमार्ग बनाउने सरकारको तयारी गरेको छ । सडक आयोजनामा मात्रै होइन विभिन्न ठाउँमा सिँचाइ र जलविद्युत् आयोजनाले पनि सुरुङ बनाइरहेका छन् ।
तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’
तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ (छिचोलिएको) भएको छ । ऋषिङ गाउँपालिका-१ र व्यास नगरपालिका-५ को सिमाना भएर बग्ने सेती नदीको पानीलाई प्रयोग गरी निर्माणाधीन १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ गरिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव गोपालप्रसाद सिग्देल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं तनहुँ हाइड्रोपावर लि. सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङले आइतबार संयुक्त रूपमा स्विच दबाएर विस्फोट गराएपछि मुख्य सुरुङ ‘ब्रेक थ्रु’ भएको हो । आयोजनाको प्याकेज-२ अन्तर्गत जलाशयको मुहान (इनटेक)बाट सुरु भई पेनस्टक पाइप रहने स्थानसम्म १४९३ मि. लामो सुरुङ छ । मुख्य सुरुङको व्यास ७.४ मि. रहनेछ । अब मुख्य सुरुङको कंक्रिट लाइनिङ गरिनेछ । मुख्य सुरुङबाट गएको पानीलाई २१३ मि. लामो पेनस्टक पाइपमार्फत भूमिगत विद्युत्गृहमा खसाली विद्युत् उत्पादन गरिनेछ ।
मुख्य संरचनाहरूलाई तीन प्याकेजमा विभाजन गरी निर्माणाधीन आयोजनाको समग्र भौतिक प्रगति ५४ प्रतिशत रहेको छ । समग्र निर्माण २०८३ असारभित्र (सन् २०२६ मे) सक्ने लक्ष्य राखिएको छ । प्याकेज-१ अन्तर्गत मुख्य बाँध निर्माणका लागि जग खन्ने र बाँध निर्माण अवधिसम्मका लागि नदी फर्काउनका लागि करिब ४० मिटर अग्लो अस्थायी कंक्रिट बाँध निर्माण कार्य धमाधम भइरहेको छ ।
सुनकोशी मरिनमा विश्व रेकर्डको दाबी, एक महिनाभित्र ‘ब्रेक थु्र’ गरिने
राष्ट्रिय गौरव आयोजनाको सुनकोशी मरिन डाइभर्सनको मुख्य सुरुङ एक महिनाभित्र ‘ब्रेक थ्रु’ हुने भएको छ । कुल १३ दशमलव तीन किलोमिटर लामो सुरुङको अब साढे सात सय मिटर मात्र खन्न बाँकी रहेको आयोजनाका प्रमुख मित्र बरालले बताउनुभयो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, सिँचाइ सचिव सुशीलचन्द्र तिवारी, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक चन्द्रबहादुर ओली लगायतको टोलीले केही दिनअघि सिन्धुलीको कमलामाई नगरपालिका कुसुम टारमा रहेको आयोजनास्थलमा निरीक्षण गर्नुभएको थियो । निरीक्षण अवलोकनपछि ऊर्जा मन्त्री बस्नेतले तोकिएको समयभित्र काम सम्पन्न गर्न आयोजनाका लागि स्रोत साधनको अभाव हुन नदिने बताउनुभयो । ऊर्जामन्त्री बस्नेतसहितको उच्चस्तरीय टोलीले शुक्रबार आयोजनाको बाँधस्थल निरीक्षण गरेको थियो । यसअघि ऊर्जामन्त्री बस्नेतले आयोजना प्रमुखलगायत अधिकारीलाई आयोजनास्थल नछाड्न र हरेक १५ दिनमा आयोजनाको प्रगति अवस्थाबारे मन्त्रालयलाई जानकारी दिन निर्देशन दिनुभएको थियो । तराई मधेशमा वर्षैभरि सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ सुरु गरिएको उक्त आयोजनालाई सरकारले प्राथमिकताका साथ अघि बढाइरहेको छ । सुरुङ खन्ने काममा कुनै भौगोलिक जटिलता नआएको खण्डमा एक महिनाभित्र ‘ब्रेक थ्रु’ भइसक्ने आयोजना प्रमुख बरालले जानकारी दिनुभयो ।
आयोजनाको सुरुङ निर्माण चिनियाँ कम्पनी चाइना ओभरसिज इञ्जिनियरिङले गरिरहेको छ । बाँध निर्माणका लागि नेपालको रमण समूहसँग भारतीय कम्पनी पटेल इञ्जिनियरिङको संयुक्त उपक्रमले जिम्मा पाएको छ । विसं २०८४ को असोजमा सो आयोजना पूर्णरूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । कम्पनीले राष्ट्रिय गौरवको सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणमा विश्वरेकर्ड राखेको दाबी गरेको छ । टनेल बोरिङ मेसिन (टिबिएम) प्रविधिमार्फत एक महिनामा १५०३.३ मिटर सिँचाइ सुरुङ खनेर विश्व रेकर्ड राखेको कम्पनीको दाबी छ । यसअघि पनि कम्पनीले सोही आयोजनामा २०२३ मार्चमा १२२४.१३ मिटर सिँचाइ सुरुङ बनाएर नयाँ रेकर्ड राखेको थियो । अहिले त्यो रेकर्ड तोडिएको हो । नेपालका लागि चिनियाँ राजदूत चेन सङले नयाँ विश्व रेकर्ड राखेको भन्दै निर्माण कम्पनीलाई बधाई दिनुभएको थियो ।
नागढुंगा-सिस्नेखोला सुरुङ ‘ब्रेक थ्रु’ को तयारी
नागढुंगा-सिस्नेखोला सुरुङ केही दिनभित्रै ‘ब्रेक थ्रु’ को तयारी छ । सुरुङ अब ६ मिटर मात्र खन्न बाँकी छ । केही दिनभित्रै ‘ब्रेक थ्रु’ गर्नेगरी काम भइरहेको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ । सुरुङ खन्ने काम धमाधम भइरहेको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख नवीनमान श्रेष्ठले बताउनुभयो । यही दिन ‘ब्रेक थ्रु’ गर्ने भन्ने समय तय नभए पनि अब धेरै समय नलाग्ने उहाँले बताउनुभयो । यसअघि १४ मिटर सुरुङ खन्न बाँकी छँदा स्थानीयले काम रोकेका थिए । गत फागुन २३ मा ‘ब्रेक थ्रु’ गर्ने समय निर्धारण गरिएको थियो । तर, त्योभन्दा पहिल्यै स्थानीयले नयाँ/पुराना माग राखेर काम ठप्प पार्दा तोकिएको समयमा सुरुङको ‘ब्रेक थ्रु’ हुन नसकेको आयोजनाले जनाएको छ । सुरुङमार्ग निर्माणको काम जापानी कम्पनी हाज्मा एण्डो कर्पोरेसनले गरिरहेको छ । २२ अर्ब रुपैयाँमा ठेक्का लागेको यो आयोजनामा जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग छ । यसमा नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी छ । सुरुङ बनेपछि मुख्य सडक साढे ७ किमी छोटिनेछ । नागढुंगा उकालोमा हुने ट्राफिक जाम कम हुनेछ । यसको निर्माण सुरु भएको ५१ महिना बितिसकेको छ । सुरुङको ‘ब्रेक थ्रु’ भएपछि फिनिसिङको काम सकेर यातायात सञ्चालनमा आउन थप एक वर्ष लाग्ने आयोजनाले जनाएको छ । ०७६ कात्तिकमा निर्माण थालिएको सुरुङको काम सम्झौताअनुसार ४२ महिनाभित्र सकिनुपर्ने थियो । तर, तोकिएको समयमा कोभिड, बेलाबेला हुने अवरोधका कारण काम सम्पन्न हुन नसकेको आयोजनाले जनाएको छ ।
सिद्धबाबा सुरुङमार्गको काम तीव्र
सिद्धबाबा राजमार्गअन्तर्गत सिद्धबाबा सडक खण्डमा निर्माण भइरहेको सुरुङमार्गको काम तीव्र गतिमा भइरहेको छ । एक हजार १२६ मिटर लम्बाइको सुरुङमार्ग निर्माणको ठेक्का ‘चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसन’ले लिएको छ । हालसम्म १० प्रतिशत निर्माणको काम पूरा भइसकेको सिद्धबाबा सुरुङमार्ग परियोजनाले जनाएको छ । परियोजनाको कुल लागत सात अर्ब ३४ करोड २१ लाख रुपैयाँ छ । पाँच वर्षभित्र निर्माणको सबै काम पूरा गर्नेगरी २०७८ साल फागुनमा परियोजनाको सम्झौता भएको थियो । सुरुङमार्ग निर्माणका लागि स्विस सरकारले सहयोग गरेको छ । सुरुङमार्ग क्षेत्रबाहेक माथिल्लो र तल्लो सिद्धबाबा क्षेत्रको बुटवलतर्फ ९०४ र पाल्पातर्फ एक हजार ४९४ मिटर सडकको समेत स्तरोन्नति गर्ने योजना छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच