सदस्यता टुङ्गो लगाएर मात्र अधिवेशन गर्न युनियनको माग

हिमालय टाइम्स
Read Time = 3 mins

-मन्जिता मैनाली

हेटौंडा । नेपाल पत्रकार महासंघको सदस्यताको टुङ्गो लगाएर मात्र जिल्ला, प्रदेश र केन्द्रको अधिवेशन गर्न नेपाल प्रेस युनियन मकवानपुरले आग्रह गरेको छ । केन्द्रीय कार्यक्रमअन्तर्गत युनियन मकवानपुर कार्यसमितिले महासंघ मकवानपुरलाई मंगलबार ध्यानाकर्षणपत्र बुझाउँदै केन्द्रबाट सदस्यता टुङ्गो लागेपछि मात्र अधिवेशन गर्न आग्रह गरेको हो ।

महासंघ मकवानपुरले सदस्यता शुदीकरण तथा नयाँ सदस्यता थप गर्ने सन्दर्भमा सञ्चारकर्ममा क्रियाशील सञ्चारकर्मीहरुलाई नै सदस्यताबाट बञ्चित हुनेगरी सिफारिस गरी पठाएको भन्दै आफूहरुको आपत्ति रहँदै आएको पनि बताएको छ ।नेपाली श्रमजीवी पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघले सुरु गरेको सदस्यता शुद्धीकरण अभियानमा युनियन मकवानपुरको पूर्ण साथ रहेको पनि जनाइएको छ ।

पत्रकार महासंघले सदस्यता टुंगो नलगाईकन जिल्ला, प्रदेश र केन्द्रीय अधिवेशन घोषणा गरेकोमा युनियन केन्द्रीय समितिको हालै सुनसरीमा सम्पन्न बैठकले असहमति जनाउँदै सदस्यता र मतदाता नामावलीको टुंगो लगाएर मात्र महासंघका जिल्ला, प्रदेश र केन्द्रको अधिवेशन गर्न आग्रह गर्ने निर्णय गरेको छ ।

महासंघ मकवानपुरले पनि यही चैत २५ गते अधिवेशन तोकिएकोमा सदस्यता र मतदाता नामावलीको टुंगो लागेपछि मात्र अधिवेशन गर्न युनियनले ध्यानाकर्षण गराएको हो । युनियन मकवानपुरका अध्यक्ष सुवास विडारीले महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतमलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् । ध्यानाकर्षणपत्र बुझ्दै महासंघ मकवानपुरका अध्यक्ष गौतमले ध्यानाकर्षणबारे केन्द्रीय समितिमा जानकारी गराउने र महासंघ केन्द्रीय समितिकोे निर्णयअनुसार आफूहरु अघि बढ्ने प्रतिवद्धता जनाए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?